बैंकबाट ४४ लाख भन्दा बढी रकम चोरी गर्ने तीन जना  पक्राउ

0
Shares

रौतहट ।

 जिल्लाका विभिन्न बैंकमा सर्वसाधारणले जम्मा गरेको रकम बैंकबाट चोरी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गौर नगरपालीका वडा नम्बर ४ बस्ने २५ वर्षीय जितेन्द्र गिरी, गौर ७ बस्ने ३७ वर्षीय दीपेन्द्र कुमार साह र गुजरा नगरपालीका ६ घर भई हाल चन्द्रपुर नगरपालीका १० बस्ने बर्ष ४२ को राज कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

गौर नगरपालीका ४ बस्ने जयप्रकाश रायचनौको एनआईसी एसिया र माछापुच्छे बैंकको खाताबाट २०८० असाढ २९ गतेदेखि पटक पटक गरी बाह्र लाख ४६ हजार चार सय ४०, गौर नगरपालीका ७ बस्ने मिश्रीलाल साहको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८०  असाढ २० गतेदेखि पटक पटक गरी जम्मा पाँच लाख,रौतहट गौर नगरपालीका २ महादेवपट्टी बस्ने विजय किशोर झाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गौरमा रहेको खाताबाट २०८० मंसिर २९ गते ८० हजार, चन्द्रपुर ९ बस्ने कृष्णप्रसाद तिमल्सिनाको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय चन्द्रनिगाहपुरमा रहेको खाताबाट २०८० मंसिर ३० गतेदेखि पटक पटक गरी ६ लाख ११ हजार दुई सय आठ रुपैयाँ सन्ताउन्न पैसा गरी ४४ लाख ३७ हजार छ सय २५ रुपैया सन्ताउन्न पैसा उनीहरूले निकालेका थिए।

विभिन्न काल्पनिक व्यक्तिहरूको नामको भारतको घोडासहनमा गई किर्ते नागरीकता तथा सवारी चालक अनुमति पत्र बनाई  सिमकार्डहरू निकाली विभिन्न खल्ती तथा विभिन्न बैंकहरूमा खाताखोली मोवाइल बैंकिङमार्फत खाताको रकम अनाधिकृत रूपमा पहुँच पुर्‍याइ चोरी गरेको विषयमा उजुरी परेपछि रौतहट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई अनुसन्धान प्रतिवेदन मिसिलसहित बिहीबार जिल्ला सरकारी वकील कार्यालय रौतहटमा पेस गरीएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।