काठमाडौँ।
नेकपा एमालेले राजधानी केन्द्रित आन्दोलनको गृहकार्य अघि बढाएको छ । सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधीनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा जुटेको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको जनसंगठन समन्वय समितिको बैठकमा महासचिव शंकर पोखरेलले सरकारको गैरजिम्मेवारीवनाले सीमा नाघेको कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपरेको बताए । संयन्त्रका संयोजक भानुभक्त ढकालका अनुसार बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमाथि सरकारको ज्याद्धतीले सीमा नाघेको तथ्य प्रस्तुत गर्दै आन्दोलनको तयारीमा पार्टी रहेको जानकारी दिएका हुन्।
‘सरकार हरेक क्षेत्रमा असफल भयो, मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ, अव यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुट्नुपर्छ भन्ने निश्कर्षमा पार्टी पुगेको छ,’ बैठकमा बोल्दै महासचिव पोखरेलले भने, ‘निकट भविष्यमा राजधानी केन्द्रित भएर केही गतिविधि गर्नुपर्छ कि भन्ने ढंगले हामीले सोचिरहेका छौं । यो कामको तयारीमा सवै जनसंगठन लाग्नोस ।’ महासचिव पोखरेलले राजधानीमा मध्यम वर्ग र गरिखाने वर्गमाथि चरम खालका ज्यादती भए पनि ठोस ढंगले प्रतिकार हुन नसकेको भन्दै अव त्यस दिशातर्फ पनि अघि बढ्नुपर्ने बताए ।
‘सरकार र स्थानीय निकायमा रहेका शासकहरुले जनतामाथि जे गर्दा पनि सहेर बस्ने कुरा उचित होइन, अव जनताको पक्षमा दृढताका पूर्वक उभ्याउनु पर्छ । त्यसका लागि जनसंगठनहरु आफ्ना गतिबिधिलाई अलिक आक्रामक बनाएर जानुपर्छ, महासचिव पोखरेलले भने, ‘अव इफ बट नभनीकन सरकारको ज्याद्धतीबारे आक्रामक बन्नुपर्छ । जनताका सरोकारका विषयमा सम्झौता नगरी संगठित रुपमा लाग्नुपर्छ । जनताले मन नपराउने कुरा अव रोक्ने गरी हामी अघि जानुपर्छ । यो कामको तयारी गर्नाेस ।’
महासचिव पोखरेलले नेपालको आन्तरिक मामिलामा सरकारले खेलवाड गरेको भन्दै यस विषयमा जनतालाई जानकारी गराउनु पर्ने धारणा पनि राखेका छन् । ‘सिधै २० करोड लगानी गर्न सक्ने प्रावधान आपत्तिजनक छ । यो आन्तरिक मामिलामा गम्भीर विचलन हो,’ महासचिव पोखरेलले भने, ‘वैदेशिक सहायताहरु बजेटरी प्रणालीमा ल्याउनु पर्छ भन्ने हाम्रो मान्यता हो तर यो सरकारले सिधै २० करोड खर्च गर्न दिने सम्झौता गरेर गम्भीर राष्ट्रघाट गरेको छ,’ महासचिव पोखरेलको भनाई थियो ।
उनले ललितपुरको ग्वार्काे र सर्लाहीको बरथहवा घटनाले सरकार जनतामाथि निर्मम रुपमा दमनमा उत्रिएको प्रमाण दिएको भन्दै यस प्रकारका ज्यादती अव सैह्य नहुने प्रस्ट पारे । सर्लाहीमा सत्ता गठबन्धनले नै अराजकता मच्चाउने काम गरेको र सरकारले निर्दोष नागरिकमाथि गोली चलाएर हत्या गरेको भन्दै महासचिव पोखरेलले यी दुवै घटनामा प्रतिवाद जरुरी रहेको बताए ।
‘स्थानीय तहको अधिकार कटौती गर्ने कुरामा संगठित रुपमा प्रहार भइरहेको छ । त्यही योजनाअनुसार सत्तारुढ गठबन्धनको योजनामा बरथहवामा अराजकता मच्चाइयो, त्यही बहानामा सरकारले निर्दाेषको ज्यान लियो,’ महासचिव पोखरेलले भने, ‘पछिल्लो समय एमालेले जितेको पालिकामा ५ दलीय गठबन्धन अराजकता मच्चाउने काममा लागेको छ, यो कुरा निकै गम्भीर छ,’ महासचिव पोखरेलले भने ।
बैठकमा महासचिव पोखरेलले पार्टीले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राले अतिवादलाई पराजित गरेको निष्कर्ष सुनाए । ‘संकल्प यात्राका माध्यमबाट अतिवादबिरुद्ध जनमत प्राप्त भयो । संकल्प यात्रा भाँडन कोशीमा जुनप्रयाश भयो, त्यसका विरुद्ध जुन ढंगल जनता उपस्थिती भएर जवाफ दिए, त्यस्ले अतिवादलाई परास्त गरेको छ ,’ महासचिव पोखरेलले भने । उनले सांस्कृतिक रुपमा पनि सिंगोलाई जोडने काम संकल्प यात्रामार्फत भएको निष्कर्ष महासचिव पोखरेलले सुनाए ।
यस्तै यात्राको क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति देखिएको नागरिकको क्रेज ऐतिहासिक घटनाका रुपमा रहेको बताए । ‘पार्टी अध्यक्षप्रतिको विश्वास अपार रहेको प्रस्ट तस्बिर आएको छ । यो ढंगको विश्वास अरु कोही प्रति छैन । यस हिसाबले नेकपा एमाले र यस्को नेतृत्वमाथि नै जनताको विश्वास छ भन्ने प्रस्ट भयो,’ महासचिव पोखरेलले भने ।
बैठकमा संयन्त्रका प्रमुख भानुभक्त ढकालले अव एमालेका सवै जनसंगठनहरु जुझारु र सरकारका ज्याद्धतीप्रति निर्मम र आक्रामक रुपमा प्रस्तुत भएर सच्चिन बाध्य पार्नुपर्ने बताएका थिए ।











प्रतिक्रिया