भालुबाङ बस दुर्घटना अपडेट : मृतक १२ जनाकै सनाखत



काठमाडौँ।

दाङको भालुबाङमा बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ।

गएराति नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११ पुरुषको सनाखत भएको हो।

दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडा निवासी ३९ वर्षीय सौरव विष्ट, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दिपक कामी, भारत विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तर प्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन्।

अहिले लमही अस्पतालमा शवको पोस्टमार्टम जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ५ जनाको पोस्टमार्टम भैसकेको छ।

नमस्ते यातायात प्रालिको उक्त बसमा चालकसहित ३७ जना सवार थिए। जसमध्ये ६ महिला र १८ जना पुरुष गरी २४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार चौराहा अस्पताल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुवाङमा एक, प्रस्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार भइरहेको छ।

घाइतेमध्ये ९ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए।

प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्