तपाईंको आफ्नो र व्यवसायको बारेमा बताइदिनुहोस् ।
मेरो जन्म काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिर नजिकै भएको हो । हामी चार परिवार सदस्य भएको सानो परिवार थियो । बुवा र आमा मिलेर यस व्यापारलाई चलाउनुहुन्थ्यो । त्यतिबेला भोजपुर संखुवासभाबाट काठमाडौंसम्म सडक नभएकोले बुवाले व्यापारका लागि रुद्राक्ष तथा अन्य माला इन्डियाको बनारसबाट लिएर आउनुहुन्थ्यो । २०४६ साल अघिसम्म पशुपतिमा निकै कम संख्यामा यस्ता पसलहरू थिए । अहिले यस्ता पसलहरू मन्दिरमा मात्र नभएर मलहरूमा पनि देख्न पाइन्छ । करिब २० वर्ष अगाडि पशुपति विकास कोषद्वारा मन्दिर अगाडिको घर तथा पसलहरू हटाइयो । जसले गर्दा हाम्रो व्यवसाय खोसियो । मैले बी कम र कम्प्युटरमा इकमर्स तथा सफ्वेरमा डिप्लोमा गरेको थिएँ । समस्याले नै अवसर लाउने हुनाले मैले यस व्यवसायलाई अनलाइनमार्फत लैजाने निधो गरेँ ।
यस व्यवसायलाई अनलाइन लैजाँदा कस्ता चुनौती सामना गर्नुभयो ?
रुद्राक्ष धार्मिक वस्तु मात्र नभई यो एक बृहत् विषय हो । यसमा मुखी, आकार, प्रकार इत्यादिको जानकारी ग्राहकलाई दिनको लागि मैले विभिन्न धार्मिक पुस्तक, साधु सन्तसँग कुराकानी, आफ्नो गुरु, बुबाहरूसँग सिकेको कुरा संकलन गरे । त्यसपछि अनुवाद गरेर अंग्रेजीमा तस्वीरसहित वेबसाइटमा राखेर अहिले जस्तो काठमाडौँमा वेब होस्ट गर्ने सुविधा थिएन । एक साथीको सहयोगले इन्डियाबाट यसलाई खोलिएको थियो । तस्वीरलाई कम्प्युटरमा अपलोड गर्न पनि निकै गाह्रो थियो । खिचिएको तस्वीरलाई स्क्यान गरेर फल्पी डिक्समा कपी गरेर मात्र राख्न सकिन्थ्यो। त्यस बेलामा वेब साइटमा खरिद–बिक्री गर्न मिल्दैन थियो । यसको प्रयोग आफ्नो तथा वस्तुको जानकारी फैलाउनका लागि गरिन्थ्यो । अहिलेको तुलनामा प्रयोगकर्ता पनि कम भएको हुनाले निकै मिहिनेत गर्नुपरेको थियो ।
यस क्षेत्रका चुनौती र अवसर कस्ता छन् ?
यसमा प्रशस्त अवसर छ । पहिले यसलाई हिन्दूहरूले मात्र प्रयोग गर्थे । तर, आज चाइनिजदेखि लिएर अन्य देशका मानिसले प्रयोग गरिरहेका छन् । यसको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । यो राम्रो अवसर हो । विशेषगरी, हाम्रो बजार भनेको इन्डिया र चीन हो । कुनै पनि व्यवसायको सफलताको लागि धैर्यता, परिश्रम नैतिकता र प्रविधि चाहिन्छ । तर, छिटो धन आर्जन गर्न रुद्राक्षमा ज्ञान नभएका वा जसरी पनि आफ्नो लाभका लागि नक्कली दानासमेत बेच्ने कार्य देखिन थालेको छ । अझ यस व्यवसायमा ठूलो समस्या विगत केही वर्षअघिदेखि रुद्राक्षमा औषधि प्रयोग गरी आकार बढाउने, क्याप प्रयोग गरी आकार परिबर्तन गर्नेजस्ता कार्य हुँदै आइरहेको छ । तर, अहिले रुद्राक्ष व्यवसायी संघले यसलाई नियन्त्रण गर्न सफल भएको छ । अझै पनि बजारमा लाइन थपेर धेरै मुखी बनाएका, जोडेका आदि रुद्राक्ष पाइन्छन् । यसलाई कानुन बनाएर नै नियन्त्रण गर्नुपर्छ ।
सक्कली र नक्कली रुद्राक्ष कसरी चिन्न सकिन्छ ?
यसलाई चिन्ने तीन तरिका छन् । जान्ने मानिसले हेरेर नै चिन्न सक्छ । हरेक रुद्राक्षको बनोट उस्तै देखिए पनि सक्कली भएकोले भिन्न हुन्छ । एक्सरे गरेर हेर्दा भित्र रहेको खण्डहरू र बाहिरको मुखीको संख्या गन्दा बराबर हुनुपर्छ । यदि, कसैले काटेको छ भने रङ फरक आउँछ । सक्कली रुद्राक्षले प्रयोग गरेको केही समयपछि रंग परिवर्तन गर्छ भने नक्कलीले गर्दैन ।
तपाईंको कम्पनीको बारेमा बताइदिनुहोस् ।
नेपा रुद्राक्षको सुरुआत म जन्मिनुभन्दा अगाडि देखि नै भइसकेको थियो । मेरो बुवा–आमाले शुरु गर्नुभएको हुनाले सानै उमेरदेखि नै रुद्राक्षको समिपमा हुर्कने अवसर पाएँ । त्यसपछि सन् १९९९ देखि कम्पनीलाई अनलाइनमा लगी कारोबार शुरु गरिएको हो । नेपा रुद्राक्षलाई ग्राहकहरूले सक्कली रुद्राक्ष उचित मूल्यमा पाउने स्थानको रूपमा लिन्छन । हामी ग्राहकहरूको आवश्यकताअनुसार हरेक प्रकारको रुद्राक्ष विभिन्न आकर्षक डिजाइनमा उपलब्ध गराउछौँ । कम्पनीले वैधिक परम्पराअनुसार रुद्राक्ष लगाउनुभन्दा अगाडि गरिने प्राणप्रतिष्ठा तथा कुन रुद्राक्ष लगाउने सुझाव जस्ता सेवा पनि उपलब्ध गराउँछ । हामीसँग हरेक प्रकारका रुद्राक्ष उपलब्ध छन् । ग्राहकको सन्तुष्टिका लागि हामी हरेक रुद्राक्षको सर्टिफिकेट एक्सरे तथा ग्यारेन्टीको उपलब्ध गराउछौँ ।
तपाईंको कम्पनीमा कति जनाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ?
नेपा रुद्राक्षमा प्रत्यक्ष रूपमा १५ जना कर्मचारी छन् । यसमा विगत २५ वर्षदेखि निरन्तर काम गरेका अनुभबी मानिसहरू मात्र नभइ अहिले भर्खरका युवाहरू पनि छन् । विशेषगरी नयाँ पुस्ताले कम्प्युटरसम्बन्धी, फोटोग्राफी, वेबसाइट बनाउनेजस्ता कार्य गर्छन् । पुराना पुस्ताले माला बनाउने, कार्यालय व्यवस्थापन गर्ने कार्य गर्दछन् । अप्रत्यक्ष रूपमा हामी रुद्राक्षका विभिन्न मालाहरू बनाउने, रुद्राक्षलाई सफा बनाउने, जिल्लाहरूमा यसलाई संकलन गर्नमा कर्मचारीको प्रयोग गर्छौं । त्यस्ता मानिसहरू ५० भन्दा धेरै हुन्छन् ।
अहिले रुद्राक्ष प्रयोग तथा व्यवसायको अवस्था कस्तो छ ?
अहिले रुद्राक्षको बारेमा जनचेतना बढ्दै गइरहेको छ । पहिले यसलाई जोगीहरूले मात्रै प्रयोग गरिने वस्तुको रूपमा लिइन्थ्यो भने अहिले यसलाई हिन्दूहरूले मात्रै नभई अन्य धर्मावलम्बीहरूले पनि प्रयोग गर्न थालेकाले बजार विस्तार भइरहेको छ । ज्योतिषीय परामर्शद्वारा पनि रुद्राक्षको उपयोग बढ्दै गएको छ । ध्यान गर्न, जप गर्न, नराम्रो ग्रहदशा कटाउन, प्रसादको रूपमा पनि यसलाई प्रयोग गरिन्छ । अन्य देशका मानिसहरूले हिन्दू धर्मसँग प्रभावित भएर यसलाई प्रयोग गर्छन् । चाइनिजहरू भने यसलाई ब्रासलेटको रूपमा प्रयोग गर्छन् । उनीहरू एकै साइज, रंग र मुखका रुद्राक्ष प्रयोग गर्छन् । ३ मुखेदेखि १३ मुखीसम्म उनीहरूको विशेष रुचि हुन्छ । आजकल सिजनमा ३ हजारको हाराहारीमा खाँदबारी तथा आसपासका क्षेत्रमा उनीहरूलाई देख्न सकिन्छ । इन्डियनहरूले भने साधना, ध्यान, जप, इच्छा सिद्धिका लागि विभिन्न प्रकारको रुद्राक्ष प्रयोग गर्दछन् । आजकल नेपाली युवापुस्तहरूले पनि विगतको तुलनामा यसको प्रयोग बढाएका छन् । यसबाट पनि रुद्राक्ष व्यवसाय राम्रो अवस्थामा रहेको पुष्टि हुन्छ ।
कम्पनीको अवस्था र मुख्य बजार बारेमा बताइदिनुहोस् ।
नेपा रुद्राक्ष एउटा पुरानो तथा पुस्तौनी व्यवसाय हो । हामी तीन पुस्तादेखि यसै व्यवसायमा आबद्ध छौँ । मेरा पिताले शुरु गर्नु भएको यस व्यवसायलाई मैले अनलाइनमा लगे भने विगत केही वर्षदेखि हामीले यसलाई अन्य मुलुकहरूमा पनि लैजाने जमर्को गर्दैछौँ । यसमा मेरो छोराले पनि साथ दिइरहेको छ । जसको फलस्वरूप केही वर्ष अघि देखि अमेरिकामा पनि फिजिकल स्टोर खोल्न सफल भएका छौँ । हाम्रो लक्ष्य निकट भविष्यमा भारतका केही शहरहरूमा पनि खोल्ने योजना छ ।
हाम्रो ग्राहक भारतीयहरू नै हुन् । विभिन्न देशहरूमा छरिएर रहेका भारतीयहरू नै यसका प्रयोगकर्ता हुन् । अहिले भारत पहिलो र चाइना दोस्रो बजार हो । नेपा रुद्राक्षले वैदिक ज्ञान प्रयोग गरी रुद्राक्ष बिक्री वितरण गर्ने हुनाले हाम्रो ग्राहक विशेष गरी हिन्दू धर्मावलम्बीहरू नै छन् ।्
नयाँ प्रयोगकर्ताले रुद्राक्ष कसरी छनोट गर्ने ? के सबै जनाले यसको प्रयोग गर्न सक्छन् ?
शिव पुराणको विधेश्वर समितामा शिव र पार्वतीबीच संवादमा रुद्राक्षलाई समस्त मानव कल्याणको निमित्त यसको उत्पति भएको वर्णन गरिएको छ । त्यसैले यसलाई नारी पुरुष सबैले प्रयोग गर्न सक्छन् । रत्न जस्तो यसमा नकारात्मक असर नहुने हुनाले जो कोहिले पनि यसको प्रयोग गर्न सक्छन्, तर विशेषज्ञको सल्लाहमा लगाउँदा यसको अझ बढी फाइदा हुन्छ । राशीअनुसार, दशाअनुसार, कमजोर ग्रहलाई बलियो बनाउन, आफ्नो इस्ट देवताको लागि जप गर्न, ध्यान गर्न यसको प्रयोग हुन्छ । नेपा रुद्राक्षले जन्म मितिका आधार, ग्राहकको चाहना, समस्या समाधान आदीको विचार गरेर आवश्यक रुद्राक्ष छनोट गर्न मद्दत गर्दछ । यसका लागि हाम्रो टिममा उत्कृष्ट ज्योतिष, विभिन्न किसिमका माला बनाउन अनुभबी कालिगड तथा रुद्राक्ष छनोट, प्रशोधन गर्ने विशेषज्ञ छन् ।
आफ्नो व्यवसायलाई उपभोक्तासम्म पुर्याउन के गर्नुभएको छ ?
हाम्रो उद्देश्य भनेको असली रुद्राक्ष उचित मूल्यमा आवश्यकता अनुसार ग्राहकलाई पु¥याउनु हो । हाम्रो सेवाबाट ग्राहकहरू सन्तुष्ट भएर उहाँहरूको आफन्त तथा साथीहरूलाई हाम्रो बारेमा बताइदिनुहुन्छ । लामो समयदेखि यसै व्यवसयमा हुनाले हामीलाई यस व्यवसायमा आबद्ध धेरै जस्तो मानिसहरूले हामीलाई चिन्दछन् । हामीसँग पुस्तौँदेखि हामीलाई रुद्राक्ष बेच्ने र हामीसँग किन्ने मानिसहरू आबद्ध छन् । आधुनिक जमानामा भने हामी अनलाइनमा व्यवसाय प्रवद्र्धन गर्न सर्च इन्जिन अप्टमाइजेसन, निरन्तर वेव साइटमा जानकारीप्रधान गरी, ग्राहकहरूको अनु्भव संकलन गरी गुगलमा राखेर वेबसाइटको ¥याङ्किङ बढाउछौँ । यो पनि एक प्रकारको अर्ग्यानिक मार्केटिङ हो । जसलाई ग्राहकहरूले निकै मन पराउँछन् । हाम्रो युट्युब च्यानलबाट पनि उपभोक्तालाई जानकारी दिएर आफ्नो प्रवद्र्धन गरिरहेका छौँ ।
कम्पनीको भविष्यको योजना कस्ता छन् ?
स्वदेश तथा विदेशमा रहेका भक्तजनहरूलाई सक्कली रुद्राक्ष लगाउन प्रेरित गर्दै उत्तम क्वालिटीको रुद्राक्ष उचित मूल्यमा उपलब्ध गराउने तथा कमसल तथा नक्कली रुद्राक्षलाई विस्थापित गर्ने हाम्रो प्रमुख योजना हो । जसले गर्दा रुद्राक्षको व्यवसायको आकार बढाएर विदेशी मुद्रा आर्जन गरी स्वदेशमा रोजगारीको अवसर बढ्छ । विश्वमा नेपाल र इन्डोनेसिया मात्र रुद्राक्ष पाइने हुनाले यस व्यवसायको अपार संभावना रहेको छ । नेपाली रुद्राक्ष ठुलो, राम्रो, गन्नका लागि सजिलो मात्र नभई अन्य रुद्राक्षको तुलनामा शक्तिशााली पनि भएकोले संसारभर यसको लोकप्रियता बढीरहेको छ । यस अवसरलाई उपयोग गर्ने हाम्रो प्रमुख योजना छ ।
सामाजिक उत्तरदायित्व पनि वहन गर्नुभएको छ ?
नेपा रुद्राक्ष धर्मसँग जोडिएको संस्था हो । यसले आफुले सक्ने क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्त्व वहन गर्दै आएको छ । पशुपति नजिक भएकाले यहाँ हुने मेला, जात्रामा स्थानीय क्लबहरूको माध्यमबाट सहयोग गर्दै आएको छ । हामीले असमर्थ तथा बिपन्न बालबालिका लागि शिक्षाको व्यवस्था गरेका छौँ ।
प्रतिक्रिया