काँडेतारको विशेष प्रदर्शन हुने



हेटौंडा ।

राष्ट्रवादी धारको भनिएको फिल्म काँडेतारको हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ। फिल्म सामना फिल्म्स् प्रालिको आयोजनामा पुस २७ गते नारायणी मलमा अवस्थित एनएस सिनेमा हलमा प्रदर्शन गरिने भएको हो।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले खुला सीमाका कारण झडपमा मृत्यु भएका परिवार तथा घाइतेको सहयोगार्थ फिल्म प्रदर्शन गर्न लागिएको बताए।

देशको माटो र नेपाली मान्छे जोगाउनुपर्छ भन्ने भाव फिल्ममा रहेको भन्दै खुला सीमाका कारण निम्त्याइएको समस्या फिल्मको कथासार रहेको निर्देशक खड्काले बताए।

उनले नेपाल भारतको सीमा विवाद र सीमामा हुने झैझगडाको विषयमा फिल्म निर्माण गरिएको जनाउँदै नेपालले आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने सन्देश फिल्मले दिने बताए।

‘हामीले यस फिल्मबाट नेपालको सिमानामा काँडेतार लगाएर नेपाल र नेपालीलाई सुरक्षाको प्रत्याभूति दिनु आवश्यक भइसकेकोले सरकारलाई घचघच्याउन खोजेका छौं,’ उनले भने।

सत्यकला राई, मकिको राई र अञ्जु केसीद्वारा निर्मित फिल्ममा नवलका साथमा गौरव पहाडी, रेबिका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी तथा बाल कलाकार नादिया खड्का र सनया खड्कालगायतले अभिनय गरेका छन्।

फिल्ममा शिवम् अधिकारी र नवल खड्काको लेखन, मणि थापा र दीपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र सौरभ लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्