विसं २०८१ सालको क्यालेन्डर

आउँदो दशैं डेढ हप्ता छिटो



काठमाडौं ।

आउँदो वर्ष २०८१ सालको दशैं डेढ हप्ता छिटो हुने भएको छ । यो वर्षको दशैं कातिकमा परेको थियो भने आउँदो वर्षको असोजमै सकिने छ। तिहार पनि करिब डेढ हप्ता छिटो हुनेछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको २०८१ सालको घटस्थापना असोज १७ गते परेको छ। २४ गते फूलपाती र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ। समितिले पात्रो तयार गर्न बसेको बैठकले गरेको निर्णय सार्वजनिक भएको छैन।

विजया दशमी २६ गते परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ। विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ।

१२ गते धनतेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रबार औंशी परेको छ । विसं २०८१ मा पनि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।

१७ गते गोवद्र्धन र म्हःपूजा, १८ गते आइतबार भाइटीकाको साइत तय भएको छ। २०८१ सालमा आउँदो वर्ष चन्द्र र सूर्य ग्रहण नरहेको विकास समितिका कार्यकारी निर्देशक एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो। समितिले तिथि, मितिसहितको पात्रो तयारी गरेपछि बिदाको सिफारिस गर्न उक्त पात्रो गृह मन्त्रालयमा पठाउने छ।

विकास समितिले आउँदो वर्ष करिब १७ वटा पञ्चाङ्गकारलाई पात्रो छपाइ गर्न स्वीकृति दिने तयारी गरेको छ। पञ्चाङ्ग पात्रो छापिएपछि गृह मन्त्रालयले बिदाको निर्णयसम्म भित्तेपात्रो प्रकाशन हुने छैन।

लग्न, साइत, तिथि पर्वलगायतका विषय जानकारी लिनकै लागि पञ्चाङ्ग पात्रो छापिने छ, सरकारले निर्णय गरेपछि मात्र भित्तेपात्रो प्रकाशन गरिने छ।

पात्रो र भित्तेपात्रो प्रकाशकले विकास समितिको स्वीकृति लिएर मात्रै पात्रो छपाइ गर्न पाउनेछन्। समितिले तोकेको दस्तुर बुझाएपछि पात्रो छपाइ गर्न पाउने व्यवस्था गरेको छ।

कार्यकारी निर्देशक ढुंगेलले भन्नुभयो– ‘समितिको निर्णयबेगर कसैले पञ्चाङ्ग पात्रो वा भित्तेपात्रो छापे कडा कारबाही गर्नेछौं।’ गृहले सार्वजनिक बिदाको निर्णय सार्वजनिक गरेपछि मात्रै भित्तेपात्रो प्रकाशन हुनेछ। आउँदो वर्ष वैशाख १ गते शनिबार परेको छ।

वैशाख २८ गते अक्षय तृतीया, जेठ १० गते बुद्ध जयन्ती र चण्डीपूर्णिमा, जेठ २५ गते गोसाइँकुण्ड मेला, २ गते गंगा दशहरा, असार २८ गते गैडु पूर्णिमा र ज्यापुन्हीको साइत तय भएको छ।

साउन २ गते हरिशयनी एकादशी (तुलसीको बीउ छर्ने दिन), ६ गते गुरुपूर्णिमा, साउन २९ गते गुँलापर्व शुरु, २५ गते नागपञ्चमी परेको छ । त्यसै गरी भदौ ३ गते जनैपूर्णिमा, १० गते कृष्णाजन्माष्टमी र सुदूरपश्चिमको गौरा पर्वको साइत रहेको छ।

भदौ १८ गते कुशैऔंशी अर्थात् बुबाको मुख हेर्ने दिन, १९ गते गुँलापर्व समाप्ती, २० गते तीजको दरखाने, २१ गते हरितालिका, २२ गते गणेश चौथी, २३ गते ऋषिपञ्चमी परेको छ।

भदौ ३० गते इन्द्रजात्रा पर्व शुरू हुनेछ। आउँदो वर्ष इन्द्रजात्रा र विश्वकर्मा पूजा एकैदिन परेको छ। असोज १ गते दुवै पर्वको तिथि तय भएको छ। आउँदो वर्ष असोज ३ गतेबाट सोह्रश्राद्ध शुरू हुनेछ । असोज ९ गते जितिया पर्व परेको छ।

आउँदो वर्ष विवाह र व्रतबन्धको साइत अत्यन्तै न्यून दिन रहेको छ। मंसिरमा विवाहको साइत छैन। विवाहको साइत १७ दिन र व्रतबन्धको साइत ११ दिन मात्र रहेको छ।

आउने वर्ष वैशाख ६ र ७, असार २७, २८, २९, ३०, माघमा ३, ४, ९ र २५ र फागुनमा १, ४, ८, १३, २२, २३, २८ गते मात्र विवाहको साइत परेको छ। व्रतबन्धको साइत वैशाख ६ र ७, माघ २, ३, १८ र २५, फागुन २ र २६ र चैतमा ३, १८ र २५ गते गरी ११ वटा परेको छ ।

कार्यकारी निर्देशक ढुंगेलले लामो समयसम्म पञ्चाङ्गकार, विश्वविद्यालयका विज्ञ, ज्योतिषविज्ञलगायत सबैको राय र सुझावको आधारमा पात्रो तयार गरेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘कुनै पनि तिथि र मिति विवादित नहोस् भन्ने उद्देश्यले व्यापक छलफल गरी पात्रो तयार गरेको हौं।’ उहाँका अनुसार पात्रो तयार भएर बजारमा आउन अझै केही दिन लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्