कपडा व्यवसाय छोडेर किवी खेतीमा 

चिस्यान केन्द्र अभाव हुँदा भण्डारण गर्न समस्या

0
Shares

धादिङ । 

कपडाको व्यवसाय छाडेर किवी खेतीमा लागेका  नीलकण्ठ नगरपालिका वडा ३ का श्रीकृष्ण अधिकारीले पछिल्लो समयमा नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा १५ रोपनी क्षेत्रफलमा किवी खेती गरेर आम्दानी गर्न थालेका छन्।

अधिकारीले कपडा व्यापार नफस्आटाएपछि किवीका बिरुवा लगाएका हुन्।

धादिङको माटोमा पनि  किवी खेती सम्भव छ भन्ने लगेर सुरु गरेका  श्रीकृष्ण अधिकारी उत्कृष्ट किसान भएका छन्।  नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने उनको भनाई छ ।

अधिकारीले सुरुमा ३०० को हाराहारीमा किवीको बिरुवा लगाई सुरु गरेको किवी खेतीबाट हाल वार्षिक ४/५ लाखको आम्दानी गरिरहेका छन्  । समुन्द्री सतह देखि ८०० देखि ३००० मिटर सम्मको उचाइमा किवी खेतीको लागी योग्य भएकोले धादिङका धेरै भू –भागमा बहुमूल्य किवी खेतीको राम्रो सम्भावना रहेको  छ ।

हाल प्रतिकेजी ३५० का दरले आफ्नै घर सिरान बजारबाट बिक्री वितरण गरिरहेका उनले  किवीको रेगुलर सेवनले निरोगी बन्न मद्दत गर्नुको साथै किवीलाई बढी  पौष्टिक आहारको रुपमा समेत लिन सकिने बताए । हाल गरिरहेको अन्न खेतीको तुलनामा किवी खेतीबाट ३ गुणा भन्दा बढी  फाईदा हुने अधिकारीको भनाई छ । आगामी दिनमा किवी खेतीलाई बिस्तार गरेर लैजाने उनको सोच छ ।

रित्तिएको बस्तीमा हराभरा बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले मन तान्यो । उनले किवी खेती विस्तारै गर्न थाले । अहिले नीलकण्ठ १ काउलेमा किवीको बोट झ्याङ्गिन थालेको छ । उनकै सिको टिपेर अन्यले समेत वैकल्पिक खेतीको रुपमा किवीलाई रोज्न थालेका देखिन्छन् । उनको खेतीबाट प्रभावित भएर हाल जिल्लाको रुवीभ्याली, बेत्रावती डवजोङ, गजुरी, बेनिघाट रोराङका र नीलकण्ठ कै ज्यामरुङमा समेत किसानहरुले किवी खेतीको सुरुवात गरेका छन् ।

आम्दानीको राम्रो स्रोत बन्ने अधिक सम्भावना बोकेको किवी फलका लागि तिनै तहको सरकार मिलेर धादिङलाई किवी पकेट क्षेत्र बनाउनुपर्ने उनको  धारणा छ । दिनानुदिन वैदेशिक क्षेत्रमा युवाहरु पलायन भइरहेको बेला यस खेतीको प्रवर्धन गर्न सके बाझो जमिन सदुपयोगका साथै देशमा नै रोजगारी सिर्जना हुने देखिन्छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत पेय बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्न सक्ने अवस्था रहेको उनले बताए ।

देशमा फलफूलमा किवी खेतीले आत्मनिर्भर बनाउनुका साथै बढी उत्पादन भएको खण्डमा खाडी मुलुक समेत निर्यात गर्न सकिने उनले बताए । हाल उनले सदरमुकाम धादिङबेशी सहित काठमाडौँ, चितवन लगायतको बजारमा किवी बिक्री गर्दै आएको बताए।

फलफूलको राजा उपनामले परिचित फल किवीले बजार विस्तार हुँदै गएको छ । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै धादिङबेशी बजारमा किवीको माग निरन्तर बढ्दै गएको छ । किसान मैत्री शीत भण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उनको भनाइ छ ।
सरकारी लगानी नभएकोले आफूले लामो समय भण्डारण गरेर बजार पठाउन नपाएको उनले बताए ।