जानद्वारा लेलेमा साकुरा बगैचा स्थापना

14
Shares

काठमाडौं

नेपालका लागि जापानका राजदूत युताका किकुताले नेपाल र जापानबीच विशेष सम्बन्ध कायम रहेको र दुई देशको बीचको सम्बन्ध मजबुत बनाउन नेपाल जाइका अलमनाई एसोसियसन (जान) ले महत्वपूर्ण भूमिका खेलेको बताए। जानले आफ्नो स्वर्णजयन्तीको अवसरमा गोदावरी नगरपालिकाको लेलेमा आयोजना गरेको साकुरा (जापानी चेरी) को बिरुवा रोप्ने कार्यक्रममा राजदूत किकुताले नेपाल र जापानबीच सम्बन्ध विस्तारमा जानको योगदानको प्रशंसा गरेका हुन् ।

 सोही कार्यक्रममा जाइका नेपालका प्रमुख आकिमिचु ओकुवोले जाइका नेपालले जापानी स्वंयसेवकहरु उपलब्ध गराई नेपालको सामुदायिक विकासमा सहयोग पु–याउदै आएको र जापानी स्वंयसेवकहरुले समेत नेपाल जापान सम्बन्धलाई बलियो बनाउन र जापानका प्रविधि नेपाल भित्र्याउन ठूलो भूमिका खेलेको बताए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जापानले गोदावरी नगरपालिकामा पु–याउदै आएको सहयोगको लागि धन्यवाद दिँदै भविष्यमा समेत यस किसिमको सहयोगलाई निरन्तरता दिन जापानी राजदूतावास, जाइका नेपाल र जानलाई अनुरोध गरे  । गोदावरी नगरपालिका, वडा नं. ५ का वडा अध्यक्ष मिलन सिलवालले जानले लामो समयदेखि लेलेमा पु–याएको सहयोग उल्लेखनीय रहेको बताउँदै स्थानीय तहमा जानले पु–याएको सहयोगप्रति आभार व्यक्त गर्दै यहाँ रोपिएका साकुरा विरुवाको पूर्ण रुपमा संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे।

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जानले गोदावरी नगरपालिकाको लेले क्षेत्रमा सामुदायिक विकासका कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रममार्फत समुदायका व्यक्तिहरुको आय आर्जन र क्षमतामा अभिवृद्धि गरी जीवनस्तर उकास्ने कार्य गर्दै आएको र यसको लागि स्थानीय सरकारको पूर्ण सहयोग प्राप्त भएको बताए । साथै उनले गोदावरी नगरपालिका वडा नं. ५ ले साकुरा बगैचा स्थापनाको लागि जग्गा उपलब्ध गराई आवश्यक पूर्वाधार निर्माणमा समेत सहयोग पु–याएकोले धन्यवाद व्यक्त गरे  । उनले यहाँ स्थापित साकुरा बगैँचाले नेपाल जापान सम्बन्ध मजबुत बनाउन थप सहयोग पु–याउने अपेक्षा गरे ।

जानले आफ्नो स्वर्णजयन्तिको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । त्यसै क्रममा लेलेमा ४० वटा साकुराका विरुवा रोपी साकुरा बगैंचाको स्थापना गरिएको छ । केही महिना अगाडी राष्ट्रपति भवन शीतल निवासमा सम्माननीय राष्ट्रपति समेतको सहभागितामा ३२ बोट साकुराका विरुवा रोपिएको थियो ।
त्यसैगरी जानले आगामी २०८० साल फागुन १३ गते एक अन्तर्राष्ट्रिय सेमिनारको समेत आयोजना गर्न लागेको छ । जानले नेपाल जापानको सम्बन्ध मजबुत बनाउन उल्लेखनीय योगदान गरेकोले जापान सरकारको परराष्ट्र मन्त्रालयले फरेन मिनिष्टर्स कमेन्डेसन अवार्ड समेत प्रदान गरेको थियो ।

जान जापानमा अध्ययन गरी फर्किएका नेपाल सरकारका वहालवाला तथा सेवा निवृत्त सरकारी अधिकारीहरु, विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिकहरु, प्राज्ञहरु, स्वतन्त्र प्राविधिज्ञ तथा व्यवसायिहरुको सामाजिक संस्था हो । यस संस्थाले नेपाल सरकार तथा जापान सरकार बीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनका साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सिपलाई मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ सन १९७३ देखि क्रियाशील रही  आएको छ  ।