बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न कांग्रेको माग



काठमाडौं । 

सत्तारुढ दल नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न  माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारबाही गर्ने माग गरेको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

 गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस शाखाबाट कोरिया भाषा परीक्षामा वञ्चित गरिने निर्णयविरुद्ध आन्दोलन गर्दा दुई युवकको मृत्यु भएको थियो । घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको छ । तर, कांग्रेसले न्यायिक आयोग गठन गरी मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको माग गरेको हो ।

उक्त घटनाबारे सरकारको ध्यानाकर्षण गराउने देशभित्रै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएको बैठकको निर्णयमा लेखिएको छ :

मिति २०८० पौष १३ गते ललितपुरको बालकुमारी स्थित ईपिएस कार्यालय क्षेत्रमा वैदेशिक रोजगारका लागि परिक्षा दिन पाउँ भन्ने माग गर्ने प्रदर्शनकारी र सुरक्षाकर्मी बीच भएको झडपमा दुई जना युवाको ज्यान जानु अत्यन्तै दुःखद घटना हो । यस घटनाले हामी सबैलाई मर्माहत तुल्याएको छ । तसर्थ, सरकारले यो घटनालाई गम्भीरताका साथ लिई देहायका कार्य तत्काल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने ।
–    उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कारबाही गर्ने
–   रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादबाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान
गर्ने ।
–    मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने ।
–    घाइतेको निःशुल्क उपचार गर्ने ।
–    आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक विशेष नीति अवलम्बन
गर्नुपर्ने ।
–    साथै मुलुकमा थप रोजगारीका अवसर सृजना गर्ने र वैदेशिक रोजगारलाई पनि आकर्षक पारिश्रमिक भएका मुलुकसँग श्रम सम्झौता गरी समग्र रोजगारीको क्षेत्र विस्तार गर्न सके युवा जगतमा देखिएको वेराजगारी समस्या समाधान भई युवा पुस्तामा व्याप्त निराशा क्रमशः हट्दै जाने हुनाले यसका लागि सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई स्वेदश र विदेशमा सरकारबाट प्रवाह गरिने सेवा सरल र पारदर्शी बनाई सहजीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्ने ।

प्रतिक्रिया दिनुहोस्