वाईवाईको ट्रेडमार्क चोरी गरेकोमा करेन्ट चाउचाउलाई अदालतको झड्का

0
Shares

काठमाडौं ।

 उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ ।

उक्त कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्यातिप्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी  वाईवाई जस्तै देखिने रयापर प्रयोग गरी  उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो ।

उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।

 करेन्ट नामको गुड्खाको समेत व्यापार गर्दै आएको यशोदा फुड्सले वाईवाईको खोल र ब्रान्ड प्रयोग गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आलोचना गर्न सुरु गरेका छन् ।

 यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो ।

 चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातिलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्क्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो ।

 यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।

 अदालतको यस आदेशले वाईवाईको नक्कल गरी  बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ । यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत रुपमा विक्रिवितरण गरिएमा अदालतको मानहानी गरेको ठहरिनेछ ।

 अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी  चौधरी ग्रुपद्वारा उत्पादित वाईवाई नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखि पहिलो रोजाईमा रहँदै आएको छ ।

 यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाईवाईको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथि समेत प्रत्यक्ष प्रहार गरिएको छ ।