कामपा कर्मचारी निलम्बन प्रकरण : सफाइको मौका नदिई निलम्बनको पत्र



काठमाडौं ।

काठमाडौं महानगरपालिकामा कर्मचारी निलम्वन गर्दा सफाइको मौका नै नदिई निलम्बन गरेको पाइएको छ। मेयर बालेन्द्र साहले सफाइको मौका नै नदिई एकाएक निलम्बन गरेपछि कर्मचारीमा असन्तुष्टि बढेको छ।

महानगरले स्थानीय सेवा (संगठन तथा सञ्चालन) ऐन–२०७९ विपरीत कर्मचारीलाई निलम्बन गरेको हो । तीन जना कर्मचारीलाई पुस १३ गतेको मिति राखेर १६ र १७ गते पत्र दिइएको छ।

स्रोतका अनुसार मेयर साहका सचिवालय प्रमुख नूरनिधि न्यौपानेले १७ र जनस्वास्थ्य विभागका प्रमुख एवं उपनिर्देशक रामप्रसाद पौडेलले १६ गते पत्र बुझ्नुभएको छ भने विभागका वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले पत्र बुझ्नुभएको छैन।

कर्मचारीलाई निलम्बन गर्नुपर्दा सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ। तर ऐन विपरीत निलम्बन गरेको खुलेको छ।

ऐनको दफा १२४ को उपदफा १ मा विभागीय सजायको आदेश दिने अधिकारीले कुनै कर्मचारीलाई सजायको आदेश दिनुभन्दा अघि कारबाही गर्न लागेको कारण उल्लेख गरी कम्तीमा सात दिनको म्याद दिई आफ्नो सफाइ पेस गर्ने मौका दिनुपर्ने व्यवस्था छ।

तर कामपाले दिएको पत्रमा सो ऐनको दफा १२१ को १ (क) अनुसार निलम्बन गरेको उल्लेख छ। कार्यपालिकाको आधिकारिक रजिस्टरको भन्दा फरक निर्णयको प्रतिलिपि प्रमाणित एवं गलत ढंगबाट निर्णय गरेको पत्र थम्याएर निलम्बन गरिएको छ।

यही पुस १६ गतेको प्रमुख स्तरीय निर्णयअनुसार छानबिन समितिको प्रतिवेदन नआएसम्म निलम्बन गरिएको पत्रमा उल्लेख छ। कामपाले कारबाही गरेको दफा १२१ को (क) मा निलम्बन नगरी कुनै ओहदामा काम गर्न दिँदा झुटा सबुत प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबुत प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएकाले कारबाही गरेको जनाएको छ।

दफा ११८ लेखिएको कुनै पनि अभियोग जाँचबुझ गर्नुपरेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म निलम्बन गर्न सक्ने व्यवस्था छ। तीन कर्मचारीलाई निलम्बन गर्दा आफ्नो पदको काम वा जिम्मेवारी पूरा गर्न नसके, राजनीतिक संगठन वा दलको सदस्यता लिए वा राजनीतिक गतिविधिमा भाग लिए, बिदा स्वीकृत नगराई ९० दिनसम्म अनुपस्थित भए, बिदा स्वीकृत नगराई लगातार ९० दिन वैदेशिक अध्यापन तालिममा सहभागी भए, सरकारवादी हुने मुद्दामा ३ महिना वा सोभन्दा बढी कैद बस्न ठहरिएको भए, एक वर्षमा दुईपटक सजाय पाएकोमा पुनः सोही दफाबमोजिम सजाय हुने काम गरेमा निलम्बन गर्न सक्ने उल्लेख छ।

कामपाले निलम्बन गरेको विषय ऐनसँग बाझिएको छ। निलम्बनपत्रमा तोकेको दफाअनुसार निलम्बन भएको छैन। कामपाले सफाइको मौका नदिइकन निलम्बन गरेकोमा अधिकांश कर्मचारी मेयर साहको शैलीप्रति असन्तुष्ट छन् ।

पछिल्लो समय मेयर साहको व्यववहार देखेर असन्तुट भएका कर्मचारीले सफाइको मौका नै नदिई गरेको निर्णय कानुनको बर्खिलाफमा भएको आरोप लगाएका छन्। मेयर साहले तीन कर्मचारीले गलत गरेको उल्लेख गर्दै पत्र काट्ने प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी भने मेयरकै आग्रहमा बिदामा बस्नुभएको छ।

घटना छानबिन गरी प्रतिवेदन बुझाउन शहरी योजना आयोगका अध्यक्ष सुमनसिंह राजभण्डारीको संयोजकत्वमा प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल र कामपाका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल सदस्य रहेको समिति गठन गरिएको छ। समितिले प्रतिवेदन आएपछि सोहीअनुसार कारबाही गर्ने जनाएको छ।

समितिले सबैसँग स्पष्टीकरण सोधेर सकभर चाँडै प्रतिवेदन बुझाउने तयारी गरेको छ। पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो।

तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ। हिजो बुधबार स्पष्टीकरण बुझाएका न्यौपाने र पौडेलले आफूहरुको कुनै पनि त्रुटि नभएको उल्लेख गरेका छन्।

दुवै जनाले नियम र कानुनको परिधिभित्र रहेर काम गरेको स्पष्टीकरण पेस गरेका छन्।

प्रतिक्रिया दिनुहोस्