डिजाइनर प्रतिस्पर्धाको विजेता छनोट



काठमाडौं ।

आईआईएफटी स्कुल अफ इन्टेरियर डिजाइनमा ६ महिने कोर्ष पूरा गरेका डिजाइनरबीच भएको प्रतिस्पर्धा ड्रेस टु इम्प्रेस सिजन–९ मा चार विजेता छानिएका छन्।

प्रतिस्पर्धाअन्तर्गतको लुक आइ क्यान फ्लाई, तक्स एन्ड तिआरा, एक्स्कुइजिट क्रप्स र मेतालिक एन्ड इथ्लेजर थिममा भिन्दा भिन्दै चार विजेता छानिएका हुन्।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हालै सम्पन्न प्रतियोगीतामा लुक आई क्यान फ्लाईमा माया गुरुङ, तक्स एन्ड तिआरामा फर्जाना खातुन, एक्स्कुइजित क्रप्समा प्रिया घिमिरे र मेतालिक एन्ड इथ्लेजरमा एन्जोली महर्जन विजेता भए।

विजेता सबैलाई नगदसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। विजेताहरूलाई प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले पुरस्कार प्रदान गरिन्।

प्रतिस्पर्धामा ड्रेस टु इम्प्रेस सिजन–९ मा डिजाइनिङका एक सय सात विद्यार्थी सहभागी थिए। कार्यक्रममा आईआईएफटीका एक सय २८ विद्यार्थीको पासआउट ग्राजुयट सेरोमनी पनि भएको थियो।

डिजाइनरका विद्यार्थीबीच हुने ड्रेस टु इम्प्रेसमा सदाझैँ यसपटक पनि समूहगत प्रतिस्पर्धा भएको थियो। डिजाइनिङ कम्बिनेसन गर्न आईआईएफटीले ड्रेस टु इम्प्रेस आयोजना गर्दै आएको हो। जसमा डिजाइनरहरू आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन्।

ड्रेस टु इम्प्रेस सिजन–९ मा पूर्व मिस नेपाल उषा खड्गी, फेसन डिजाइनरहरू राजेश ढाक्का, महेश महर्जन, निभा श्रेष्ठ, अंकित वेटिङ, रमिला नेमकुल, पम्फा श्रीशलगायत निर्णायक रहेका थिए।

ड्रेस टु इम्प्रेस आईआईएफटीको नियमित कार्यक्रम रहेको कार्यकारी निर्देशक विपना थापाले जानकारी गराइन्। आईआईएफटीका विद्यार्थीको क्षमता अभिवृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा ड्रेस टु इम्प्रेस शुरु गरेको उनले बताइन्।

ड्रेस टु इम्प्रेसले फेसन पारखीलाई फेसनको जानकारी दिनुका साथै पब्लिकमा फेसन क्रेजसमेत बढाउने आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले विश्वास व्यक्त गरे।

राजधानीको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसग इन्टेरियर कोर्स अध्यापन गराउँदै आएको छ।

आईआईएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्