प्रचण्डको आडमा एमालेलाई आक्रमण गर्नेहरू आज उनैमाथि आक्रमण गर्न लागेका छन् : महेश बस्नेत

0
Shares

काठमाडौं ।

नेकपा एमालेको पोलिटब्युरो सदस्य महेश बस्नेतले अहिले देशमा विभिन्न नाममा अस्थिरता र अराजकता मच्चाउने काम भएको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल सङ्खुवासभाको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै बस्नेतले राष्ट्रिय युवा संघ नेपाल वा नेकपा एमाले कमजोर हुँदा अराजकता अझै बढ्दै जाने बताए । हिजो एमालेविरुद्ध आक्रमण गर्दा प्रचण्डले आसिरवाद दिएका हर्क साङ्पाङ लगायतका अराजकतावादीहरू आज आफ्नो कार्यकक्षबाट प्रचण्डको फोटो हटाएर उहाँकै विरुद्ध खनिएका बस्नेतले बताए ।

मलाई बहुमत दिनुस् तपाईँहरूलाई जातीय राज्य दिन्छौँ भन्दै भाषण गर्ने प्रचण्डका विरुद्ध नै आज ती शक्ति खनिन लागेको बस्नेतको भनाइ छ । ‘प्रचण्डको आडमा एमालेमाथि आक्रमण गर्ने साथीहरू आज प्रचण्डमाथि नै आक्रमण गर्न लागेका छन्’, उनले भने ।

अहिले ३२ सिटे प्रचण्ड प्रधानमन्त्री भएको बताउँदै बस्नेतले देशमा कुकुरले पुच्छर होइन पुच्छर हल्लाएको अवस्था रहेको बताए । त्यसैले मुलुक अधोगति तर्फ गएको उनको भनाइ छ । देश जोगाउन र जनताका सुख दुःखमा राष्ट्रिय युवा संघ नेपाल जोडिनु पर्नेमा उनले जोड दिए ।

हिमाल, पहाड, तराई र गाउँदेखि सहरसम्मका सम्पूर्ण १६ वर्षदेखि ४० वर्षसम्मका युवाहरूको साझा संगठन तथा समुदायको हितको नेतृत्वकर्ता संगठनको रूपमा राष्ट्रिय युवा संघ नेपाललाई स्थापित गर्नुपर्नेमा उनले जोड दिए । समुदायको आवश्यकता, चाहना पूरा गर्ने भनेको नै कम्युनिष्ट रहेको उनले बताए ।

हिजो नेकपा एमालेले देश र जनताको हितमा लोकप्रिय कार्यक्रम ल्याएको बताउँदै उनले त्यसको सही प्रचार गर्न सक्नु पर्ने बताए । एमालेले गरेका कामको प्रचार सही हिसाबले गर्न नसकेकै कारण गएको चुनामा एमालले बहुमत ल्याउन नसकेको उनको भनाइ छ ।

आउँदो निर्वाचनमा एमाले एक्लैले बहुमत पुर्‍याउने उनले दाबी गरे । गठबन्धन बनाएर च्याँखे दाउ थापेर एमाले सरकामा नजाने उनले बताए । एमाले दाउमा नै बसेर सरकारमा पुग्ने उनले दाबी गरे । ‘दाउ लिएर बस्ने पार्टी नेकपा एमाले हो, त्यस पछि नेपाली कांग्रेस नै हो’, उनले भने ।

प्रचण्ड र माधव नेपालले अब आफूलाई कम्युनिष्ट पार्टी भनेको भरमा कसैले नपत्याउने उनले बताए । त्यसैले उनीहरूको पछि लागेका तलका नेता, कार्यकर्ता पनि एमालेमा नै आउने बस्नेतले स्पष्ट पारे । उनीहरूलाई पार्टीमा संगठित गर्नुपर्नेमा बस्नेतले जोड दिए ।

असङ्ख्य खालका काला कर्तुत र अपराध गर्ने व्यक्तिहरूको नौटङ्की अब नेपालको राजनीतिमा नयाँ पार्टीको नाममा नचल्ने उनले बताए । आफूलाई नयाँ भनिएकाहरूलाई जनताले राम्रोसँग चिनिसकेको बस्नेतले प्रष्ट पारे ।

आउने निर्वाचनमा एमालेले बहुमत सहितको सरकार बनाउने र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने उनले घोषणा गरे । राष्ट्रिय युवा संघ नेपालको अबको कार्यनीति यही भएको उनले प्रष्ट पारे । एमालेले नै मुलुकको समृद्धिको लागि काम गर्ने उनले बताए ।