सुर्खेत ।
कुनैबेला पश्चिम नेपालकै अन्नको भण्डार भनेर बर्दिया जिल्लालाई चिनिन्थ्यो । हिजोआज दिनदिनै बाघको आक्रमणको समाचार सुन्दा, अब बाघको भण्डार भन्ने अवस्था आइसकेको छ । बर्दिया जिल्लाको मधुवन नगरपालिका—५ कि नन्दकला वलीले केहि महिना अघि बाघको मुखबाट थुतेर आफ्नो खसी बचाएर ल्याइन् । धन्न उनको भाग्य बलियो थियो र त्यो बाघले केहि गरेन ।
‘सधैजस्तै गाँउका दिदिबहिनीहरु सँगै म पनि खसीबाख्रा चराउन जंगल गएको सानो बाघ रैछ खसी समाति हाल्यो हइट हइट भनेर कराए अनि छोड्यो, खसीलाई चोट थियो घर ल्याएर औषधी गरे’, उनले भनिन्, हिजोआज जँगलमा झाडी धेरै छ, जँगल घना अनि डरलाग्दो भैसक्यो, के गर्नु खसीबाख्रा नपाले घर चल्दैन ।’ खेतीपाती र खसीबाख्रा नपाली आफ्नो घर नचल्ने भन्दै कुन दिन आफु पनि बाघको सिकार भइन्छ भन्ने डरले सताईरहने नन्दकलाको भनाई छ ।
बर्दिया मधुवन नगरपालिका–३ खाताकी फुलमाया थारुको दिनचर्या पनि बाख्रा गोठालोमा बित्छ । पहिले पहिले जंगलको भित्रै बाख्रा चराउन जाने फुलमाया हिजोआज जंगल छेउछाउ मात्रै चराउँछिन् । ‘बाघ आखै अगाडी देखिन्छन् । हरेक दुई तिन दिन विराएर मान्छे मारेको हल्ला सुनिन्छ गाँउमा । हरेक दिन घर फर्किदा आज त बाचियो भन्ने लाग्छ ।’ जंगलको झाडीमा बाघ लुकेको नदेखेर गोठालो गएका, घाँस–दाउरा गएका धेरैजना बाघको शिकार हुन्छन् । पहिला मान्छे बाच्नुपर्छ अनि मात्रै बन्यजन्तु, बन चाहिने नन्दकला र फुलमाया जस्तै मधुवनबासीको भनाई छ ।
दश वर्षको अवधिमा बाघको आक्रमणबाट बर्दियामा मात्रै २४ जनाको मृत्यु भैसकेको छ । जसकाकारण खाता वरपरका स्थानिय त्रसित छन् र मानव वन्यजन्तु बिच द्वन्द्व चुलिदै गएको छ । खाता जैविक मार्ग हुलाकी सडकमै पर्ने भएकाले तीव्र गतिमा सवारी–साधन गुडिरहेका हुन्छन् जसकाकारण बाटो पार गर्दा बन्यजन्तुहरु दुर्घटनामा परेर मर्ने गरेका छन् । यो जैविक मार्गलाई सरकारले भने चिन्न नसक्दा जोखिममा परेको संरक्षणकर्मीहरूको भनाइ छ ।
खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले खाता जैविक मार्ग क्षेत्रमा बनेको हुलाकी सडक निकै व्यस्त भइसकेको बताउनुहुन्छ । ‘सवारी–साधनको चाप बढ्दै छ, दुर्घटनाको जोखिम उत्तिकै छ । हुलाकी सडकको कुनै ठाँउमा चेकपोइन्ट छैन । अध्यक्ष गुरुङले भने, ‘वन्यजन्तुहरूलाई सहज रूपमा ओहोरदोहोर गर्नको लागि ओभर ब्रिज बनाउने योजना बनाइएको छ । तर, त्यो योजना पनि योजनामै सिमित छ । सरकारी निकायबाट जैविक मार्गलाई अपनत्व नलिँदा समस्या परेको छ ।’
पछिल्लो समय बाघको बासस्थानको रूपमा जैविक मार्ग बन्दा चुनौती थपिएको छ । ‘बनाउन खोजेको चौतारीजस्तो हो । बर्दिया राष्ट्रिय निकुञ्जको बाघ यहाँ केहीबेर आराम गर्ने र भारततर्फ जाने, भारततर्फको बाघ आउने यहाँ केहीबेर आराम गर्ने र बर्दिया राष्ट्रिय निकुञ्जमा जाने बनाउन खोजिएको हो’, उनले भने, ‘तर, खाता जैविक मार्ग बाघको बासस्थानको रूपमा विकास हुन थाल्यो यो चुनौतीको विषय हो।’
बाघको संरक्षणमै जीवन विताएका ‘भदै थारु’
वि.स २०५९ सालमा भदै थारुलाई बाघले आक्रमण गर्दा जीवनको महत्वपुर्ण अंग एउटा आखा गुमाउनु प¥यो । तर संरक्षणको काममा आफ्नो रगतको नाता रहेको भन्दै भदैले बाघ संरक्षणमै जीवन विताउन खोजेको बताउनुहुन्छ । ‘घरपरिवारले आफुलाई मार्न खोज्नेलाई जोगाउन लाग्ने भनेर गाँली गर्थे, हिजोआज भन्न छाडे’, उनले भने, ‘बाघको संरक्षणमा लागेर समाजको गालीमात्रै खाइराछु । जब बाघले मान्छेँ मार्छ दोष मलाई आउछ तर, म यस्ता दोषहरूबाट विचलित भएको छैन ।’
बाघ संरक्षणको अभियान चलाउन निकै गाह्रो भएको उनको अनुभव छ । ‘जबजब घटना हुन्छ, तब–तब जनावरको बारेमा, जैविक विविधताको बारेमा, रुखको बारेमा कुरा गर्ने मान्छेलाई दोष आइरहेको छ’, उनले भने, ‘किन भने यही हो जनावर बचाउने, बाघ बचाउने । अहिले मान्छेको घटना भइराखेको छ। हामीले धेरै गाली खाइराखेका छौं। हाम्रो देशको प्रकृति, जैविक विविधता, वन्यजन्तु बचाइराखेका छौं।’ जैविक विविधता संरक्षण, वन्यजन्तु अपराध नियन्त्रणलगायत संरक्षणको कामलाई गति दिन समुदायको सक्रियता महत्त्वपूर्ण मानिँदै आएको छ ।
वन्यजन्तुलाई क्षति पुग्ने काम गरे कानुनी कारबाही हुन्छ तर बन्यजन्तुले मानीसलाई आक्रमण गर्दा मृत्यु हुने परिवार र घाइते हुने व्यक्तिको उपचार खर्च सरकारले गर्ने गरेको छ । समुदायस्तरको पहल र दवावले गर्दा सरकारले मृत्यु भएका व्यक्तिको परिवारलाई दश लाख दिने र घाइतेहरूको उपचार सरकारले गर्ने गरेको छ । यसरी पैसा बाँड्नुभन्दा नागरिकको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने स्थानीयको भनाई छ ।
यता, खाता सामुदायिक वन समन्वय समितिले बन्यजन्तुबाट आक्रमणमा परि कसैको मृत्यु भए किरिया खर्च २५ हजार, तत्काल उपचारको लागि पु¥याउन एम्बुलेन्स खर्च उपलब्ध गराउने गरेको छ । नेपाल सरकारले मृत्यु भएको खण्डमा दश लाख दिन्छ भने प्रदेश सरकारले पनि जनतासँग प्रदेश सरकार कार्यक्रमबाट एक लाख उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया