एम्बुलेन्स चालक सेवाका लागि नगर प्रमुख

0
Shares

मुगु।

मुगुको छायाँनाथ रारा नगरपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । एम्बुलेन्स सेवा सञ्चालनमा चालक नहुँदा नगरका समुदायको सेवाका लागि नगर प्रमुख विष्णुकुमार भामले बिरामीको उद्धारका लागि स्वयं आफैँ चालकका रूपमा सक्रिय भई बिरामीको उद्धार गर्दै आएका छन् ।

छायाँनाथ रारा नगरपालिकाको समृद्धि बनाउने उद्देश्यले जनताको सेवा, जनताको गुनासो सुन्ने र विकास निर्माणसँगै विभिन्न अभियान र कार्य सञ्चालन गर्दै आएका नगर प्रमुख भामले बिहीबार बिहानबाट नगरको एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।

छायाँनाथ रारा नगरपालिकाको कार्यालयका अनुसार नगर प्रमुख भामले नेपाल सरकारको यातायात कार्यालयबाट चालक अनुमति पत्र प्राप्त गरेका नगर प्रमुख भामले नगरपाली भित्रका बिरामीहरूको उपचारमा सहज पुगोस् भन्ने उद्देश्यले बिरामीको उद्धार गरिएको जानकारी दिए ।

छायाँनाथ रारा नगरपालिकाका वडा नं ६ बालै गाउँका ७० वर्षका ज्येष्ठ नागरिक लोकबहादुर भाम र ६८ वर्षीया बिरामी हिउँकला भामको उपचारका लागि जिल्ला अस्पतालमा लिनका लागि नगर प्रमुखले एम्बेलन्समार्फत् जिल्ला अस्पताल पुर्‍याउन सेवा सुरु गरेको स्थानीय सुरेन्द्र भामले बताए । उनका अनुसार ग्रामीण भेगका बिरामीको उपचारका लागि स्वयम् आफैँ चालक भएर एम्बुलेन्स सञ्चालन गरी बिरामीको उद्धार गर्दा निकै खुसी लागेको छ ।

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले भने, ‘‘एम्बुलेन्स चालकको बुवा बिरामी पर्दा उपचारका लागि जिल्लाभन्दा बाहिर गएकाले बिरामी सेवामा प्रभावित पर्ने भएकाले एम्बुलेन्स सेवामा सक्रिय भएको छु । दिउँसोको समयमा कार्यालयको कामसँगै आवश्यकता अनुसार बिहान, बेलुका, रातिको समय र बिदाको समयमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको छु ।’’

छायाँनाथ रारा नगरपालिका भित्रका १ देखि १४ वडा सम्म ८७ बस्तीमध्ये सडकको पहुँच पुगेका बस्तीहरूमा एम्बुलेन्स सेवामार्फत बिरामीको सेवा गर्दै आएका छन् ।

उनले समृद्ध छायाँनाथ रारा नगरपालिकाको समृद्धि अभियानमा सरसफाइ अभियान, श्रमदान अभियानलगायतका विभिन्न अभियान सञ्चालन गदै आएको र यो एम्बुलेन्स सेवाले बिरामीलाई सहज हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाको एम्बुलेन्स सेवा कार्यविधि अनुसार ज्येष्ठ नागरिक, विपन्न परिवार र दलित परिवारलाई जिल्ला भित्र सेवा लिँदा निःशुल्क सेवा दिने उल्लेख छ ।