राष्ट्रिय सभा निर्वाचनका लागि ५२ जनाले दिए उम्मेदवारी



काठमाडौं ।

१९ सिटका लागि हुन लागेको राष्ट्रिय सभाको निर्वाचनका लागि ५२ जनाले उम्मेदवारी दिएका छन्। सातवटै प्रदेशको सदरमुकाम रहेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयमा ८ वटा राजनीतिक दलको तर्फबाट सो संख्यामा उम्मेदवारी परेको हो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो। आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट ५ जनाको मनोनयन दर्ता भएको छ।

मधेस प्रदेशमा पनि महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।

त्यसै गरी वागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

बिहान १० देखि दिउँसो ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिएको थियो । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ।

पुस २५ र २६ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ। उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सम्पन्न हुने आयोगले जनाएको छ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते १० बजे बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुनेछ ।

नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको यही फाल्गुणमा पदावधि समाप्त हुने भएको छ।

२०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेको हो । यही माघ ११ गते राष्ट्रिय सभाको निर्वाचनमार्फत् त्यसको पूर्ति गरिने छ।

त्यसै गरी निर्वाचन प्रयोजनका लागि १२ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्।गत वर्ष भएको संसदीय निर्वाचनमा समानुपातिकतर्फ पाएको मतको आधारमा आयोगमा दर्ता भएका दलहरूको क्रम निर्धारण गरिएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल समाजवार्दी पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्