म्याग्दीमा कला, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्न माघे सङ्क्रान्ति मेला सुरु (तस्बिरसहित)



म्याग्दी।

 कला, संस्कृति र भेषभूषाको प्रदर्शनी, प्रचारप्रसार तथा संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आज (आइतबार)देखि म्याग्दीको सदरमुकाम बेनीमा दशौं संस्करणको माघे सङ्क्रान्ति मेला सुरु भएको छ ।

 ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समिति म्याग्दीद्वारा माघे सङ्क्रान्ति मेला एवं विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । मेलामा जिल्लास्थित विभिन्न जातजातिहरुको झाँकी र भेषभूषा प्रदर्शन गरिएको छ ।

 

माघे सङ्क्रान्ति पर्वको अवसर पारेर आयोजित मेलामा विभिन्न स्थानीय उत्पादनहरुको स्टलहरु समेत राखिएको छ । परम्परागत रुपमा म्याग्दीको बेनीमा लगाइने माघी मेलालाई निरन्तरता दिनका लागि यसवर्ष पनि माघे सङ्क्रान्ति मेला आयोजना गरिएको महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले बताइन्  । मेला आउँदो माघ २ गते मङ्गलवारसम्म चल्नेछ ।

यसैगरी म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजना र कृषि ज्ञान केन्द्र म्याग्दीको व्यवस्थापनमा कृषि प्रदर्शनी मेला राखिएको छ । उक्त मेलामा म्याग्दीका स्थानीय तथा अर्ग्यानिक उत्पादनहरु लेकाली मुला, फर्सी, सुन्तला, आलु, कालो र सेतो ऊखु, तोरी, सिताके च्याउ, भटमास, सिलाम, सिल्ट्युमर, च्याउ, भाङ्गो, मकै, निगालोको टुसा र चरेलाको सुकुटी, ढकायो, लट्टे, सिस्नोको धुलो, कुबिन्डोलगायत कृषि उपज एवं विभिन्न प्रकारका फलफुलका प्रजातिहरु प्रदर्शन गरिएको छ ।

कृषि प्रदर्शनी मेलामा ४८ जना कृषकहरुले सहभागिता जनाएका छन् । जिल्लामा उत्पादन हुने रैथाने बालीको संरक्षण, कृषि उपज तथा फलफूलको प्रदर्शनी र स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । मेलामा उत्कृष्ट हुने कृषकलाई प्रोत्साहनस्वरुप सम्मान गरिने भएको छ । माघे सङ्क्रान्ति मेलाको प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले एक समारोहबीच उद्घाटन गरे ।

माघे सङ्क्रान्ति मेलाको अवसरमा महिला उद्यम विकास समितिले विभिन्न विधातर्फ चार जनालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सिलाइकटाई उद्यमी कमला गिरी, कृषि उद्यमी पवित्रा कार्की, राजनीतिकर्मी थममाया थापा र कलाकारतर्फ लोकगायिका धनकुमारी थापा रहेका छन् । मेलामा एकल नृत्य, लोकदोहोरीगीत प्रतियोगिता, कलाकारहरुको प्रस्तुतीलगायत कार्यक्रमहरु रहेका छन्।

म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघे सङ्क्रान्ति मेला हुँदै आएको छ । जिल्लास्तरमा हुने मेला, महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनहरुको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्