मेलुङको दुई वडामा आलु प्रवर्द्धन कार्यक्रम

0
Shares

दोलखा। 

वर्षमा १७ करोड भन्दा बढीको आलु निर्यात गर्ने दोलखाको मेलुङ गाउँपालिकाले दुई वटा वडामा आलु प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । पालिकामा सबैभन्दा बढी आलु उत्पादन हुने वडा नम्बर–३ घ्याङ सुकाठोकर र वडा नम्बर–५ डाँडाखर्कमा आलु पकेट क्षेत्र अन्तर्गत आलु प्रवर्द्धन कार्यक्रम सुरु गरिएको मेलुङ गाउँपालिकाका प्रमुख हिरा कुमार थोकरले बताए ।

आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाको दुई वटा वडामा समूह निर्माण गरिएको र ती समूहहरूलाई अनुदानमा ट्याक्टर, स्प्रे मेशिन, आलुको उन्नत बिउ र भिटामिन उपलब्ध गराइएको पालिका प्रमुख थोकरले बताए ।

आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकारबाट यो वर्ष १० लाख रुपैयाँ प्राप्त भएको थियो मेलुङ गाउँपालिकाका कृषि प्राविधिक बिष्णुकुमार जिरेलले भने– सोही बजेटबाट वडा नम्बर– ३ घ्याङ सुकाठोकर मा रहेको दोभान बर्षे आलु उत्पादक कृषक समूहलाई ५० प्रतिशत लागत सहभागितामा पाँच वटा ट्याक्टर, १५ वटा स्प्रे मेशिन, भिटामिन र रोजिता जातको आलुको उन्नत बिउ तीन हजार केजी तथा डिजिरे जानको आलुको उन्नत बिउ एक हजार केजी उपलब्ध गराइएको छ । त्यसबाट समूहमा आबद्ध ३० जना कृषक लाभान्वित भएको जिरेलको भनाई छ ।

त्यसैगरी वडा नम्बर– ५ डाँडाखर्कमा रहेको सयपत्री अर्ग्यानिक बर्षे आलु उत्पादक कृषक समूहलाई तीन वटा ट्याक्टर, १५ वटा स्प्रे मेशिन, भिटामिन र रोजिटा जातको आलुको उन्नत बिउ तीन हजार केजी तथा डेजिरे जातको आलुको उन्नत बिउ एक हजार केजी उपलब्ध गराइएको कृषि प्राविधिक जिरेलले बताए।

किसानहरुको मागको आधारमा समूह मार्फत प्रयोग गर्ने गरी ट्याक्टर लगायतका कृषि प्रविधि र आलुको उन्नत जातको बिउ उपलब्ध गराइएको जिरेलको भनाई छ । वडा नम्बर ५ मा अघिल्लो वर्ष माटो परिक्षण गर्दा अम्लिय देखिएकोले कृषि चुन समेत वितरण गरिएको कृषि प्राविधिक जिरेलले बताए।
त्यसैगरी दुवै समूहमा आबद्ध कृषिकहरुलाई आलुखेती सम्बन्धी प्राविधिक तालिम समेत उपलब्ध गराइएको जिरेलले बताए ।