वीरगन्जका मेयरविरुद्ध सामूहिक उजुरी 



वीरगन्ज। 

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध सामूहिक उजुरी परेको छ ।  सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले उजुरी दिएका हुन् । सिंहले जन्म दर्ता लगायत सम्पूर्ण कागजपत्रहरू झुटो बनाएर २०७५ साल साउन १३ गते  रुविना श्रेष्ठलाई वंशजको नागरिकता दिलाएको समाचार सार्वजनिक भएपछि सिंह विरुद्ध उजुरी परेको हो ।

किशोरीको नागरिकतामा बाबुको नाम राजेशमान सिंह र नागरिकता नम्बर १६०३१८८१७ खुलाइएको छ । सोही नागरिकता नम्बर सिंहले २०४५ साल वैशाख ६ गते जारी भएको नागरिकतामा उल्लेख छ । किशोरीको नागरिकतामा आमाको नाम भने खुलाइएको छैन ।  ‘नागरिकता ऐन विरुद्ध आपराधिक कार्य गरेकोले उजुरी उपर अनुसन्धान गरी रुविना श्रेष्ठले लिएको  नागरिकता, राहदानी खारेज गरी दुवै विपक्षीलाई हदैसम्मको दण्ड सजाय हुने गरी कारबाही गरी पाऊँ’ प्रशासनमा बुझाइएको उजुरीमा उल्लेख छ ।

  रुविना श्रेष्ठले विवादित नागरिकताका आधारमा स्थानीय प्रशासनबाट २०७९ साउन २४ गते राहदानी निकाल्न सफल भएको देखिएको उजुरीमा उल्लेख छ ।   सिंहले नक्कली बाबु बनेर नागरिकता प्राप्त गरेकी किशोरी हाल अध्ययनको सिलसिलामा अस्ट्रेलिया रहेको बताइएको छ ।  सिंहविरुद्ध सामूहिक उजुरी दिनेमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेस प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल लगायत छन् ।

उजुरी दिन जाने क्रममा उनीहरूले मेयरविरुद्ध नाराबाजी समेत गरेका थिए । यसअघि साबुदिन महम्मद सहाबुदिनले पनि जाहेरी दिएका थिए ।  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले महानगर प्रमुख विरुद्ध सामूहिक उजुरी आएकोले २०७५ सालमा रुविना श्रेष्ठलाई के आधारमा नागरिकता जारी गरिएको थियो, सो कागजपत्र खोज्ने काम भइरहेको जानकारी दिए ।  रुविना श्रेष्ठको नाममा २०७५ साल साउन १३ गते पहिलो पटक षड् कुमार पोखरेलले नागरिकता जारी गरेका छन् भने  दोस्रो पटक प्रतिलिपि नागरिकता  २०७६ साल फागुन ८ गते विनय कुमार श्रीवास्तवले जारी गरेका छन् । श्रीवास्तव अहिले पनि जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फाँटमै कार्यरत छन् । प्रमुख जिल्ला अधिकारी भुसालले केही दिनभित्र महानगरप्रमुख सिंहलाई बोलाएर सोधीखोजी गर्ने तयारी भइरहेको जानकारी दिए । मेयर सिंहले भने आफ्नो चरित्र हत्याको प्रयास भइरहेको र आफूले राम्रो काम गर्दा गर्दै बनोबल गिराउने षडयन्त्र भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्