पृथ्वीनारायण शाहको तस्बिर नेपाली नोटमा अंकित गर्न अध्यक्ष थापाको माग



काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आफ्नो पार्टीको एकता हुँदैमा मुलुकमा राजसंस्था पुनस्र्थापना हुन नसक्ने बताएका छन् ।अध्यक्ष थापाले सबै देशभक्त, प्रजातान्त्रिक शक्तिहरु बीचको वृहत मोर्चा बनाएर मात्रै मुलुकमा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्न सकिने बताए ।

२०३ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर शुक्रवार पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजादेखि माओवादीसम्म अटाउने राजनीतिक प्रणालीको विकास गर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरे । कसैलाई पनि निषेध नगर्ने खालको राजनीतिक प्रणालीको विकास गर्न सकेमात्रै मुलुकमा शान्ति, राजनीतिक स्थायित्व र आर्थिक विकास सम्भव हुने अध्यक्ष थापाको भनाई थियो ।

अध्यक्ष थापाले पृथ्वीनारायण शाहको योगदान कुनै संस्था वा राजनीतिक व्यवस्थासँग मात्रै सम्बन्धित नभएकाले त्यस रुपमा हेर्न नहुने पनि बताए । थापाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राजकीय रुपमा मनाउन र उनको तस्बिर नेपाली नोटमा अंकित गर्न पनि सरकारसँग माग गरे ।

अध्यक्ष थापाले पृथ्वीजयन्ती नेपालको गौरव र शानसँग सम्बन्धित भएको दाबी गर्दै यसलाई राजकीय सम्मानका साथ बनाउनुपर्ने तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस्