काठमाडौं ।
काठमाडौंलाई सफा, सुन्दर, हराभरा बनाउन काठमाडौंका हरेक बासिन्दाको सोच र व्यवहारमा परिवर्तन आउनुपर्छ। काठमाडौं स्वस्थ भए मात्र काठमाडौका हरेक घरका नागरिक स्वस्थ हुन्छन्।
यही विषयलाई लिएर हुतराम वैद्यले २०५४ सालमा बागमती सभ्यता बचाऔं अभियानका साथ थापाथली पुलमुनि ६६ जनाको भेला गराई इच्छापत्र तयार पारे र सबैजनाले हस्ताक्षर गरे। इच्छापत्रमा यस्तो लेखियो, “बागमतीमा ढल बगुञ्जेल हामी मरे पनि हाम्रो सतगत् यहाँ नगर्नु”।
यसले सरकार र महानगरपालिकाको ध्यान खिच्यो र शहरी विकास मन्त्रालयअन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बन्यो र यसैको नेतृत्वमा चरणबद्ध रूपमा नयाँ–नयाँ योजना बनाई बागमती सफाइ अभियान शुरु भएको थियो।
राजधानी काठमाडौंमा पहिला पहिला खोलाकै पानीमा नुहाउने लुगा, धुने र पिउने पानीका लागि समेत प्रयोग हुने गरेको थियो। बिस्तारै शहरी विकाससँगै जनसंख्या वृद्धि हुनुका साथै अव्यवस्थित बस्ती, कलकारखाना, उद्योग, व्यवसाय, अस्पताल, संंघ–संस्थाका वृद्धिले खोला नालामा सिधै ढल छोड्ने प्रवृत्ति बढ्यो।
यसपछि काठमाडौंमा पिउने पानी, सरसफाइमा संकट थपियो। यो क्रम घट्नुको सट्टा बढ्दो क्रममा रहेको छ। कुनै समय काठमाडौंलाई जलकुण्डका रूपमा चिन्थ्यिो।
काठमाडौंको पानी निकासका लागि मञ्जुश्रीले चोभारको डाँडो काटेर पानी कटाएको इतिहास जनजिब्रोमा छ। तर, अहिले यही शहरका बासिन्दा पिउने र सरसफाइ गर्ने पानीको अभावमा छटपटाउनुपरेको छ। खोला नालामा ढल बगाएकै कारण अहिल मेलम्चीको पानीमा ठूलो धनराशी खर्च गर्नुपरेको छ।
सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत बिकास समिति, फोहर मैला व्यवस्थापन तथा सामाजिक परिचालन कार्यक्रम बागमती सुधार आयोजनामार्फत् काठमाडौंभित्र बग्ने र ठूला बागमती, विष्णुमतीमा मिसिने खोलाहरूको अध्ययन अनुसन्धान सहित सुधारका कार्यक्रम अघि बढेको परियोजनाका निर्देशक चक्रवर्ती कण्ठ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो–‘बागमतीका ७ सहायक नदी बागमती, विष्णुमती धोबीखोला (रुद्रामती), मनहरा नख्खुखोला, टुकुचा (इच्छुमती), र बल्खुका साथै ५ खोलाहरू गोदावरी, हनुमन्ते, साङ्ला, महादेव र कोड्कु मिसिएका छन् । यी खोलाहरू प्रदूषित हुनुमा शहरीकरण र जनसंख्या वृद्धिको चाप नै हो।’
बागमती नदी काठमाडौंबाट १५ किमि उत्तरी भेगको शिवपुरी डाँडादेखि काठमाडौं उपत्यकाको मध्यभागबाट बग्ने नदी अव्यवस्थित शहरीकरण तथा न्यून भौतिक पूर्वाधारका कारणले नदी प्रणाली प्रदूषित हुनुका साथै सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मानवीय स्वास्थ्यका हिसाबले प्रदूषित बन्दै गएकाले स्वच्छता कायम गर्न २०५१ मा पशुपति क्षेत्र वातावरण सुधार तथा अनुगमन समिति, २०५२ मा अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समितिको स्थापना भयो।
त्यसैगरी, २०६५ मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बन्यो। यसको मुख्य उद्देश्य बागमती सफा राखी नागरिकलाई स्वस्थ राख्नु नै हो । यो समितिले विश्वको अनुशरण गरी बाँध बाँधेको छ।
धाप (ड्याम) बनाई ड्यामबाट तीज, दशै, शिवरात्रि लगायतका ९ वटा प्रमुख चाडको अवसरमा १४ दिन पशुपति क्षेत्रको बागमती खोलामा पानी छोड्ने व्यवस्था गरेको छ।
नेपाल सरकार र एसियाली विकास बैंकको ऋण र अनुदान सहयोगमा बागमती नदिको मुहान क्षेत्र धापदेखि तिलगंगामुनि सिनामंगलसम्म करिब १५ किमि नदीको लम्बाइ क्षेत्रमा बागमती आयोजना रहेको छ। धाप ड्याम भने शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको छ।
यो परियोजना सन् २०१५ अक्टुबर ९ मा सम्झौता भई सन् २०२२ अक्टुबर १५ मा निमार्ण कार्य ५१ करोड ७ लाख ५२ हजार ३ सय ४७ रुपैयाँ कर कट्टीसहित सम्पन्न भई हस्तान्तर भइसकेको इन्जिनियर निश्चल छत्कुलीले बताउनुभयो।
त्यसैगरी, परियोजनाका ८ वटा विद्यामा बाँडिएका काममध्ये अर्को गोकर्णदेखि सिनामंगल सम्म सौन्दर्यीकरण सन् २०१६ नोभेम्बर ४ मा सम्झौता भई सन् २०२३ फेब्रुअरी २८ सम्ममा २ अर्ब १५ करोड ५ लाख ५६ हजार ९ सय ८५ रुपैयाँ लागतमा तोकिए बमोजिको परियोजना निमार्ण कार्य सम्पन्न भइसकेको आयोजना उप निर्देशक उद्धव नेपालले जानकारी गराउनुभयो ।
उहाँले काठमाडौंमा साना ठूला गरी ५७ वटा नदी नाला ती मिसिने बागमतीमै हो भन्नुभयो। नेपालका अनुसार नेपाल सरकारले यो परियोजनाको म्याद २०८३ साल असार मसान्तसम्म तोकेको छ।
अहिले २० वर्षे कार्ययोजना २०२४–२०४४ २ खर्ब ७८ अरबको लागतमा तयार पारिने भएको छ। सन् २०२२ सम्म ३६ मिलियन अमेरिकी डलर बराबरको काम एसियाली विकास बैंकबाट सम्पन्न भइसकेको छ।
उहाँका अनुसार टेकुदेखि थापाथलीसम्म २८ वटा पुरातात्विक महत्वका संरचनाहरू पुनर्निर्माण, टुकुचामा ट्रिटमेन्ट प्लान्ट, नदी, तटबन्ध ७३ दशमलव २८ किमि निर्माण भएकोमा केही हस्तान्तर भइसक्यो भने केही हस्तान्तरण हुन बाँकी छ।
प्रतिक्रिया