ज्योतिष विद्यालाई नयाँ प्रविधिसँग जोड्नुपर्छ : रक्षामन्त्री खड्का



 काठमाडौं।  
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग जोड्नुपर्ने बताएका छन्  । हार्दिक होटल काठमाडौंमा आयोजित नेपाल ज्योतिष परिषद्को रजत महोत्सवलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

रक्षामन्त्री खड्काले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएकाले विश्वभर प्रचार-प्रसार गर्नुपर्ने खाँचो रहेको बताएका छन्  । ज्योतिष विद्यालाई यदाकदा हचुवाका रूपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएकाले यसभन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमूलक विद्याका रूपमा विकास गर्न उनले ज्योतिषीहरूलाई सुझाएका थिए ।

उपप्रधानमन्त्री खड्काले ज्योतिष पूर्वीय वाङमयको ज्ञान रहेकोे र यसलाई सृष्टिको आरम्भदेखि महत्त्वपूर्ण विधाका रूपमा ठूलो आदर र महत्त्वका साथ हेरिने गरिकाले नेपाल ज्योतिष परिषद्ले आधिकारिक सूचना प्रवाह गर्ने संस्थाका रूपमा योगदान दिनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, कार्यक्रममा परिषद्का अध्यक्ष माधवराज पाण्डे, संस्थापक अध्यक्ष लोकराज पौडेललगायत वक्ताले परिषद्लाई आधिकारिक नियमन संस्थाका रूपमा विकास गर्दै ज्योतिष विधालाई थप व्यवस्थित गर्दै लैजाने बताएका थिए ।

सोही अवसरमा ज्योतिष सन्देश पत्रिकाको रजत महोत्सव अंकसमेत विमोचन गरिएको थियो ।

पञ्चाङ्गकार कौशिक सम्मानित

नेपाल ज्योतिष परिषद्ले रजत जयन्तीको अवसरमा ‘बाबा गोरखनाथ’ पञ्चाङ्गका पञ्चाङ्गकार श्रीकेश कौशिकलाई विशेष सम्मान गरेको छ । ज्योतिषको क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै परिषद्ले उनलाई सम्मान गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दोसल्ला ओढाई कदरपत्र दिएर कौशिकलाई सम्मान गरेका थिए । त्यसै गरी, परिषद्ले संस्थापक अध्यक्ष डा. लोकराज पौडेल, पञ्चाङ्ग निणर्ायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारी, समितिकै पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम, आध्यात्मिक पत्रकार समाज (आपस) का अध्यक्ष शिरोमणि दवाडी, वरिष्ठ ज्योतिषहरू डा. सहदेव विष्ट, ज्यो.पं. लेखनाथ न्यौपाने, आचार्य लक्ष्मण पन्थी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्