वातावरण संरक्षणमा क्रियाशील अग्रज पत्रकार महर्जनको निधन

42
Shares

ललितपुर।

सामुदायिक रेडियो तथा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणको अभियानमा क्रियाशील एवं अग्रज पत्रकार अष्टमान किसी महर्जनको निधन भएको छ ।गोदावरी नगरपालिका–१४ ठैब,बाँडेगाउँका ६० वर्षीय महर्जनको उपचारका क्रममा बिहीबार (१२ पुसमा) ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार महर्जन केही वर्षयता मिर्गाैला र कलेजो सम्बन्धी समस्याले थलिएका थिए। रेडियो, टेलिभिजन र छापा पत्रकारितामा आवद्ध उनी २०५२ मा युवा जागरण पर्यावरणीय मञ्चमार्फत छापा पत्रकारितामा जोडिएका थिए।महर्जनले वातावरण, पर्यावरण, दिगो विकासका मुद्दालाई जोड दिएका उनका समकक्षी स्मरण गर्छन् ।

तत्कालीन एफएम १०० मेगाहर्जबाट रेडियो पत्रकारिता शुरु गरेका महर्जनले २०६० मा बाँडेगाउँमा आफ्नै स्वामित्वको रेडियो पर्यावरण चक्र र चार वर्षअघि (२०७६ माघमा) उनले पर्यावरण टेलिभिजन स्थापना गरेका थिए । उनी नेपाल पत्रकार महासंघ ललितपुर शाखाका पूर्व कोषाध्यक्ष (२०५१–२०५३) र (२०५३–२०५७ मा) शाखा उपाध्यक्ष थिए।