शैक्षिक उन्नयनका लागि ३ लाखको अक्षयकोष



स्याङ्जा। 

जिल्लाको भीरकोट नगरपालिका वडा नम्बर ४ स्थित श्री दभुङठाँटी माध्यमिक विद्यालय दभुङठाँटीमा आफ्नो  दिवङ्गत पिता माताको स्मृतिमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । भरतपुर क्यान्सर हस्पिटलबाट अवकाश प्राप्त यस विद्यालयका पूर्व विद्यार्थी नूतन ढुंगाना गौतमले आफ्नै जन्मभूमिमा केही गरौँ भन्ने अभिप्रायले कोषको स्थापना गरेको बताइन् ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी  काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटार निवासी ढुंगानाले स्वर्गीय पिता एकनारायण ढुंगाना र माता टिकादेवी ढुंगानाको सम्झनामा आफूले पढेको विद्यालयमा ʻएकनारायण टिकादेवी स्मृति अक्षयकोषʼ स्थापना गरेकी हुन् । हाल समाजसेवामा सक्रिय रहेकी ढुंगाना विभिन्न व्यवसायमा पनि संलग्न छन् ।

विद्यालयको ६९औं वार्षिकोत्सवको अवसरमा ढुंगानाले ३ लाख रुपैंयाको चेक व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक्रम खाँण र विद्यालयका प्रधानाध्यापक सुवास गहतराजलाई हस्तान्तरण गरिन् । अक्षयकोष स्थापना गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका छन्  । यो कोषबाट विद्यार्थीहरुलाई केही हदसम्म राहत हुने विश्वास दाताको रहेको छ ।

हरेक वर्ष गरिब तथा अति विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता ढुंगानाको भनाई छ । कोष स्थापनाको घोषणा गर्दै उनले भनेकी छन् , “सम्पूर्ण मानव जगतको कल्याण गर्नु नै सबैभन्दा ठुलो धर्म हो भन्ने मेरा पिताजीको अनुसरणबाट प्रेरित भएर हामीले पनि स्व. बुवा आमाको स्मृति कोषको स्थापना गरी केही बिद्यार्थीहरुलाई अनवरत रुपमा शिक्षाको ज्योतीद्वारा सहयोग पु¥याउन सकियोस् भन्ने उद्धेश्यले यो कोषको स्थापना गरेका हौँ ।”

आर्थिक अभावमा बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको भन्दै कोषदाताका भाई धर्मराज ढुंगानाले कोषलाई सहीरुपमा प्रयोग गर्न विद्यालय परिवारलाई आग्रह गरे।

 विद्यालयको वार्षिकोत्सव तथा अक्षयकोष स्थापनार्थ रकम हस्तान्तरण कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका  ढुंगानाले विपन्न तथा गरिब विद्यार्थीको पढाइमा अक्षयकोषबाट भरथेग सहयोग हुने विश्वास व्यक्त गरे।

ʻएकनारायण टिकादेवी स्मृति कोषʼ को रुपमा सञ्चालन हुने अक्षयकोषबाट हरेक वर्ष विद्यार्थीहरुलाई निश्चित मापदण्ड बनाएर पुरस्कृत गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक गहतराजले बताए । रकम बुझ्दै समितिका अध्यक्ष खाँणले कोषको व्यवस्थापनको लागि अक्षयकोष स्थापनाकर्ताहरुको सहभागितामा विधान बनाएर मापदण्ड निर्धारण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्