चौथो राष्ट्रिय वादोरियो कराते हुने 



काठमाडौँ ।

नेपाल वादोरियो कराते डो संघको आयोजनामा यही पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको आयोजना हुने भएको छ।

विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो करातेको चौथो संस्करणमा पुरुष र महिलामा एकल र कातासहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी गराए।

खेलमा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन्। त्यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता रहेका छन्। प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ। प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एकजना खेलाडी मात्र सहभागिता हुनेछन्। जस अनुसार एक प्रदेशबाट एक तौलसमूहमा समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन्।

त्यसबाहेक एकजना प्रशिक्षक, एकजना ब्यवस्थापक र रेफ्री रहनेछन्। प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, दोस्रो , तेस्रो, बेष्ट फाईटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको ब्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए । प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको छ । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष पुरुषोत्तम भण्डारी र नेपाल सोतोकान कराते संघका अध्यक्ष श्याम शेर्पाको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्