सन्दर्भ : पृथ्वीजयन्ती

आधुनिक नेपालको निर्माणमा त्रि–नरेशको सम्झना



काठमाडौं ।

राष्ट्रनिर्माणका क्रममा पृथ्वीनारायण शाहका समकालीन राजनेता जर्ज वासिङ्टन संयुक्तराज्य अमेरिकाका प्रथम राष्ट्रपति नेपालका पृथ्वीनारायण जस्तै अमेरिकाका राष्ट्रनिर्माता हुन्।

उनले अमेरिकालाई ब्रिटिस उपनिवेशवादबाट मुक्त गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई अमेरिकाका राष्ट्रनिर्माता मानिन्छ।

आधुनिक नेपालको निर्माणात्मक इतिहासमा समय समयका कालखण्डहरूमा राष्ट्र र समाजले अत्यन्त महत्वपूर्ण सम्झनायोग्य युग द्रष्टा र युग स्रष्टाहरूको जन्म गराएको छ।

हामी नेपाली धेरै नै अग्ला छौँ। हामी हाम्रा वीरशाली र बलशाली पुर्खाहरूले निर्माण गरेको जगको काँधमा टेकेर सगौरव विश्वसामु उभिएका छौँ। यो राष्ट्रलाई यहाँसम्म ल्याउनमा हाम्रा ती पुर्खाहरूले गरेको योगदान असाधारण र तारिफयोग्य छ।

यी सबैको साझा मियो बनेर नेपाल एकीकरणका परिकल्पनाकार महानायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह उदाएका थिए। कुनै पनि राष्ट्रमा गुणग्राही मानिसहरूको जन्म बिरलै हुने गरेको छ। राष्ट्रमा विशिष्ट विभूति एवम् प्रतिभाहरू जन्मनु सारको कुरा होइन। संयोगको कुरा मात्र हो।

पृथ्वीनारायण शाह पनि यही संयोगका उपज थिए। त्यसैले, इतिहासको त्यो वैभवशाली विरासत र वर्तमान कालखण्डमा समेत हरेक वर्ष आउने पुस महिनाको प्रसंग र महिमा नेपाल राष्ट्रनिर्माणको लागि गुणग्राही विभूति रत्नहरूको सम्झना सम्मान संस्मरण एवम् अद्वितीय योगदानको मूल्याङ्कन गर्ने महिनासमेत हो।

नेपालका राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको जन्म वि.सं. १७९९ साल पुस २७ गते गोरखा दरबारमा भएको थियो भने शान्तिप्रेमी एवम् नेपाली जनताका माझ अत्यन्त लोकप्रिय नरेश श्री ५ वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते नारायणहिटी राजदरबारमा भएको हो। श्री ५ वीरेन्द्र देशभित्र मात्र हैन अन्तर्राष्ट्रिय जगत्मा समेत अत्यन्त सम्मानित राष्ट्र–प्रमुखका रूपमा परिचित थिए।

यस्तै, २००७ सालको राजनीतिक परिवर्तनपश्चात् प्राप्त संसदीय शासन व्यवस्था २०१७ सालमा असफल भएपछि २०१९ साल पुस १ गते जारी भएको नेपालको संविधान २०१९ श्री ५ महेन्द्रद्वारा घोषणा गरिएको थियो।

त्यसैले, यसै अवसरको संयोगलाई जोडेर हरेक वर्ष पुस १ गतेलाई श्री ५ महेन्द्र जयन्ती तथा संविधान दिवसको रूपमा राष्ट्रले २०४६ सालसम्म मनाउँदै आएको थियो।

देशमा संघीय गणतान्त्रिक शासन लागु भएपछि बिना अध्ययन पुस १४ र २७ गतेको सार्वजनिक बिदालाई समेत कटौती गरियो। तर, व्यापक जनदबाबको कारण गतवर्षदेखि श्री ५ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

यद्यपि, श्री ५ महेन्द्रको जन्म वि.सं. १९७७ साल जेठ ३० गते नारायणहिटी राजदरबारमा भएको हो। नेपालको इतिहासमा लिच्छविकालीन शासन प्रणालीदेखि समग्र अध्ययन गर्ने हो भने धेरै प्रतापी राजाहरूको जन्म भएको छ, तर आधुनिक नेपालको निर्माण गर्नमा श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र श्री ५ वीरेन्द्रको अद्वितीय र अतुलनीय योगदान रहेको छ।

नेपालको एकीकरण अभियान यात्रामा पृथ्वीनारायण शाहको सबल नेतृत्वमा धेरै वीरसपुतहरूको योगदान रहेको छ । यसकारण आधुनिक नेपालको इतिहासबाट यी तीनजना देशभक्तिका उपासक श्री ५ हरूको नाम झिकीदिने वा हटाईदिने हो भने के नै बाँकी रहन्छ र ? यस अर्थमा पृथ्वीनारायण शाहले सिङ्गो राष्ट्रको निर्माण गरे भने श्री ५ महेन्द्रको आधुनिक नेपालको विकासका यावत पूर्वाधार निर्माण गर्नमा महत्वपूर्ण योगदान रह्यो।

देशमा दिगो विकासका पूर्वाधार निर्माण गर्नु, अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको पहिचानलाई सगौरव प्रस्तुत गर्नु एवम् देशमा राष्ट्रियता र देशभक्तिको भावना प्रबल रूपमा उजागर गर्नु जस्तै – म मरे पनि मेरो देश बाँचिरहोस्।

यस अर्थमा नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचित गराउनमा श्री ५ महेन्द्रको योगदानसमेत अद्वितीय रहेको छ। उनले देशमा निर्माण गरेका राजमार्गहरू, कलकारखाना, उद्योगधन्दा, शिक्षण संस्थाहरू, सार्वजनिक प्रतिष्ठान र औद्योगिक संरचनाहरू समाजवादी अर्थतन्त्रका औजारहरू थिए, तर लोकतन्त्र गणतन्त्रका मतियारहरूले यी सबै संरचना ध्वस्त बनाए।

त्यसैले त्रिभुवन विश्वविद्यालयमा इतिहासका प्राध्यापक एवम् उत्कृष्ट इतिहासकार डा. त्रिरत्न मानन्धरको उद्गार सम्झने हो भने श्री ५ महेन्द्र नेपालको इतिहासका एक युगपुरुष हुन् । जसलाई नेपाल र नेपालीले सधैं सम्झिरहने छन्।

आधुनिक नेपालको निर्माणसँगै तीनजना नेपाली युगपुरुषको नाम लिनु पर्‍यो भने सर्वश्री पृथ्वीनारायण शाह, श्री ३ जङ्गबहादुर राणा र श्री ५ महेन्द्रको नाम लिइन्छ । जसमा राष्ट्रनिर्माणको सवालमा प्रयोग हुने सबै आधार र क्षमता उनीहरूमा विद्यमान थिए।

यस दृष्टिकोणमा श्री ५ पृथ्वीनारायण शाहपश्चात् उनका उत्तराधिकारी बहादुर शाह र श्री ५ राजेन्द्रलक्ष्मीले सिङ्गो राष्ट्रको निर्माण गरे भने श्री ३ जङ्गबहादुरले प्रशासनिक आधारमा नेपालको एकीकरण गरे।

यस्तै, श्री ५ महेन्द्रद्वारा पृथ्वीनारायण शाह र जङ्गबहादुरले निर्माण गरेको राष्ट्रको जगमा उभिएर आधुनिक विकासका समस्त पूर्वाधारहरूको निर्माण आफ्नो सबल शासनकालमा गरे।

श्री ३ जङ्गबहादुरले आफ्नो कलाकौशल र क्षमताद्वारा वि.सं. १८७२ को सुगौली सन्धिमा गुमेको नेपालको विशाल भूभाग बाँके, वर्दिया, कैलाली र कञ्चनपुर पुरस्कारस्वरूप अङ्ग्रेज सरकारबाट फिर्ता ल्याए, जसलाई आज नयाँ मुलुक भनेर सम्बोधन गरिन्छ।

यसकारण उच्च राष्ट्रभक्तिको चिन्तन बोकेका जङ्गबहादुरलाई नयाँ मुलुकको नामले पछिसम्म पनि नेपाली जनताले सम्झिरहने छन् । नेपालको प्रशासनिक विभाजन मात्र हैन, राष्ट्रको साँध सीमा निर्माणमा उनको अतुलनीय योगदान रहेको छ।

उनले साँध सिमानामा जङ्गेस्तम्भको निर्माण गरे, जसलाई वर्तमान सरकारले संरक्षण गर्न सकिरहेको छैन । नेपालको साँध सिमाना र जङ्गे पिलरमाथि भारतीय सरकारले बारम्बार हस्तक्षेप गर्दा पनि प्रचण्ड नेतृत्वको निकम्मा सरकार आत्म समर्पणवादमा रमाउँदै मोदी शासकसमक्ष लम्पसार भएको छ।

आज राज्यले अङ्गीकार गरेका दर्जनौँ दर्जन गलत नीति, गलत प्राथमिकीकरण, वितरणमुखी वित्तीय प्रणाली, चरम रूपमा बढ्दो भ्रष्टाचार, कमजोर कार्यक्षमता र बिगँ्रदो सुशासनका कारण नयाँ संविधान घोषणा भएपछि पनि सार्वजनिक रूपमा मुलुकको अवस्था दिनप्रतिदिन झन्झन् जर्जर बन्दै गएको छ । जहाँ जनताले परिवर्तनको गन्धसमेत महसुुस गर्न नसकेको अवस्था छ।

कथित लोकतान्त्रिक टोपीभित्रको चिन्तन एवम् दृष्टिकोण अत्यन्त अलोकतान्त्रिक, अपारदर्शी, कुशासनमैत्री तथा चरम निजी स्वार्थले भरिएको कारण आज देशले यो दुर्दशा भोग्नु, परेको हो।

पछिल्ला चरण पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारको एक वर्षको कार्यकाललाई मूल्याङ्कन गर्दा चरम मूल्यवृद्धि, बेरोजगारी मुद्राको क्रयशक्तिमा ह्रास, अनियन्त्रित बजार, उच्च साधारसण खर्च, घट्दो अनुदान, अति न्यून राजस्व संकलन, न्यून प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रमा प्रवाह हुने लगानीयोग्य रकमको अभाव एवम् देशको अर्थतन्त्रका जानेसुनेका सबैजसो खराबी र नकारात्मक सूचकहरू यो सरकारले नेपाली जनतालाई एक वर्षमा दिएको विकृतिपूर्ण उपहार हो।

आजभोलि नेपाली समाजले दैनिकी रूपमा भोगिरहेकै छ। आजका नालायकि सत्ताधारीहरूको सन्दर्भमा पृथ्वीनारायण शाहमा युगपुरुषको गहन सोच र व्यवस्थापकीय क्षमता थियो।

उनका दिव्योपदेशमार्फत् प्राप्त विचार दर्शन आजको गणतान्त्रिक युगमा समेत उत्तिकै मननयोग्य र सबै विचारहरूका लागि पनि प्रेरणापुञ्ज रहेका छन् । तर, नेपालको इतिहासमै सबैभन्दा बढी कलङ्कित र असफल प्रचण्ड सरकारले वितेको एक वर्ष सर्वत्र निराशा मात्र दिन सफल भयो । जसलाई पृथ्वीनारायण शाहको दिव्योपदेशले कही कतै छुँदैन।

पृथ्वीनारायण शाहले साझा फुलवारीको रूपमा निर्माण गरेको यो राष्ट्रमाथि अरुलाई दोष देखाएर नेपाल र नेपालीको मौलिक पहिचानलाई अस्तित्वविहीन, पहिचानरहित बनाउनमा सरकारको नेतृत्व उदत्त रहेको छ।

आफ्नो अस्तित्व मेटाउन संस्कृतिमन्त्री सुदन किराँती जस्ता जातीय विभाजनको नाउँमा हालै बोलेको अनुशासनहीन कथित भाषणले पनि यस तथ्यलाई पुष्टि गर्दछ।

विसं २००७ सालको परिवर्तनपछि २०१७ देखि २०२८ सालसम्म पञ्चायतकालको झण्डै ११ वर्षको सक्रिय शासनकालमा श्री ५ महेन्द्रबाट भएका कार्यको एक प्रतिशत पनि काम लोकतन्त्र कालको ३४ वर्षमा हुन सकेको देखिँदैन भनियो भने राजनीतिलाई जीविका बनाउनेहरूले यसको खण्डन गर्नसक्ने सामाथ्र्य छैन ।

यस्तै, किटानीका साथ भन्न सकिन्छ मधेस र मधेसीहरूका पक्षमा श्री ५ महेन्द्रबाट जति काम भयो त्यसको १० प्रतिशत काम पनि बहुदलपछि यो ३४ वर्षमा कुनै शासकबाट हुन सकेन।

उदाहरणको रूपमा मेचीदेखि महाकालीसम्मको एक हजार ३२ किमि महेन्द्र राजमार्गलाई लिन सकिन्छ। तर, दुःखको कुरा आफू सत्तामा भएको बेला मधेस केन्द्रित जनतालाई लक्षित गरेर एउटा वरफ उद्योगसमेत खोल्न नसक्ने मधेसका मठाधीसहरूका साथै आज लाजै नमानी पञ्चायती दानापानी खाएर हुर्केका केही नेताहरू जस्ता देशद्रोहीहरू श्री ५ महेन्द्रलाई मधेस विरोधी भनेर गालीगलौज गर्दै भ्रम सिर्जना गर्ने काम गरिहेकै छन् ।

स्मरणरहोस् श्री ५ महेन्द्र एउटा शासक मात्र नभए अन्तर्राष्ट्रिय स्तरको राजनेता पनि हुन्। यी दुवै गुण उनीमा थिए।

पूर्वीय दर्शनका ज्ञाता एवम् प्रकाण्ड विद्वान मदनमणि दीक्षितले आफ्नो पछिल्लो पुस्तक देशभक्त राष्ट्रपिता श्री ५ महाराजा महेन्द्रप्रति राष्ट्र, राष्ट्रियता र नेपाली समाजको स्वरूपलाई सम्बोधन गरेर लेखेका छन् – दलविहीनताको कारणले त्यसको प्रवर्तक राजा महेन्द्रसित मेरो गम्भीर मतभेद रह्यो। त्यसकारण उहाँको जीवन रहुन्जेल मैले उहाँको प्रशंसा गर्न मिलेन अन्यथा राजा महेन्द्रको राष्ट्रिय स्वाधीनताको नीति, देशमा पञ्चवर्षीय योजनाको प्रारम्भ, मुलुकको स्वाधीन परराष्ट्रनीति, भूमिसुधार कार्यक्रम, मुलुकलाई १४ अञ्चल ७५ जिल्लामा वैज्ञानिक विभाजन, मुलुकी ऐनमा सुधार तथा पूर्वपश्चिम नेपालको विकास निम्ति राजमार्ग योजना आदि प्रमुख योगदानबारे राजा महेन्द्रको नीतिसित मेरो सहमति रहेको थियो। मैले प्रशंसा पनि गरेकै हुँ।

मदनमणिको अध्ययनमा २०१७ सालको राजनीतिक परिवर्तनपछि मात्र नेपाल भारतीय हस्तक्षेपबाट मुक्त भई एउटा स्वतन्त्र राष्ट्रको रूपमा रहेको हो। उता, श्री ५ महेन्द्रद्वारा निर्माण गरिएका राष्ट्रका यावत संरचनाहरूलाई समयानुकूल दरो रूपमा अघि पढाउन नसके पनि नेपाल र नेपालीको शानलाई अन्तर्राष्ट्रिय रङ्गमञ्चमा सगौरव परिचित गराउनमा श्री ५ वीरेन्द्रद्वारा खेलेको भूमिकाको अतुलनीय योगदान छ।

उनीद्वारा प्रस्तावित नेपालको शान्ति क्षेत्रको प्रस्तावप्रति विश्वका शक्तिशाली एवम् सम्पन्न असम्पन्न ठूला साना गरी ११६ राष्ट्रले शान्ति क्षेत्र प्रस्तावलाई समर्थन गरेका थिए। तर, नेपालप्रति सधैं नकारात्मक दृष्टिकोण राख्ने छिमेकी भारतले समर्थन गरेन्।

राष्ट्रनिर्माणका क्रममा पृथ्वीनारायण शाहका समकालीन राजनेता जर्ज वासिङ्टन संयुक्तराज्य अमेरिकाका प्रथम राष्ट्रपति नेपालका पृथ्वीनारायणजस्तै अमेरिकाका राष्ट्रनिर्माता हुन्। उनले अमेरिकालाई ब्रिटिस उपनिवेशवादबाट मुक्त गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका कारण उनलाई अमेरिकाका राष्ट्रनिर्माता मानिन्छ।

उनी सन् १७८९ देखि १७९७ सम्म अमेरिकाको राष्ट्रपति रहेका थिए। त्यसैले भारतका महात्मा गान्धी, रुसका लेलिन, जर्मनका विष्मार्क इटालीका जोसेफ टुची र चीनका माओत्सेतुङले जस्तै आफ्नो राष्ट्रलाई दिएको योगदानसँग आधुनिक नेपाल एकीकरणका राष्ट्रनिर्माण पृथ्वीनारायको योगदान तुलनायोग्य छ।

उनको परिभाषामा चारजात छत्तिस वर्णको साझा फूलबारी नै आधुनिक नेपालको यथार्थ पहिचान हो। त्यसैले इतिहासको लोप भयो वा सम्मान मूल्याङ्कन भएन भने मानव सभ्यताको बत्ती निभ्छ यो उद्गार त्यसै भनिएको हैन।

तथापि, पृथ्वीनारायण शाहले राज्यविस्तार होइन राष्ट्रको एकीकरण गरेको हुनाले उनको भावनात्मक व्यक्तित्व अत्यन्त उदार थियो । तत्काल जय–पराजयको भन्दा पनि सवाल नेपाल एकीकरणको लक्ष्यमा आधारित थियो।

यसको एउटा समतामूलक उत्कृष्ट पक्ष एकीकरणपश्चात् राज्यको नामकरण गर्ने क्रममा आफू जन्मे हुर्के र बढेखेलेको राज्य गोर्खाको नाम नराखी आफैंद्वारा पराजित राज्यलाई देशको राजधानी घोषणा गरेबाट उनको सही विचार प्रष्ट हुन्छ।

सबै प्रजा समान हुन्। सबैले आ–आफ्नो धर्मसंस्कृति र कलाको रक्षा गर्नु एवम् मान्यता दिनु भन्दै राष्ट्रियताप्रति संवेदनशील रहेको तथ्य आज पनि उत्तिकै महत्व दिव्योपदेशले पुष्टि गरेको छ।

पृथ्वीनारायण शाहले जहाँजहाँ विजय प्राप्त गरे ती इलाकाहरूमा त्यहाँको सामाजिक संरचनामा खलल नहोस् भन्ने उद्देश्यले स्थानीय व्यक्तिहरूको चाहना र भावनाअनुरूप शासन सुम्पेका थिए।

तत्काल सिङ्गो र प्रभावकारी राष्ट्रको निर्माण गर्नुपर्छ भन्ने सोच राख्ने पृथ्वीनारायण शाह लोकजनमतमा विश्वास राख्ने आधुनिक नेपाल राष्ट्रको निर्माण गर्ने विराट व्यक्तित्वको योगदानलाई नकरात्मक रूपमा प्रस्तुत गर्न खोज्नु एउटा देशभक्त नेपालीको किमार्थ धर्म होइन।

आफ्ना अग्रजहरूको योगदानको सम्मान नगर्नेहरूले सधैं इतिहासलाई सरापेरमात्र देशको विकास सम्भव छैन। इतिहासको एक कालखण्डमा एसियावासीहरू पराधीन हुँदै गइरहेको अवस्थामा पृथ्वीनारायण शाह भने एक अखण्ड राष्ट्रको परिकल्पनामा आफ्नो स्वतन्त्र अस्तित्वलाई बचाई राख्न सङ्कल्पित थिए।

गोरखा दरबारमा जन्मेका पृथ्वीनारायण शाहको देहावसान ५२ वर्षकै कलिलो उमेरमा वि.सं. १८३१ माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाटमा भएको हो।

त्यसैले, राष्ट्रिय अन्तर्राष्ट्रिय वीरपुरुष र विद्धानहरूले समेत सर्वाधिक प्रशंसा र श्रद्धा गरेका पृथ्वीनारायण शाह नेपाली राष्ट्रका अमूल्य निधि हुन्।

प्रतिक्रिया दिनुहोस्