१९ औँ लेखनाथ महोत्सव सम्पन्न, ९ करोड भन्दा बढीको कारोबार

३ लाख भन्दा बढी दर्शकहरुले गरे अवलोकन



कास्की। 

 ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस ५ गतेबाट लेखनाथमा सुरु भएको १९औँ संस्करणको लेखनाथ महोत्सव सोमबार समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने बताए । उनले पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानी बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी  बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखेका थिए  ।

पुस ५ गतेदेखि सञ्चालन भएको १९ औँ संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् भने सोही  अनुसारको कारोबार समेत भएको छ । महोत्सव अवधिभर ९ करोड भन्दा बढीको कारोबार भएको र ३ लाख भन्दा बढी  दर्शकहरुले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिए ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव १९ औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताउँदै सम्पूर्ण लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा/महिला समूहहरू र समग्रमा सम्पुणर् लेखनाथवासिहरुको एकताका कारण उक्त सफलता सम्भव भएको बताए ।

महोत्सवमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघरको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो भने मातृशत्तिहरुको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहहरूको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आकर्षणको रुपमा रहेका थिए ।

महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनास तालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवर्द्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, सङ्घद्वारा बेगनास तालमा निर्माण गरिएको लेटर बोर्डको परिसरमा चेम्बर पार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्