गलकोटमा मनाइयो पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस



बागलुङ।

 ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देश भर भव्य रुपमा मनाइएको छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यलाई एकजुट गरेर नेपालको सिमाना पूर्वमा टिस्टा काकडा हुँदै पश्चिम किल्ला काकडा सम्म पुराएकाले उनै नेपाल राष्ट्रका निर्माता शाहको सम्झनामा राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।

गलकोट नगरपालिका वडा नं ३ हटिया बजारमा भेला भई हटिया बजारको शिवालय मन्दिरमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा पुष्प गुच्छा, माल्यार्पण तथा श्रद्धासुमन अर्पण गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले जनाएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बाजागाजा राष्ट्रिय झन्डा सहितको र्‍यालीले हटिया बजार परिक्रमा गरेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङका जिल्ला सदस्य डम्मर बहादुर केसीले धर्म संस्कृति परम्परा र राष्ट्रियताको रक्षाका लागि पृथ्वी नारायणले पुर्‍याएको योगदान सदैव स्मरणयोग्य रहेको बताएका छन्  । उनले धर्म संस्कृति भाषा र राष्ट्रियताको रक्षाका लागि सबै एक हुनुपर्ने चर्चा गर्दै राष्ट्रियताको रक्षा गर्दै पूर्वजहरूको सम्मान गर्नु असल नागरिकको कर्तव्य भएको उल्लेख गरे ।

एकताका प्रतीक शाहलाई सबैले सम्मान का साथ हेरिनु पर्ने केसीको भनाई छ । इतिहासलाई अपमानित गर्ने होइन इतिहासलाई गौरव गरेर इतिहासबाट पाठ सिकेर अगाडि बढ्न सके मात्रै मुलुक समृद्ध बन्ने उनले विश्वास व्यक्त गरे ।

वि.स १७७९ मा आजकै दिन अर्थात् पुस २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्