पालिकामा बेथिति बढ्दै, विकास निर्माणले गति लिन सकेन

0
Shares

रौतहट।

 रौतहटको दुई पालिकामा उपमेयरसहितका जनप्रतिनिधिहरुले तालाबन्दी गरेपछि काम काज प्रभावित भएको छ । उनीहरुले नगरप्रमुखको कार्यशैली प्रति असन्तोष राख्दै तालाबन्दी गरेका हुन्  ।

कटहरिया नगरपालिकाका उपप्रमुख रिता देवी यादवसहितका जनप्रतिनिधि र गरुडा नगरपालिकाका उपप्रमुख पुनम कुमारी चौधरी सहितका जनप्रतिनिधिहरुले तालाबन्दी गरेका हुन ।

गत शुक्रबारदेखि गरुडा नगरपालिकामा तालाबन्दी भएको छ भने सोमबारदेखि कटहरिया नगरपालिकामा तालाबन्दी भएको हो । गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जैयसवालले नियमित कार्यपालिका बैठक नराखेको, ०८०-०८१ को नगरसभा बाट पारित योजना गोप्य राखेको, एकतर्फी कर्मचारी नियुक्ती गरेको, उपप्रमुख सहितको जनप्रतिनिधिहरुको अधिकार कुण्ठित गरेको, विपक्षी दलबाट निर्वाचित वडाध्यक्षको कार्यालयमा कर्मचारी बिहीन बनाएको, वडानम्बर ८को कार्यालयको  बिधुत लाइन काट्न लगाएको आरोप लगाउँदै नगरपालिकामा तालाबन्दी गरेको हो भने उता कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जैयसवालले विभिन्न शीर्षकमा अनियमितता गरेको आरोप लगाइएको छ ।

उपप्रमुख रीता देवीसहितका जनप्रतिनिधिहरुले विभिन्न ८ बुँदे  माग राख्दै छुट्टाछुट्टै फाँटहरुमा तालाबन्दी गरेका छन् । नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दै आएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने या हटाउने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गर्दै कटहरिया नगरपालिकामा तालाबन्दी भएको हो ।

विगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमबाट भएको खर्च सार्वजनिक गर्नु पर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जम्मा गराई सम्झौता गर्नु पर्ने, आर्थिक वर्ष २०७९-०८० मा संघ, प्रदेश सरकार तथा अन्य निकाय या संघ संस्थाको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने माग रहेको छ । गरुडा नगरपालिकाका उपप्रमुख पुनम कुमारी चौधरीले एकलौटी ढंङ्गले नगरप्रमुखले कार्य गरेको बताए  । उनले उपप्रमुख र वडाअध्यक्षहरुको अधिकार कटौती गरेकोले नगरपालिकामा तालाबन्दी गर्नु परेको बताए  ।

गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद जैयसवालले विभिन्न बखेडा झिक्दै नगरपालिकामा तालाबन्दी गरेको बताए  । कटहरिया नगरपालिकाका उपप्रमुख रीता देवीले हिसाब किताब माग गर्दा नदिएपछि तालबन्दी गरेको बताइन्  । कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश जैयसवालले थप बजेट माग गरेका जनप्रतिनिधिहरुले नपाएपछि तालाबन्दी गरेको बताए ।