बिजुलीबजारको चक्रवर्ती हवी एजुकेसनका सञ्चालक भण्डारीमाथि उनकै छोराले किन गरे आक्रमण ?



काठमाडौँ ।

काठमाडौँ बिजुलीबजारस्थित चक्रवर्ती हवी एजुकेसन एकेडेमीका दुई सञ्चालकबीच झडप भएको छ। उक्त झडपमा परी काठमाडौं-१० मध्यबानेश्वरका ६८ वर्षीय देवेन्द्र भण्डारी र शंखमुल बस्ने २२ वर्षीय सुरज रेग्मी घाइते भएका छन्।

घाइते भण्डारी नर्भिक अस्पतालमा भर्ना भएका छन्। रेग्मीको सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।घटनामा २४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ। सोमबार राति करिब ११ बजे सञ्चालकहरूबीच झडप भएको थियो।

सामान्य घाइते भएका सुरज अस्तालबाट डिस्चार्ज भइसकेका छन्। भण्डारीलाई सिभिल अस्पतालबाट राति नै नर्भिक लगिएको हो। उनको टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ। भण्डारीलाई उनकै छोरासहितका व्यक्तिले आक्रमण गरेका थिए। छोरा ३२ वर्षीय निरज भण्डारीले एकेडेमीमै पुगेर बेल्चा प्रहार गरेको काठमाडौँ परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए।

चितवन भरतपुर घर भएका भण्डारी बाबु-छोराबीच उक्त एकेडेमीको सम्पत्तिबारे विवाद छ। ‘कसले कति सेयर पाउने भनी उनीहरूबीच सात-आठ वर्ष लामो विवाद देखिन्छ,’ खत्रीले भने।

यो विषयमा कम्पनी रजिष्ट्रार कार्यालय तथा अदालतमा समेत लामो समय मुद्दा परिरहेको र विवाद नसुल्झिएको बुझिएको उनले बताए। सोही विवादको सिलसिलामा छोरा सुरजले युवाहरू भेला पारेर बाबुमाथि आक्रमण गराएको खत्रीले बताए।

सुरजसहित आक्रमणमा संलग्न रहेको आरोपमा २४ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको खत्रीले बताए। सुरूमा आक्रमणका लागि बाबु पसेको भन्दै सुरजले उनीमाथि आरोप लगाइरहेका छन्। भण्डारी बोल्न सक्ने अवस्थामा छैनन्।

प्रतिक्रिया दिनुहोस्