धुलिखेलमा रेफ्रि कोर्ष सम्बन्धी प्रशिक्षण 

0
Shares

काभ्रे। 

बागमती प्रदेश फुटबल संघले प्रदेश खेलकुद विकास परिषद्को विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जिल्ला स्तरीय रेफ्रि कोर्ष अन्तर्गतको क्याटगोरी ४ फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम धुलिखेलमा सञ्चालन हुने भएको छ ।

प्रशिक्षणका बारेमा जानकारी दिँदै अध्यक्ष निरोज श्रेष्ठले प्रशिक्षणबाट रणनीतिक र सम्बन्धित प्राविधिक विषय बस्तुहरु एकिकृत गरेर प्रशिक्षण गर्न र ब्यवस्थापन गर्न रेफ्रिहरुलाई सहज हुने बताए । ‘शारीरिक तथा मानसिक अवस्था बुझ्न र खेलको ढाँचाको विकास गर्न सक्ने क्षमता वृद्धि गर्न प्रशिक्षण महत्त्वपूर्ण हुनेछ’–अध्यक्ष श्रेष्ठले भने–‘व्यवहार, जीवनशैली र बाल संरक्षण सँग सम्बन्धित समग्र विषयबस्तुहरु बनाउन सक्षम हुनेछन् भने शारीरिक र मानसिक एवं दक्ष रेफ्रीहरु उत्पादन हुनेछन् ।’

प्रशिक्षण २०८० माघ २१ देखि २७ गतेसम्म जिल्लाको सदरमुकाम धुलिखेलमा हुनेछ ।

बागमती प्रदेशका ११ वटा जिल्लाबाट रेफ्रिहरु सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा सघका उपाध्यक्षद्धय बाबुराजा श्रेष्ठ र राजिव सिं बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । प्रशिक्षार्थीहरुले दर्ता शुल्क ७ हजार ५ सय बुझाएर सहभागी हुनेछन् । प्रशिक्षणका लागि प्रदेश खेलकुद विकास परिषद्ले ५ लाख उपलब्ध गराउने छ भने अन्य सहयोग विभिन्न क्षेत्रबाट हुनेछ । १० लाख ६२ हजार ५ सय खर्च हुने उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ७ दिनको आवासीय सुविधा सहित पोशाक र खेलकुद सामाग्री समेत संघले उपलब्ध गराउने छ ।

बागमती प्रदेश फुटबल संघका महासचिव नवराज ठकुरीले उक्त प्रशिक्षण पछि रेफ्रिहरुलाई फुटबल सम्बन्धी आधारभूत सीप र प्रविधिको विकास हुनेछ । रेफ्रिहरु नैतिक र व्यवहारिक हुनेछन् भने रेफ्रिहरुलाई खेल मैदान भित्र र बाहिर कसरी प्रस्तुत हुने भन्ने तालिम समेत प्राप्त हुनेछ । सैद्धान्तिक र व्यवहारिक दुबै पाठ्यक्रम समावेश गरिएको प्रशिक्षणमा ४० जना सहभागी हुनेछन् । उक्त प्रशिक्षणमा सहभागी भई उर्तिण रेफ्रिहरु जिल्ला स्तरीय फुटबल प्रतियोगितामा भाग लिन सक्नेछन् । लाईसेन्स लिनका लागि खेलाडी, पूर्व खेलाडी तथा फुटबल खेल सँग आबद्ध भएका ब्यक्तिहरुले तोकेको मापदण्ड अनुसार सहभागी भई परीक्षा दिन पाउनेछन् । १८ वर्ष पुगेका र ३५ वर्ष ननाघेका ब्यक्तिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।