वायु प्रदूषणले रक्तचाप बढाउने



विशेषज्ञहरुका अनुसार जो सडकको छेउछाउ बस्छन् वा सडकको प्रयोग गर्छन् उनीहरुको स्वास्थ्यमा बायु प्रदूषणले गम्भीर असर गर्ने गरेको पाइएको छ । हालै भएको एक अध्ययनको प्रतिवेदन अनुसार सवारीसाधनसँग सम्बन्धित वायु प्रदूषणले खासगरी कारलगायत साना सवारीसाधनका प्रयोगकर्ताहरुको ब्लड प्रेसर बढाएको पाइएको हो । उच्च रक्तचाप भएमा व्यायाम नगर्ने र नुनको मात्रा बढी खानेहरुमा अरु कार्डियो भास्कुलर रोगहरुको जोखिम उच्च हुन्छ ।

विशेषज्ञहरुका अनुसार सडकको प्रयोग गर्दा मास्कजस्ता एयर फिल्टरहरुको प्रयोग गर्नाले मुखमा प्रवेश गर्ने दूषित एवं खतरनाक कणहरुको मात्रा कम गराउँछ । कार चलाउँदा मास्क लगाउनु कुनै पनि हिसाबले मूर्खतापूर्ण हुँदैन बरु लाभदायक हुन्छ । कोभिड महामारी फैलिएका बेला प्रयोग गरिएको एन ९५ मास्कले धेरै लाभ पु¥याएको थियो । यी लगायतका मास्कले प्रदूषणबाट हुने हानिबाट बचाउन धेरै नै मद्दत गर्छ । सवारीसाधन प्रयोग गर्ने तर मास्क प्रयोग नगर्ने गर्दा श्वासप्रश्वासका माध्यमबाट हानिकारक कणहरु शरीरमा प्रवेश गर्छन् र रक्तचाप बढाउँछन् । युनिभर्सिटी अफ वासिङ्टनका अध्ययनकर्ताहरुले गरेको अध्ययनबाट यस किसिमको तथ्यहरु पत्ता लागेको हो ।

उक्त युनिभर्सिटीका सरुवा रोग तथा वातावरण स्वास्थ्य विज्ञ अध्ययनकर्ता प्रा.डा. जोयल कौउफम्यानका अनुसार सवारीसाधनसँग सम्बन्धित बायु प्रदूषणले मानव स्वास्थ्यमा जति असर पारिरहेको छ हामीले त्योभन्दा कम नै अनुमान गरिरहेका छौँ । अध्ययन अनुसार विशेष गरी डिजेलको धुवाँ मानव स्वास्थ्यका लागि बढी नै हानिकारक छ । यसले रक्तचाप वृद्धि गर्न भूमिका खेल्ने गर्छ । सवारीसाधनबाट निस्कले धुवाँमा ब्ल्याक कार्बन, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड र अरु विषालु कणहरु हुन्छन् ।

यी तत्वहरुले हृदयघात गराउने, मुटुको धड्कन अनियमित गर्ने, दम हुने, श्वासप्रश्वाससम्बन्धी अरु समस्या हुने र कम उमेरमै मृत्यु हुने हुन्छ ।
यो प्रयोगात्मक अध्ययन विशेष गरी २२ देखि ४५ वर्षका मानिसका बीचमा गरिएको थियो । कार चलाउनुअघि, कार चलाइरहेका बेला र कार चलाइसकेपछि २४ घण्टा नै उनीहरुको रक्तचापको अनुगमन गरिएको थियो ।

यसरी अनुगमन गर्दा डा. कौफम्यान र उनको अध्ययन टोलीले मास्क प्रयोग गरेर कार चलाएकाहरुको तुलनामा मास्क प्रयोग नगरी कार चलाएकाहरुको रक्तचाप उच्च रहेको पाएको थियो । अध्ययनकर्ताहरुका अनुसार यसरी रक्तचाप उच्च रहेकाहरुमा मुटुरोग र मस्तिष्कघात दोब्बर हुने सम्भावना हुन्छ । सवारीसाधनसँग सम्बन्धित वायु प्रदूषणले हुने उच्च रक्तचापको वृद्धि कमजोर खानपान, व्यायामको कमी वा धूमपान वा अधिक नुनको सेवनका कारण जत्तिकै हुने पाइएको छ । रक्तचापको वृद्धि मुटुरोग, मस्तिष्कघात र मिर्गौला रोगको मुख्य कारक तत्व हो ।

स्रोत: मेडिकल न्युज टुडे

प्रतिक्रिया दिनुहोस्