नेपाल प्रहरी साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धनमा तल्लीन : महानिरीक्षक कुँवर



काठमाडौं।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धनमा क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताएका छन्  ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार प्रहरी नायव महानिरीक्षक रवीन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धीत रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखे भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपूर सुगन्ध पस्केको उल्लेख गरे । नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासङग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रुपमा उक्त कथासङ्ग्रह लोकार्पण गरेका थिए ।

उक्त अवसरमा डा.धुर्ब चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे । साथै राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए  ।

उक्त कथासङ्ग्रहको प्रकाशक संस्था शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा कथासङ्ग्रहका सर्जक प्रहरी नायव महानिरीक्षक रवीन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप  भण्डारी, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू,  साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्