पर्यटकीय गतिविधिमा आन्तरिक पर्यटन

0
Shares

काठमाडौं ।

कोरोना महामारी मत्थर भएपछि नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। आन्तरिक रूपमा नेपालको विभिन्न पर्यटकीय स्थलमा भ्रमण गर्न निक्लने स्वदेशी पर्यटकको संख्या पनि कोरोना महामारीको समयमा भन्दा धेरै नै बढिरहेको छ।

तथापि, चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या भन्दा आन्तरिक पर्यटकको संख्या अत्यधिक रहनुमा चितवन भगौलिक हिसाबले नेपालको केन्द्र (लगभग मध्य भाग) मा रहनु पनि मुख्य कारण हुन सक्ने देखिन्छ।

अर्को भनेको विगतका केही वर्षदेखि नेपालीहरू पनि राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर फिल्म हेर्ने, नातागोता र आफन्तलाई बोलाएर भोज–भतेर गर्ने, जुवा–तास खेल्ने, जाँड–रक्सी खाएर पैसा सक्नेभन्दा पनि देश–देशावरको भ्रमणमा निक्लने क्रम बढ्दै गएको छ।

राष्ट्रिय चाडबाड र बिदामा घरमै बसेर भ्रमण गर्ने संस्कृतिको विकास युवा पुस्तामा अनिवार्यजस्तै हुँदै गइरहेको छ । जसले गर्दा नेपालको आन्तरिक पयर्टन प्रवद्र्धन गर्नमा ठूलो टेवा पुगेको छ।

पर्यटकले आफ्नो देशको जातीय, भाषिक, सांस्कृतिक र भगौलिक विविधता तथा जातजातिपिच्छेको वेषभूषा, संस्कार, संस्कृति, बोलीचाली, परम्परागत कानुन, मूल्यान्यता, रहनसहन आदि प्रत्यक्ष हेर्ने, देख्ने, अनुभव गर्ने सुनौलो अवसर पाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। पर्यटन क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको योगदान महत्वपूर्ण छ। आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा तीन लाख स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण गरिसकेका छन्।

आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा दुई लाख ८८ हजार ३५९ जना पर्यटकले भ्रमण गरेका छन्। यसरी आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकमध्ये एक लाख ९८ हजार ८२६ जना आन्तरिक अर्थात् नेपाली पर्यटक रहेका छन् भने ३५ हजार ८३६ जना सार्क मुलुकका पर्यटक रहेका छन्।

त्यस्तै, गरेर अन्य मुलुकका २९ हजार ५ सय ७६ जना पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जले मात्रै आर्थिक वर्ष २०७९/०८० को साउन महिनादेखि जेठ महिनासम्ममा २ लाख ८८ हजार ३ सय ५९ जना पर्यटकले प्रवेश गरेवापत १७ करोड ३० लाख ३ हजार ९ सय रुपियाँ संकलन गरेको छ।

नेपालीले आफ्नो देशका विभिन्न क्षेत्रमा भ्रमण गर्न जाँदाभन्दा अन्य देशमा घुम्न जाँदा धेरै रकम खर्च गर्ने गरेको तथ्यांक रहेको छ। त्यस्तै नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा रहेका होटल, लज, होमस्टे, गेस्ट हाउस सञ्चालन गर्ने स्थानीयका अनुसार नेपालमा आन्तरिक पर्यटकले विदेशी पर्यटक (खास गरी पदयात्रा गर्न जाने विदेशी पर्यटक)ले भन्दा धेरै खर्च गर्ने गरेका छन् ।

नेपाली र विदेशी पर्यटकले नेपालको भ्रमण गर्न जाँदा गर्ने खर्चको फाँटवारी त्यस्तो रहे तापनि केही पर्यटकीय क्षेत्रका स्थानीय होटल, लज, कटेज, होमस्टे, गेस्ट हाउस आदि सञ्चालकले चाहिँ अझसम्म पनि आप्mनो गाउँठाउँ घुम्न आउने नेपाली आन्तरिक पर्यटकलाई पर्यटक नै नमान्ने मानसिकता हटाइसकेका छैनन् ।

सुन्दा र पढ्दा निश्चय नै साह्रै नमिठो लाग्न सके पनि आजभन्दा केही दशक अघिसम्म सोलुखुम्बुको लुक्ला, फाक्दिङ, जोरसल्लेभन्दा माथि नेपाली आन्तरिक पर्यटकले मात्रै नभएर केही विदेशी (इजरायली) पर्यटकले समेत बास पाउन मुस्किल पथ्र्यो ।

त्यस बेला लुक्ला, फाक्दिङ, मोन्जु, जोरसल्ले कटेर गएपछि आफ्नो होटल, लज, गेस्ट हाउसमा वास बस्न आउने–वास माग्ने पर्यटकलाई पहिले नै उसको राष्ट्रियता सोध्ने गरिन्थ्यो। यो कुरोलाई कसैले ठाडै अस्वीकार गरे पनि वास्तविकता हो।

नेपालको पूर्वी क्षेत्रको कञ्चनजंघा हिमाल क्षेत्र, मकालु बरुण क्षेत्र, मेरा पिक, टाशीलाप्चा, अरुणभ्याली, सोलु क्षेत्रका दूध कुण्ड, पिके, रत्नाङ्गे, जुनवेशी, गोली गुम्बा र खुम्बु क्षेत्रका सगरमाथा आधार शिविर, कालापत्थर, गोक्यो री, रिन्जोला पास, खोङमाला पास, आईल्यान्ड पिक, आदिदेखि पश्चिमको मनाङ, थोरोङ पास, अप्पर मुस्ताङ, मनास्लु, कालीगण्डकी ट्रेक, अप्पर डोल्पा, कागमारा पास, मुगु, जुम्ला, हुम्लाजस्ता क्षेत्रमा राष्ट्रियता सोध्ने गरिएको थियो ।

हुन पनि हो, हामीमध्ये जो कोहीे आन्तरिक पर्यटक वा विदेशी पर्यटक भएर घुम्न निक्लँदा फगतमा पैसा खर्च हुने मात्रै नभएर जहाँजहाँ जान्छौं, जुनजुन देशमा जान्छौं त्यो ठाउँ वा त्यो देशको भ्रमणका क्रममा विभिन्न जातजाति, भाषाभाषी, त्यहाँको भूगोल, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व, वेषभुषा, चालचलन आदि हेर्न र देख्न पाउँछौं ।

त्यस्तै गरेर आन्तरिक रूपमा आफ्नै देशको विभिन्न क्षेत्रको भ्रमणमा जाँदा पनि जुनजुन क्षेत्रमा हामी जान्छौं, ती क्षेत्रमा बसोवास गर्ने जातजातिको भाषा, वेषभूषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि हेर्न, देख्न र महसुस गर्न पाउँछौं। जुन विषय हामीले पैसामा जोख्न सक्दैनौँ।

जुनसुकै जातजातिको किन नहोस्, भाषा, वेषभूषा, कला, संस्कार, संस्कृति, रहनसहन, चाडपर्व आदि भनेको पैसाले किन्ने निश्चित मूल्यको चिजबिज अथवा भनौं निश्चित मूल्य तोकिएको वस्तु होइन ।

हामीले निकुञ्ज पर्यटनका साथै शिकार पर्यटन, चराचुरुङ्गी अवलोकन, पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाईकिङ, मेडिटेसन, हेल्थ टुरिजम, साहसिक पर्यटन, जंगल सफारी, क्यानोइङ, हट एयर बालुनिङ, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन, सिटी टुर, योग र योगा, ध्यान, सामाजिक अध्ययन, नेपालमा बसोवास गर्ने विभिन्न जातजातिको धर्म, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति, भाषा अध्ययन आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन सफारी पर्यटन आदि इत्यादिको डटेर प्रवद्र्धन गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।

नेपालमा हाल सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, शेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज छन् ।

निकट भविष्यमै महाकुलुङ राष्ट्रिय निकिुञ्जसमेत घोषणा हुनेछ। यसरी हेर्दा नेपालमा एक दर्जन राष्ट्रिय निकुञ्ज छन् । तापनि वार्षिक आम्दानीको हिसाब र पर्यटकले भ्रमण गर्ने गरेको वार्षिक संख्याको हिसाबले हेर्दा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख स्रोतको रूपमा रहेका छन्।