अज्ञात रोगले एकै घरका पन्ध्र बाख्रा मरे

0
Shares

उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से आदर्श टोलमा अज्ञात रोगले प्रेम  बहादुर खड्काको एउटै गोठका १५ माउ बाख्रा मरेका छन् ।
खोरमा पाठापाठी खसी बोका माउ गरी ५५ थान खसी बाख्रा रहेकोमा १५ थान माउ बाख्रा ३ दिन भित्रमा पटक पटक गरी मरेको तर के रोगले मरेको हो पत्ता  नलागेको बताइएको छ ।

त्रियुगा नगरपालिका १० नं वडाध्यक्ष किरण पाण्डेले आफ्नो छिमेकी प्रेम बहादुर  खड्काको १५ थान माउ बाख्रा मरेको तर कुन रोगले मरेको हो छुट्याउन नसकिएको बताए ।

बाख्रा पालक किसान प्रेम बहादुर खड्काले दिएको जानकारी अनुसार सोमबार साँझ आफूले खोरमा सबै खसी बाख्रालाई सही रुपमा राखेको र मंगलबार बिहान हेर्दा छेरेको देखेपछि आफूले जाने जति औषधी गरेको र पशुसेवा विज्ञ तथा भेटेरिनरी अस्पतालमा सम्पर्क गरेर प्राविधिक बोलाएर औषधी गरेको भए पनि मरेको बताए ।

कुन रोग हो आफूलाई जानकारी नभएको र गोठमा बाँकी भएका खसी बाख्रा मध्ये २५ वटा यही माघमा व्याउने थिए । १५ वटा अझैँ बिरामी रहेको र प्राविधिकको सल्लाह सुझाव अनुसार औषधी गरिरहेको पीडित किसान खड्काले बताए ।

यस विषयमा पशुसेवा विज्ञ तथा भेटेरिनरी अस्पतालका उदयपुरका सूचना अधिकारी तेज बहादुर कार्कीका अनुसार फूड प्वाइजन वा इन्ट्रोटोक्सिनिया नामक रोगबाट मरेको हुन सक्ने आशंका गरिएको छ । सूचना अधिकारी कार्कीले जंगलमा पाइने आँखा तरुवा भन्ने घाँस खुवाएका कारण छेरौटे लागेर मरेको हुन सक्ने जानकारी दिँदै गोठमा रहेको अरु बाख्रा खसी पनि बिरामी रहेको बताए ।

पशुसेवा विज्ञ केन्द्र तथा भेटेरिनरी अस्पताल गाईघाट कार्यालयका  प्रमुख रामनारायण साहले अज्ञात रोगबाट १५ थान माउ बाख्रा मरेको र पोस्टमार्टम गरी नमुना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर र काठमाडौँ पठाइएको बताए । कुन रोगले मरेको हो त्यो रिपोर्ट आएपछि मात्र थाहा हुने बताउँदै कार्यालय प्रमुख साहले नमुना जाँचको परिणाम आउन केही दिन लाग्ने र जंगलमा पाइने घाँसका कारण पनि बाख्रा मरेको हुन सक्ने बताए ।

यस अघि त्रियुगा नगरपालिका १४ साउनेमा पनि एकै घरका ७ थान खसी बाख्रा आँखा तरुवा भन्ने नामको घाँस खुवाएका कारण मरेकोले यस पटक पनि सोही घाँस खुवाएका कारण मरेको हुन सक्ने बताए ।

पीडित किसान खड्काले भने आफूले सबै बोयर्स जातको बाख्रा पालेको जानकारी दिँदै करिब १० लाखको क्षति भएको र आफूले घरबारीमा वरपर लगाएको डाले घाँस भुस दाना खुवाउने गरेको बताए ।

उनले जंगलमा पाइने विषालु घाँसहरु नखुवाएको र आफूले जंगलबाट घाँस ल्याउँदा करम, धयेँरा, टाटरी जस्ता पोसिलो घाँस खुवाएको बताए ।
त्रियुगा नगरपालिकाका विभिन्न वडाका किसानहरु लामो समयदेखि व्यावसायिक रुपमा खसी बाख्रा पालन गर्दै आएको र यसरी एकै पटक धेरै संख्यामा खसी बाख्रा मरेको थाहा नभएको तर फाट्टफुट्ट भने मर्ने गरेको स्थानीय किसानहरु बताउँदछन् ।