हात्तीछापसँगै महोत्सव डुल्दै सौगात



काठमाडौं ।

आफ्नो प्रदर्शोन्मुख फिल्मको हात्तीछापलाई मध्य नजरमा राखी अभिनेता सौगात मल्ल पश्चिम नेपालको विभिन्न जिल्लामा पुगिरहेका छन्।

फिल्मका प्रस्तुतकर्ता किरण नेपाली र कलाकार कमलमणि नेपालको साथमा सौगातले पश्चिमका विभिन्न जिल्लामा आयोजना भएको महोत्सवमा पुगेर आफ्नो फिल्मबारे जानकारी गराएका छन्।

सौगातले नेपालगञ्ज, कैलालीको लम्की र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा सहभागी भई हात्तीछापका बारेमा जानकारी गराएका हुन्।

यी महोत्सवमा अभिनेता मल्लले दर्शकलाई आफ्ना फिल्मका हिट संवादहरू सुनाएका थिए। यस्तै, कलाकार कमलमणि नेपालले पनि दर्शकलाई पेट मिचिमिची हसाँएका थिए।

सौगातलाई देख्दा दर्शकमा उत्साह देखिएको थियो। दर्शकले मल्लसँग माघ २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म हात्तीछाप हेर्नका लागि आफूहरू उत्साहित भएको बताएका थिए।

‘दर्शकमा फिल्मप्रति निकै उत्साह रहेको पायौँ। यसले, हामीलाई निकै खुसी बनाएको छ। हामी चलचित्रको बारेमा जानकारी दिन पश्चिमदेखि पूर्वसम्म पुग्नेछौं’ प्रस्तुतकर्ता किरण नेपाली भन्छन्।

अभिनेता मल्लले पनि दर्शकको उत्साहजनक साथ पाउँदा खुसी लागेको बताए।महोत्सवमा पुग्दा दर्शकले फिल्म र आफूप्रति देखाएको मायाले झनै उत्साह थपिएको सौगातको भनाइ थियो।

सिमोस सुनुवारले निर्देशन गरेको हात्तीछापमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्