बच्चाको कानको मुन्द्रा र खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ

0
Shares

पोखरा ।

पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने ३४ वर्षीय टीका श्रेष्ठ रहेकी छन्।

श्रेष्ठले पुस २० गते पोखरा महानगर १२, शीतलादेवीमा एक बालिकाको सुनको मुन्द्रा तथा खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँ चोरी गरेकी थिइन्। चोरी पश्चात उनी फरार थिइन्।

श्रेष्ठलाई चोरी गरेको २ थान मुन्द्रा र रकमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले बताए।

प्रहरीका अनुसार बालबालिका तथा महिलालाई ललाइफकाइ ठगेको आरोपमा उनले यसअघि पटके कारबाही भोगिसकेकी छन्। उनले यसअघि पनि पटकपटक गरेर १२ जनाभन्दा बढीको सुनका गरगहना चोरी गरेको आरोपमा कैद भुक्तान गरिसकेको प्रहरीले जनाएको छ।

चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ९ महिना कैद सजाय र २८ हजार जरिवाना तिरेर रिहा भएपछि पुनः सोही काममै फर्किएको खुलेको प्रहरीले जानकारी दिएको छ।