नयाँ भेरिएन्टबाट बच्न योजनासहित सतर्कता



काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को नयाँ सब भेरियन्ट छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि देखा परेको विषयलाई लिएर आम नागरिक तथा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी सचेतना अपनाउन अपिल गरेको छ।

ओमिक्रोनको भेरियन्टको सब भेरियन्ट जे एन १ देखिएपछि सरकारी तबरबाट अपिलमात्रै नभई त्यसको प्रतिरोध गर्न आवश्यक व्यवस्थापन पनि गर्नुपर्छ। भोलिका दिनमा विगतमा जस्तो महामारी नफैलियोस् भनी सुरक्षा अपनाउने र भइहालेमा समाधानका लागि तयारी अवस्थामा रहनुपर्छ।

विश्वका जुनसुकै देशमा नयाँ रोग देखियो भने पनि नेपालाले सचेत हुनैपर्छ। नेपाल आफैँमा उपचारका लागि सक्षम मुलुक नभएका कारण रोग लाग्नुभन्दा रोग नै लाग्न नदिन के गर्नुपर्छ भन्ने विषय सतर्क भएर बस्नु पर्दछ।

रोग लागि हाल्यो भने कसरी सुरक्षा अपनाई अन्य व्यक्तिमा फैलन नदिने भन्ने विषयमा सचेतना अपनाउनु पर्दछ। हरेक नागरिकमा रोग नलागोस् भन्ने सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको कर्तव्य हो। त्यसैले पनि सरकारले महामारीको रूप लिनबाट रोक्न विभिन्न प्रभावकारी कदम चाल्न जरुरी छ।

नयाँ रोग लाग्यो भने नेपालले अध्ययन अनुसन्धानदेखि उपचार विधि अपनाउन विकसित मुलुकको मुख ताक्नुपर्ने बाध्यता छ। यस्तो अवस्थामा नेपालले सर्वप्रथम रोग नै लाग्न नदिन के गर्न सकिन्छ भनी नागरिकलाई सचेत गराउने र सुरक्षा नीति अपनाउने बारेमा जनचेतना फैलाउनुका साथै रोगसँग लड्ने क्षमता विकासका लागि पोषणयुक्त खाना खानुु जरुरी हुन्छ।

यसका लागि सरकारी निकायले नेपाली नागरिकलाई नेपालमै स्वस्थ भएर बाँच्नका लागि आवश्यक वातावरण बनाउनेतर्फ उपयुक्त कदम चाल्नुपर्छ। नेपालमा कोभिड १९ को महामारीले पारेको आर्थिक, सामाजिक, मानसिक, स्वास्थ्य समस्याका कारण यहाँको आर्थिक अवस्था निकै खस्किएको छ।

नागरिकले स्वास्थ्य उपचार खरिद गर्न नसक्ने गरी महँगी चुलिएको छ । सरकार भने नागरिकको समस्या समाधान गर्न सचेत देखिएको छैन । यो निकै जटिल विषय हो।

सरकारले कुनै पनि नयाँ रोग नेपालमा भित्रिने सम्भावना छ या भित्रियो भने नागरिकले कसरी सुरक्षा अपनाउने र सरकारको तर्फबाट त्यसलाई निस्तेज बनाउन के गर्ने भन्ने योजना समयमा नै बनाउनु पर्छ। तर, यस्ता महत्वपूर्ण विषयमा हाम्रा सरकारहरू चुक्दै आएका छन् भने शासकहरू गैरजिम्मेवार देखिने गरेका छन्।

नेपालमा सबै नागरिक आर्थिक रूपमा सम्पन्न छैनन्। बिरामी पर्दा राम्रो उपचारको अभावमा तड्पिन बाध्य पर्नुपर्ने अवस्था छ । स्वास्थ्य सेवा अत्यधिक महंगो छ । उपचारको अभावमा गरिबले अकालमै मर्नु परिरहेको छ।

सरकारी अस्पतालमा उपचार गराउन सक्छन् भन्ने सरकारको धारणा हुन सक्छ। तर, सरकारी अस्पताल आउन र त्यहाँ लागेको उपचार गर्न सक्ने आर्थिक हैसियत पनि जनतामा छैन। सरकार देशकै जेठो वीर अस्पतालमा दिइँदै आएको खानाको पैसा कटौतीलगायत पुँजीपतिमैत्री बन्दै गइरहेको छ।

सरकारको नेतृत्वकर्ताले भाषण गरेर हैन काम गरेर नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउनुपर्छ। नागरिक रोगी, गरिब, असहाय भए भने देश र नेता मात्र कसरी धनी र समृद्ध हुन् सक्छन् ? यस विषयमा सरकारको ध्यान पुग्नुपर्छ । स्वास्थ्य मन्त्रीले स्थान नै नभएको कान्ति बाल अस्पताललाई एक वर्षमा १ हजार बेडको अस्पताल विस्तार गर्छु भनेर चर्चामा आउँदैमा त्यो भाषणले कतै पूर्णता पाउने छाँटकाँट छैन।

कोभिडको नयाँ भेरियन्टका विषयमा पनि बिना आधार स्वास्थ्य मन्त्रालयले आश्वासन दिनुभन्दा यथार्थतालाई नागरिकसमक्ष छर्लङ्ग पार्दै भोलिका दिनमा नागरिकको स्वास्थ्य नै देशको सम्पत्ति हो भन्ने प्रमाणित गर्ने गरी काम गर्नुपर्दछ। सरकार देशमा भएको महसुस जनताले पाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस्