कलामा डुबेका कालु कुमाले: देश र समाजले चिनेन, विदेशले चिन्यो



काठमाडौं ।

ललितपुरको सातदोबाटोबाट हात्तीवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिणतर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेटभित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ। त्यहाँ वरिष्ठ मूर्तिकार एवं क्रोध कलाशिरोमणि कालु कुमाल उमेरले ९१ वर्ष भए पनि मूर्तिकलामा भर्खरको जवान झैँ भेटिनुहुन्छ।

कारखानाको कम्पाउन्डबाट भित्र पस्नेबित्तिकै सुन्दर कलाले सजिएको घर, कोठा, मूर्तिले सजिएको कल्पनै गर्न नसकिने दृश्य देख्दा जोकोही लोभिन्छन्। राष्ट्र र समाजका काम गर्दै कालु कुमालेको जीवन कलामा डुबेको पाइन्छ। तर देश र समाजले चिन्न सकेको छैन।

मूर्तिकलाको माध्यमबाट चीन, बेलायत, भारतलगायत १३ वटा मुलुकमा नेपाललाई मूर्तिकलाका माध्यमबाट चिनाउने वरिष्ठ मूर्तिकारलाई अहिले पनि उमेरले काम गर्न रोकेको छैन्।

बिहान ३ बजे उठेर नित्यकर्र्म, ध्यान व्यायाम गरी, प्रत्येक दिन ८ बजेभित्र चियानास्ता सकेर घरसँगै रहेको मूर्तिकला कारखानामा पुगी आफूले गर्ने गरेका विगतका कामलाई निरन्तरता दिने, ११ बजे खाना खाई एक घण्टा आराम गरेपछि पुनः कारखानामा मूर्ति कुद्न शुरु गर्ने, ३ बजे खाजा खाने पुनः मूर्ति कुद्ने कामलाई नै निरन्तरता दिने, साँझ ५ बजे घर फर्की आराम गर्ने र खाना खाएर ८ बजेभित्र सुत्ने उहाँको दैनिकी छ।

साधारण लेखपढ गरेका कालु कुमालका ६ छोरा र २ छोरी छन्। उहाँ साधा जीवन उच्च विचारका धनी व्यक्तित्व हुनुहुन्छ । देशले चिन्न नसकेका व्यक्तित्वलाई उहाँकै सन्तानहरूले भरपुर साथ दिएर आज विश्व सामु चिनाएका छन्।

बाउबाजेको पालादेखि नै मूर्तिकलालाई पेसागत रूपमा अँगाल्दै आएको कालुको परिवारमा कालु पनि उहाँकै बुबा सानु कुमालेबाट प्रेरित भएर मूर्तिकलामा लागेको बताउनुहुन्छ।

सानु कुमालेले वर्षैपिच्छे एक महिना माटाका भाँडाकुँडा बनाई मच्छिन्द्रनाथ, मीमनाथ, आदिनाथ (चोभार) र वसुन्धरामा चढाउने गर्नुहुन्थ्यो। शिल्पीका रूपमा गुठी चलाउँदा त्यो आवश्यक हुन्थ्यो।

बुबाले गरेका ती गतिविधिलाई सानै उमेरदेखि नियाल्दै आएका कालुलाई एक दिन उहाँकै बुबाले त्यत्तिकै बस्नुभन्दा केही गरेर बस भनी माटो दिनुभएपछि हातमा खेलाउँदै जाँदा चराचुरुङ्गीको जस्तो आकार बन्यो त्यो नै मेरो मूर्तिकलाको शुरुवात हो भन्नुहुन्छ।

उहाँले शुरुमा जनावर, पक्षी, चेस गोटी, बाजागण बनाउँदै आज आएर धातुका ठूलाठूला मूर्तिहरू बनाएर देश विदेशमा व्यावसायिक रूपमा पठाउनुहुन्छ।

कालुका साहिला छोरा राकेश अवालेको साथ र सहयोगकै कारण कालु कुमालेका नेपाली कलाकृति विश्वभर व्यावसायिक रूपमा प्रख्यात भएको अवाले बताउनुहुन्छ । आज उहाँका साथमा हामी छौं केहीको अभाव छैन।

घर भरिभराउ छ, २०७३ साल वैशाख २९ गते सगरमाथा प्रतिष्ठानले क्रोध कलाशिरोमणिको उपाधि नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सम्मान गर्‍यो।

राज्यले यस्ता कलाकारको सम्मानमा खासै चासो नदिए पनि विभिन्न अन्तर्राष्ट्रिय, संघसंस्थालगायत जताततैबाट सम्मानको चाङ लागेको छ। आज बुबालाई कुनै कुराको अभाव छैन। घर भरिभराउ छ, जीवन झन् रौसिलो बनेको छ।

विगतमा कला कौशलमा अझ पोख्त बनाउन ल्हासाबाट भागेर आएका लामा एवं व्यक्तिहरूले ल्याएका टुटेफुटेका मूर्ति बनाउने काम संघरत्न शाक्यका हातमा आयो । शाक्यले नै त्यो काम कालुलाई दिनुभयो।

पछि शाक्यले मूर्तिका विभिन्न फोटोहरू दिएर बुबालाई सिकाउँदै जानुभयो र धातुका मूर्ति बनाउन लगाउनुभयो। यसरी मेरो बुबा कालु एकाएक मूर्तिकार बन्न सफल हुनुभयो अवालेले भन्नुभयो।

यति ठूलो साथ र सहयोग पाएकोमा छोराबाट कालु निकै सन्तुष्ट देखिनुहुन्छ। अहिले उहाँले १० जना मूर्तिकार आफ्नै कारखानामा जन्माइसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्