पृथ्विया मिसेस वर्ल्डमा भिड्न अमेरिकामा



काठमाडौं ।

राजधानीमा केही समयअघि सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिताकी विजेता मिसेस वर्ल्ड नेपाल २०२३ पृथ्विया थापा विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न अमेरिका पुगेकी छन्।

पृथ्विया आइतबार शुरु भई आगामी शुक्रबारसम्म अमेरिकाको लसभेगासमा हुने मिसेस वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्न शनिबार राति अमेरिकातर्फत लागेकी हुन्।

उनलाई मिसेस वर्ल्ड नेपालको आयोजक संस्थाको समूहले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेको थियो। यसअघि, मिसेस वर्ल्ड नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले शुक्रबार राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटलमा पत्रकार सम्मेलन गरी पृथ्वियालाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको थियो।

पृथ्वियाले यस वर्षको मिसेस वर्ल्ड २०२४ का लागि आफूले भरपुर तयारी गरेको बताइन्। ‘मिसेस वर्ल्ड २०२४ मा नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले पत्रकारहरूसँग कुराकानी गर्दै भनिन्, ‘नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्नेछु।’

पृथ्वीयाले विश्वका ५७ देशका विवाहित सुन्दरीको सहभागिता रहने प्रतियोगिताको नेसनल कष्ट्युम राउन्डमा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना प्रदर्शन गर्ने जानकारी गराइन्।

उनले नेपाली हस्तकला सामग्री, काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्ने पनि बताइन्। पृथ्वियाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन्।

मिसेस वर्ल्ड नेपालका नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले उपलब्धि लिएर पृथ्विया नेपाल फर्कनेमा आफू ढुक्क रहेको बताए।

आयोजनक रिबन इन्टरटेनमेन्टका सीईओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत् पृथ्वियालाई सहयोग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्