राजेशमानका विरुद्धमा दिनहुँ प्रदर्शन 

0
Shares

वीरगन्ज। 

 वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको छोरी भनी नागरिकताका लागि सिफारिस दिएको भन्दै सचेत नागरिक समाज वीरगन्जले, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ को कार्यालय परिसरमा आइतबार नाराबाजी गर्दै प्रदर्शन गरेको छ । नक्कली बाबु बनेको वडाका प्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि जानाजान सिफारिस दिएको भन्दै  उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

 मेयर राजेशमान सिंहले आफ्नी हुँदै नभएकी छोरीलाई छोरी भन्दै रबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले खुलासा गरेको थियो । राजेशमानले सिफारिस लिँदाको समयमा उक्त वडाका वडा अध्यक्ष बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताको सिफारिस भने उनलाई बिदा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालिन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए ।

 वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गर्दै आएका छन् । त्यस्तै नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले आफैँ नक्कली बाबु बनेर नागरिकता दिलाएका कारण मेयरलाई कारबाही गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । पत्रमा मेयर सिंहले गरेको कार्य नागरिकता ऐन विपरितको कार्य भएकाले मेयर राजेशमान सिंहलाई अविलम्ब पक्राउ गरी  पदबाट निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्यस्तै राष्ट्रियतासँग खेलवाडगर्नेलाई कारबाही नगरे आन्दोलन गर्न बाध्य हुने र सोको जिम्मेवारी समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।