म्याग्दीको बेनीमा माघेसङ्क्रान्ति मेलाको आयोजना



म्याग्दी ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौं’ भन्ने मूल नारासहित यसवर्ष म्याग्दीको सदरमुकाम बेनीमा १०औं माघेसङ्क्रान्ति मेला–२०८० हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिको आयोजनामा ३ दिनसम्म मेला लगाउने तयारी गरिएको हो ।
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रूपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलालाई निरन्तरता दिन यही पुस २९ देखि माघ १ गतेसम्म खुल्लामञ्चमा माघेसङ्क्रान्ति मेला आयोजना गरिएको महिला उद्यम विकास समिति म्याग्दीले जनाएको छ । म्याग्दी उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलनको आयोजना गरी माघेसङ्क्रान्ति मेलाको बारेमा जानकारी समेत गराइएको छ ।

उक्त मेलामा जिल्लाका सबै स्थानीय तहको कला, संस्कृति र भेषभूषाको प्रदर्शनी, स्थानीय उत्पादन कृषि उपजहरु बिक्री तथा प्रदर्शन गरिनुका साथै अर्ग्यानिक उत्पादनका स्टलहरु राखिने महिला उद्यम विकास समिति म्याग्दीका सभापति अम्बिका श्रेष्ठले बताइन् । यसैगरी मेलामा स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटनको प्रवर्द्धन, खुल्ला सामूहिक नृत्य, एकल महिला नृत्य, परम्परागत खानाको परिकार तथा माघेसङ्क्रान्तिको महत्वलाई प्राथमिकता दिइने उनले जानकारी दिइन् ।

माघेसङ्क्रान्ति मेलामा स्थानीय लघु तथा घरेलु उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न सघाइने भएकाले आयातितभन्दा स्थानीय उत्पादनका स्टलहरुलाई प्राथमिकता दिइनेछ । मेला अवलोकन गर्न आउने दर्शकहरुलाई पर्यटकीय स्थलसम्म भ्रमणको व्यवस्थापन समेत मिलाइने महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन् । मेलालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि विभिन्न २२ वटा उपसमितिहरु गठन गरेर तयारी अगाडि बढाइएको छ । मेलाको उद्घाटनसत्र बजार परिक्रमासहित खेलकुदजन्य गतिविधिहरु अन्तर्गत महिला तथा पुरुष अन्धनिसान, छेलो फ्याँक्ने, लठो तान्ने प्रतियोगिताहरु सञ्चालन गरिने भएको छ ।

म्याग्दीको बेनीमा तीन वर्षको अन्तरालमा एकपटक म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दी महोत्सव र महिला उद्यम विकास समितिको आयोजनामा माघेसङ्क्रान्ति मेला आयोजना हुँदै आएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले २०५७ सालदेखि जिल्लामा उद्योग वाणिज्य संघको अगुवाइमा माघेसङ्क्रान्ति मेला हुँदै आइरहेकोमा अहिले पनि मेलालाई निरन्तरता दिइएको बताए । उनले मेलाको अवसरमा जिल्लाभित्र पेशा, व्यवसाय गरेका स्थानीय उद्यमीहरुको स्टल राख्न प्राथमिकता दिइने बताए ।

मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । माघेसङ्क्रान्ति मेलामा राष्ट्रिय कलाकारहरु प्रकाश दूतराज, रचना रिमाल, समीक्षा अधिकारीसहित स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकको भनाइ छ । मेलाको स्थलभित्र स्थानीय कृषि उपजहरुको प्रदर्शनी गरिनेछ भने म्याग्दीको कला, संस्कृति र लुकेर रहेका प्रतिभाहरुको पनि प्रस्फुटन गरिनेछ ।

गतवर्ष म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला लगाइएको थियो । जिल्लास्तरमा हुने महोत्सव तथा मेलाले जिल्लाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्