भूकम्पपीडितले कहिलेसम्म ज्यान गुमाउने सरकार ?

न्यानो आवास नपाउँदा ३६ जनाको मृत्यु



जाजरकोट ।

भूकम्पले घर क्षतिग्रस्त भएपछि त्रिपालमुनि बसेका नागरिकको चिसोका कारण मृत्यु हुने गरेको छ। भूकम्पपीडितले जाडोको समयमा न्यानो आवास नपाउँदा चिसोकै कारण मृत्युवरण गर्नुपरेको हो।

भूकम्प प्रभावित क्षेत्रमा सरकारको पुनर्निर्माण कार्य प्रभावकारी हुन नसक्दा भूकम्पपीडितहरू अकाल मृत्युवरण गर्न बाध्य भएका हुन्। भेरी नगरपालिका–१ रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विकको शनिबार बिहान चिसोका कारण मृत्यु भएको छ।

घर भत्किएर क्षति भएपछि त्रिपालमुनि रहँदै आएका र परिवारको सहारा बनेका कर्णबहादुर बिरामी भएपछि जाजरकोट अस्पतालमा उपचारका लागि ल्याइएको थियो। जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली प्रदेशस्थित प्रदेश अस्पातलमा उपचारका क्रममा मृत्यु भएको हो।

चिसोका कारण भूकम्पपछि जाजरकोटमा ३१ र रूकुम पश्चिममा ५ गरी जम्मा ३६ जना सुत्केरी, बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीले ज्यान गुमाएका छन्।

अस्थायी आवासका लागि रकम निकासा गर्न लाभग्राहीको बैंक र पालिकामा भीड लाग्ने गरेको छ। तत्काल भूकम्पपीडितलाई त्रिपालबाट अस्थायी आवासमा सार्ने भने पनि दुई महिना बित्दासमेत रकम नपाउँदा नागरिकले त्रिपालमुनि कष्टकर रात बिताउन बाध्य हुँदै आएका छन्।

भूकम्पले घरवारविहीन भएका नागरिकले चिसो मौसममा न्यानो आवास पाउन सकेका छैनन्। सरकारले छिटै त्रिपालबाट अस्थायी आवासमा सार्न जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम स्थानीय तहले बुझाएको लाभग्राहीको विवरणअनुसार सम्बन्धित पालिकाको विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरे पनि लाभग्राहीले हालसम्म रकम पाउन नसक्दा त्रिपालमुनि रात बिताउन बाध्य छन् ।

सातवटा पालिकामा ३५ हजार १ सय ४० लाभग्राही कायम भएपछि जिल्ला विपद् व्यवस्थापन कोषबाट ८४ करोड ९५ लाख ७५ हजार निकासा भएकोमध्ये अस्थायी आवासका लागि २४ हजार ४ सय ८६ जना लाभग्राहीले अस्थायी आवासका लागि सम्झौता गरेका छन् भने १६ हजार ८ सय ४१ जनाले पालिकाबाट अस्थायी आवासका लागि पहिलो किस्ता रकम प्राप्त गरेका छन् ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिकाले ४२ करोड १० लाख २५ हजार रुपियाँ लाभग्राहीलाई पहिलो किस्ता वितरण गरिसक्दा ९ हजार १ सय ६९ वटा अस्थायी आवास निर्माण भएका छन्।

भेरी नगरपालिका–१२ का नरबहादुर भनारीले भन्नुभयो– ‘अस्थायी आवासको रकम निकासा लिन आउन थालेको एक हप्ता भयो निकासा भएको छैन छिटो रकम लिन पाए अस्थायी आवास बनाउने थिएँ । घर चिराचिरा परेपछि परिवार भित्र पस्न डराउँछन् । समयमा रकम पाउन पाए चिसो मौसममा परिवारलाई न्यानो बनाउन सकिन्थ्यो कि ?’

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले सरकारबाट जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम स्थानीय तहको विपद् व्यवस्थापन कोषमा पठाइसकिएको र स्थानीय तहले वितरण गर्न थालेको बताउनुभयो।

यता, भेरी नगरपालिकाले सरकारको मापदण्डअनुसार अस्थायी आवास पक्की तथा कच्ची घर निर्माण गरे सेवासुविधाबाट वञ्चित गर्ने सूचना जारी गरेको छ।

अस्थायी आवास निर्माणका लागि सरकारबाट आएको रकम पालिका र बैंकको ढिलासुस्तीका कारण भूकम्पपीडितले त्रिपालमुनि रात बिताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्