नेपालमा लागुपदार्थ दुर्व्यसनको कारण र निराकरणका उपाय



काठमाडौं ।

नेपालको सन्दर्भमा लागुपदार्थको दुरुपयोग प्राचीनकालदेखि नै हुँदै आएको छ। यसबाट उत्पन्न हुने असर वा विकृति वर्तमान समयमा ज्यादै देखिएका हुन्। गाँजा सेवन यसको राम्रो उदाहरण हो।

यसको प्रयोगले नेपालको सहरी तथा ग्रामीण क्षेत्रका सम्पूर्ण तह र वर्गका मानिसलाई समेटेको छ। सन् १९६० को दशकपछि सहरी क्षेत्रमा विकसित भएको पश्चिमाहरूको हिप्पी संस्कृतिले हेरोइन, अफिम, चरेस, कोकिनको प्रयोगलाई व्यापक बनाइदियो।

लागुपदार्थको दुरुपयोगले प्रयोग गर्ने व्यक्तिको जीवन बर्बाद गर्छ नै यसबाहेक परिवार, समाज र देशकै अर्थतन्त्र र संस्कृतिलाई नष्ट पार्दछ । समाजमा हत्याहिंसा, चोरीडकैती, वेश्यावृत्तिजस्ता विकृतिहरूबाट मानिस आक्रान्त बन्न पुग्दछन्।

नेपालमा खास गरी साथीभाइको सङ्गत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागुपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारीका चिन्तन आदिले नेपालमा लागुपदार्थको दुरुपयोग बढ्दो छ।

विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार लागुऔषध भनेको कुनै पनि किसिमको रासायनिक पदार्थ हो। जुन स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक, कार्य तथा यसको बनावटमा परिवर्तन ल्याउन सक्छ ।

नेपालमा लागुऔषधको स्थितिलाई केलाउँदा पुरानो समयमा गाँजा, भाङ, धतुरो आदि चाडपर्वहरूमा साधारण मानिसहरूले र जोगीजस्ताहरूले चाडपर्वहरूमा मठ, मन्दिरमा सेवन गर्ने गर्दथे भने कतिपयले बिरामी भएको अवस्थामा औषधोपचारको रूपमा समेत सेवन गर्ने प्रचलन थियो।

विकसित देशहरूमा विकासको लहरसँगै आएको विकृतिहरू विगत ३० वर्षको समयमा बढ्दो बेरोजगारी, मनोविनोदका साधनहरूको उपलब्धि तथा प्रयोग, विशेषतः युवापिँढीका बढ्दो आकांक्षाहरूबाट अशान्त मनस्थिति हुनु आदि कारणहरूले लागुऔषधप्रतिको बढ्दो भुक्तान यिनै वर्षहरूमा विशेषतः पाश्चात्य देशहरूमा देखिएको र त्यसको प्रभाव हाम्रो देशमा समेत पर्न गएको देखिन्छ।

लागुऔषधको दुर्व्यसनीको कथा मानिसको दुःखद अन्त्यको कथा हो भने लागुऔषधको व्यापारको कथा मानिसको क्रुरता तथा अन्धो स्वार्थीपनको उत्कृष्ट उदाहरण हो ।

यौन विकृति तथा वेश्यावृत्ति, परिवारभित्र अशान्ति, झै–झगडा, चोरी, लुटपाट जस्ता सबै अपराधमा लागुऔषधको दुव्र्यसन र दुरूपयोग सदैव अप्रत्यक्षरूपमा सघाउ पुर्‍याइरहेको हुन्छ। लागुऔषधको कारोवार गर्ने अपराधीहरूलाई समन गर्न विभिन्न देशहरूले यो समस्यालाई विभिन्न नीति निर्धारण गरी कारागार रूपमा प्रयोग गर्न थालेका छन्।

लागुपदार्थलाई २ समूहमा विभाजन गर्न सकिन्छ। अवैध घोषित भएका र रोक तथा कानुनी रोक नलागेका पदार्थहरू। चुरोट, बिँडी खैनी, रक्सीजस्ता नरम लागुपदार्थहरूलाई कानुनले यसको सेवन बन्द गरेको छैन। तर, यी पदार्थ पनि धेरै समय प्रयोग गरे दम, क्यान्स, ब्रोङ्काइटिसजस्ता रोग उत्पन्न हुँने हुँदा अर्को उस्तै हानीकारक हुन आउँछ।

मानव जीवनका निम्ति स्वस्थ, सफल र दीर्घायु हुन ड्रग आवश्यक छ तर जब एउटा उद्देश्यका लागि निर्माण गरिएको औषधि अर्को उद्देश्यले चिकित्सकको निरीक्षण र सल्लाह बिना नै आफूखुशी प्रयोग गरिन्छ। त्यसलाई औषधिको दुरुपयोग वा दुव्र्यसन भनिन्छ।

यस प्रकारको सेवनले पीडा, थकान र दुखाईलाई कम गरी निन्द्रा लगाउनुका साथै शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक संरचना र क्रियात्मक पक्ष नै परिवर्तन गरिदिन्छ। यसैलाई लागुऔषधि भनिन्छ।

लागुऔषध अपराध एक मानवसिर्जित विश्वव्यापी समस्या हो । यसले राष्ट्रको आर्थिक, सामाजिक, उत्पादनशील जनशक्तिलगायत सबै पक्षमा नकारात्मक प्रभाव पार्दछ। लागुऔषध दुव्र्यसन केवल आपराधिक गतिविधिसँग मात्र सम्बन्धित नभएर यो एउटा जटिल सामाजिक समस्याको रूपमा पनि देखा परिरहेको छ।

लागुपदार्थको अवैध ओसार–पसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमुखी कार्यक्रमहरू सञ्चालन गर्नु पनि उत्तिकै जरुरी छ। यसै गरी लागुपदार्थको अवैध खेती एवं ओसारपसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी तुल्याउनु, आवश्यक देखिन्छ।

अतः लागुऔषधको प्रयोगबाट जोखिममा परेका समूहहरूको पहिचान गरी त्यस्ता समूह लक्षित समुदायमा आधारित विभिन्न कार्यक्रमहरू सञ्चालन गरी लागुपदार्थको माग घटाउ अभियानलाई थप प्रभावकारी बनाउनु जरुरी छ ।

लागुपदार्थ प्रयोगका प्रकारहरूमा: प्राकृतिक लागुपदार्थहरू भन्नाले शुरूको उत्पादन अवस्थालाई जनाउँदछ। यो केवल बिरुवाको रूपमा हुन्छ र यसलाई साधारण तरिकाले प्रशोधन गरी प्रयोग गर्ने गरेको पाइन्छ। जस्तैः गाँजा, चरेस, कोका आदि।

अर्ध औषधि मिश्रित लागुपदार्थ भन्नाले बिरुवाका रूपमा प्रयोग भएको पदार्थलाई प्रशोधन गरी प्रयोग गर्न योग्य तुल्याइएको पदार्थलाई जनाउँदछ। जस्तैः मर्फिन, हिरोइन, कोकिन, गाँजा आदिका पाउडरहरू यस श्रेणीमा पर्दछन्।

यिनलाई निकै असरदार मानिएको छ। आजको विश्वमा प्रायः यसै प्रकारको लागुपदार्थ सेवन गरेको पाइन्छ। औषधि मिश्रित लागुपदार्थ यो पूर्णतया रासायनिक तत्वहरूको मिश्रण गरी बनाइएको हुन्छ। यस्ता प्रकारका औषधिहरू निकै असरदार हुन्छन्। कोडिन, फस्फेट चक्की, फोर्टबिन, डाइजिन आदि।

लागुऔषधलाई विभिन्न किसिमबाट वर्गीकरण गर्ने गरिन्छ। लागुऔषधको प्राप्तिको स्रोतको हिसाबबाट प्राकृतिक र कृत्रिम गरी दुई किसिमबाट वर्गीकरण गरिन्छ भने कानुनी रूपमा कानुनी, गैर कानुनी र नियन्त्रित गरी तीन प्रकारमा बाँड्ने गरिन्छ । त्यसै गरी लागुऔषधको असरको हिसाबबाट हेर्दा यसलाई निम्नानुसार वर्गीकरण गर्ने गरिन्छ।

स्वापकजन्य वा पीडाहरू, अवसादक वा आलस्यजनक, उत्तेजक, मतिभ्रामकलगायत पर्दछन् । निद्रा लगाउने, चेतनाको अवस्थामा बदलाव ल्याउने, साथै पीडाहरू कम गराउन प्रयोग गरिने औषधिलाई स्वापकजन्य वा पीडाहरू भनिन्छ । केन्द्रीय स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने औषधिलाई उत्तेजक भनिन्छ । यस वर्गमा पर्ने औषधिहरूले उत्तेजना बढाउने, भोक हटाउने र थकाइ मेटाउनेजस्ता प्रभाव पार्दछन्।

वर्षेनी हजारौंको संख्यामा बढ्दै गइरहेको लागुऔषध दुव्र्यसन, लागुऔषधको बढ्दो अवैध खेती, उत्पादन, भण्डारण तथा ओसारपासरा विश्वव्यापी आर्थिक सामाजिक महामारीको रूपमा रही आएको छ । विश्व लागुऔषध प्रतिवेदनका अनुसार विश्वका करिब ६ प्रतिशत मनिसहरू लागुऔषध सेवन गर्दछन्।

विश्व स्वास्थ्य संगथठनका अनुसार सन् २०१५ मा ४ लाख ५० हजार व्यक्तिले लागुऔषध सेवनका कारण ज्यान गुमाए (विश्व ड्रग प्रतिवेदन, २०१८) । नेपालको लागुऔषध सर्वेक्षण २०६३ र २०६९ अनुसार वार्षिक करिब ११ प्रतिशतले लागुऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि भइरहेको छ । त्यसै गरी कुल अपराधमध्ये ७ प्रतिशत अपराध लागुऔषधसँग सम्बन्धित रहेका छन् । (एनसीबी, २०१८) ।

बेरोजगारी पारिवारिक बिछोड तथा आवश्यक माया ममताको अभावमा हीनताबोध भई कतिपय युवा युवतीहरू यस्तो कुलतमा परेको पाइएको छ। किशोर अवस्था स्वभावैले कौतुहलपूर्ण हुन्छ।

कुनै पनि कुराको अनुभव लिने जिज्ञासा उनीहरूमा हुन्छ। यस क्रममा कहिलेकाहीँ आफैं उत्सुक भई नसालु पदार्थको सेवनतर्फ अग्रसर हुन्छन्।

लागुपदार्थको सेवन तथा कारोबार नियन्त्रणको लागि सरकारले दबाबका कारणले नियन्त्रणका उपायहरू प्रभावकारी हुन सकेका छैनन र अरू संरक्षण पाइरहेका छन् । मानिसलाई विभिन्न किसिमका आर्थिक, पारिवारिक सामाजिक संकटहरू आईपर्दछन्।

यस्ता संकटले तनावको अवस्था निम्त्याउँछन् । उनीहरू तनावबाट मुक्त हुन नसालु पदार्थको सेवनतर्फ हुँदै क्रमशः कुलततर्फ जान्छन् । कतिपय युवा युवतीहरू बढी महत्वाकांक्षी हुन्छन्।

उनीहरू लक्ष्यमा पुग्न नसक्ने अवस्थामा तनावयुक्त हुन्छन् । यस्तो तनावबाट मुक्त हुन लागुपदार्थको सेवन आवश्यक हुन्छ भन्ने गलत सोचाइ भएको पाइन्छ।

ठूलो मानिसको सिको गर्न खोज्दा, उत्सुकताको कारणले, अज्ञानतावशको कारणले अधिकार खोज्न, अधिकारको लागि शरीरलाई सुरो तुल्याउनु, समाजको पुरातन धारणा नमान्न लागुपदार्थ लिएर सुरक्षित रहने महसुस गरी विद्रोह गर्नु आदि । शहरीकरण र बेरोजगारी साथीहरूको अनुरोध हार्न नसकेर।

छोराछोरीलाई दिएको पैसाको कसरी उपयोग भएको छ भनेर खोजी नीति नगर्नु, छोराछोरीलाई झुठा आश्वासन दिनु, छोराछोरीलाई नराम्रो क्रियाकलाप र व्यवहार गर्नबाट नरोक्नु, छोराछोरीको आवश्यकता, उमेरको परिवेश र बाहिरी वातावरणको तारतम्य मिलाउन नसक्नु।

पाश्चात्य देशहरूमा लागुऔषधको बढ्दो प्रयोग भएबाट त्यसको प्रभाव पर्नु, बढ्दो पर्यटकहरूको आवागमन र तिनीहरूबाट लागुऔषधको प्रयोग गर्नु, पुरातन समयदेखि नै लागुऔषध प्रयोगको परम्परा रहनु।

लुकाई छिपाई लागुऔषधको खेती हुनु, लागुऔषध नियन्त्रणमा संलग्न संघसंस्थाको समन्वय नरहेको र प्रभावकारी रूपमा समेत कार्य गरेको नदेखिएको, लागुऔषध नियन्त्रण ऐनले दोहोरो जवाफदेही काम गरेको हुँदा झन् काम हुन नसक्नु । लागुऔषध सेवन तथा बिक्री वितरणको वास्तविक स्थितिको अध्ययन गरी त्यसलाई प्रभावकारी तरिकाबाट नियन्त्रण गर्ने ठोस मार्ग निर्देशन निक्र्योल नहुनु पर्दछन् ।

लागुऔषध तस्करमा अवरोध हटाउन आर्थिक श्रोतको प्रयोग र राजनीतिक चलखेल गरी राज्य शासनमा आफ्नो अनुकूलको राजनीतिक नेतृत्व ल्याउन, सुरक्षा अधिकारीलाई रकम दिएर खरिद गर्ने, विरोधीहरूको हत्याजस्ता आतंककारी गतिविधिलाई नार्कोटेररिज्म भन्दछ।

लागुऔषधको अर्थोपार्जन विश्वव्यापी संगठित आपराधिक संजाल बिस्तार गर्नेदेखि लिएर राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक प्रभुत्व कायम गर्ने गतिविधिमा प्रयोग हुने गरिएको छ।

कोकिन दक्षिण अमेरिकाको एन्डिएन देशहरू बोलिभिया, कोलम्बिया, पेरुमा उत्पादन हुन्छ। कोकाको पातलाई प्रशोधन गरेर कोकिन बनाइन्छ । कोकिनको मूल्य अत्यधिक भएकोले धनी राष्ट्रहरूमा तस्कर हुने र धनाढ्य वर्गले नै दुव्र्यसन गर्दछ।

यसैले कोकिनलाई धनी (रिच एलिट ड्रग) लागुऔषध भनिन्छ । नेपालमा विभिन्न लागुऔषध दुव्र्यसनीहरूको संख्या एकलाख रहेको आँकलन गरिएको । लागुऔषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन्।

अभिलेख अनुसार उमेरको हिसाबले १५वर्षदेखि कम उमेरका ३२.२ प्रतिशतले, १५ देखि १९ वर्षः ४८.९ प्रतिशतले, २० देखि २४ वर्षः १३.८ प्रतिशतले र २५ भन्दा माथि ४.९ प्रतिशतले पहिलो चोटी लागुऔषध सेवन गर्दछन् र हाल १५ वर्ष कम उमेरकाले १.४ प्रतिशत, १५ देखि १९ वर्षकोले १९.९ प्रतिशत, २० देखि २४ वर्षकोले ३३.२ प्रतिशत, २५ देखि २९ वर्षकोले २२.४, ३० देखि ३४ वर्षकोले १३.७ प्रतिशत, ३५ देखि ३९ वर्षकाले ५.७ प्रतिशत र ४० देखि माथिकाले ३.७ प्रतिशतले लागुऔषधमा निर्भरता भइ जीवन बिताइरहेका छन् । धेरैजसो लागुऔषध प्रयोगको शुरुवात बिद्यालय वा क्याम्पसबाट हुने गर्दछ।

६ देखि १० कक्षाका ४१.९ प्रतिशतले विद्यार्थीहरू र ३४.२ प्रतिशत एसएलसी सर्टिफिकेट लेवलदेखि लागुऔषध लिने गर्दछन् । लागुऔषध त्यस्तो खतरनाक चिज हो जसले जस्तोसुकै व्यक्तिको जीवन लागुऔषधमा निर्भरता बनाउछ।

शिक्षित, अशिक्षित, धनी, गरीब, कुनै वर्ग, जाति, लिङ्ग भन्ने हुँदैन। जस्तोसुकै व्यक्तिको पहिचान सकारात्मकबाट नकारात्मक बनाउँछ। जति नै सभ्य समाज भए पनि असभ्य बनाउँछ।

(लेखक भक्तपुर बहुमुखी क्याम्पसका सह–प्राध्यापक हुन् ।)

प्रतिक्रिया दिनुहोस्