‘नागरिकको सेवा–प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको छु’



धर्मराज ढुंगाना प्रमुख प्रशासकीय अधिकृत भीरकोट नगरपालिका बयरघारी, स्याङ्जा

स्याङ्जाको मध्य भागमा रहेको सुन्दर नगरपालिका भीरकोटका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ, धर्मराज ढुंगाना । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट उहाँ भीरकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा भएर आउनुभएको हो। यसअघि पनि भीरकोट नगरपालिकामा लामो समय सेवा गरेका उहाँ एक कुशल प्रशासक हुनुहुन्छ। प्रस्तुत छ, बिदाका दिनसमेत नागरिकको सेवामा तल्लीन ढुंगानासँगस्याङ्जा संवाददाता अमृत अर्यालले गर्नुभएको कुराकानीको सम्पादित अंश :

भीरकोटमा कार्य गर्न कत्तिको सहज भएको छ ?
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत थिएँ । भीरकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकारूपमा दोस्रोपटक कार्यरत छु । शुरूमा आउँदा स्थानीय तहबारे धेरै बुझेको थिइनँ । जनप्रतिनिधिसँग मिलेर काम गर्न गाह्रो हुन्छ भन्ने भइरहेको थियो। तर, कर्मचारी र जनप्रतिनिधि भनेको एक–अर्काको पाटो रहेछ । एक–अर्काबीच समन्वय, सहकार्य र सहअस्तित्व स्वीकार गर्दा काम गर्न समस्या भएको छैन । कर्मचारी र जनप्रतिनिधि एउटै ‘बास्केट’मा रहेर छलफल गर्दा जस्तोसुकै समस्या समाधान हुन्छ भन्ने मलाई लागेको छ ।

जनप्रतिनिधि आउनुअघि र आएपछि स्थानीय तहमा कसरी काम अघि बढिरहेका छन् ?
जनप्रतिनिधि नआउँदै ८ वर्षअअघिको सबै कुरा मेरो स्मरणमा छैन। अहिले जनताको हरेक आवश्यकता र सूचनाको आधारमा जनप्रतिनिधिले काम गरिरहेको अवस्था छ। संघीयतापछिको संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ। स्थानीय तहले संघ र प्रदेशजस्तै हरेक वर्ष आफ्नै बजेट, नीति तथा कार्यक्रम ल्याएर आ–अफ्नो उद्देश्यअनुरूप काम गर्ने गरेका छन्। विशेष गरेर स्थानीय तह निर्वाचनताका जनप्रतिनिधिहरुले जनता–मतदातासँग गरेका वाचा, नागरिकका इच्छा, आकांक्षालाई सम्बोधन गर्ने हाम्रो एउटा दस्तावेज छ । जसले हरेक वर्ष जनताका इच्छा आकांक्षालाई सम्बोधन गर्ने काम भइरहेको छ । विधि र प्रक्रियासम्मत् रूपमा काम अघि बढिरहेका छन् ।

तपाईं कहिलेकाहीं शनिबार र बिदाको दिनसमेत कार्यालय जानुहुन्छ, किन ?
स्थानीय सरकार भनेको नगरबासीको जन्मदेखि मृत्युसम्म हरेक काममा चाहिने सरकार हो । हामी एउटा नागरिकको सेवा प्रवाहमा खटिने राष्ट्रसेवक हौं । राज्यले जहाँ–जहाँ खटाउँछ, त्यहाँका नागरिकले सहज र सुलभ रूपमा सेवा पाउनुपर्छ । नागरिकको अधिकारलाई कहींकतै कमजोरी नगरी सेवा प्रवाह गर्नुपर्छ । आफूले नागरिकको सेवा गर्ने कसम खाइसकेपछि नागरिकमैत्री सुशासन कायम गर्नुपर्छ । नागरिकले स्वतःस्फुर्त रूपले सेवा पाउनुपर्छ । जहाँ काम गर्दा पनि मेरो पहिलो प्राथमिकता नागरिकको सेवा प्रवाहमा नै हुन्छ । कहींकतै कमजोरी पनि हुन सक्छ । नागरिकको सेवाका लागि आवश्यक पर्दा बिदाको दिनमा पनि म कार्यालय गएको हुन्छु ।

चालू आर्थिक वर्ष २०८०/०८१ को मध्यतिर आइसकियो । के–कति काम भएका छन् ?
पक्कै पनि यो समय योजनाहरूको काम गर्ने तयारीको समय हो। चालू आवमा सम्पन्न गर्नुपर्ने योजनाहरुको ४० प्रतिशत कार्य आरम्भ भइसकेको अवस्था छ। योजनाको दायित्व अर्को वर्षमा सार्नुभन्दा भएको बजेटलाई सदुयोग गरेर सकेसम्म योजनजाहरु पूरा गर्नुपर्छ। सोहीअनुसार नगर र वडाबाट छनोट भएका योजनाको सम्झौता भएर कार्यान्वयनको चरणमा छ । सबै वडा र नगरका योजनाहरु पनि शतप्रतिशत सम्पन्न हुने विश्वास छ । संघ तथा प्रदेशबाट प्राप्त स–सर्त अनुदानका योजनाहरु पनि कार्यान्वयनको चरणमा छन् ।

योजना अनुगमनका क्रममा नगर र वडाबाट भएका काम कत्तिको मापदण्ड र गुणस्तरीय भएको पाउनुभएको छ ?
स्थायी संरचना निर्माणका कामहरु प्रचलित विधि र मापदण्डअनुसार नै निर्माण भएका छन् । सानातिना आयोजनामा सामान्य त्रुटि भेटिएको छ। हरेक काम गुणस्तरीय हुनुपर्छ । लागत स्टिमेट अनुसार र दिगो टिकाउ हुने काम भए÷नभएको हेर्ने ठूलो पाटो नै अनुगमन हो भन्ने लाग्छ मलाई । ठेक्का प्रक्रिया शुरू भएदेखि काम सम्पन्न नभएसम्म पटक–पटक अनुगमन गर्ने गरेका छौं । टोल तथा उपभोक्ता समितिलाई अभिमुखीकरण कार्यक्रम गरेर गुणस्तरका विषयमा सचेत गराउने काम भएको छ । टोल, वडा र उपभोक्ता समितिलाई तपाईंहरुको आफ्नै घर–आँगनको काम भएकाले दिगो, टिकाउ, गुणस्तर र वातावरणमैत्री हुनेखालको गर्नु भनेका छौं । काम गर्ने कुरामा कहींकतै कमजोरी हुनुहुँदैन । सरकारले पनि एउटै ठाउँमा पटक–पटक लगानी गर्न सक्दैन । विकास निरन्तर हुने प्रक्रिया भए पनि एक ठाउँमा एकपटक ग¥यो भने अर्को ठाउँमा अर्कोपटक गर्नुपर्ने हुन्छ । दिएको विकासलाई लामो समय टिकाउन सक्ने गरी गर्नुपर्छ । भन्दाभन्दै पनि केही ठाउँमा समस्या देखिएका छन् । योजना अनुगमनलाई पूर्ण परिपालन गरेको छौं ।

अन्य प्रमुख प्रशासकीय अधिकृत लामो समय नटिकिरहेको अवस्थामा तपाई दास्रोपटक भीरकोटमा कार्यालय प्रमुखको भूमिका निभाइरहँदा यहाँका जनप्रतिधि, वडा, टोल, उपभोक्ता समिति र कर्मचारीबाट कत्तिको सहयोग पाइरहनुभएको छ ?

पहिलो कुरा त यो नगरपालिका मेरो आफ्नै माटो भएकाले अन्यत्र गएर मेहनत गर्नभन्दा आफ्नै पालिकामा काम गरौं भन्ने चाहना हो । म यहाँको स्थानीय भएकाले धेरैले राम्रो कामको आशा गर्नुभएको छ । सबैले मलाई पूर्ण सहयोग गर्नुभएको छ । स्थानीय तहमा झमेला छ, काम गर्न अप्ठ्यारो छ, जनप्रतिनिधिहरुको दबाब छ भन्ने जुन सुनेको थिएँ । त्यो मेरो सुनाई एक किसिमले गलत सावित भएको छ । नगरप्रमुख, उपप्रमुखलगायतका सम्पूर्ण जनप्रतिनिधिहरुको साथ सहयोग निरन्तर रहेको छ । नगरका सम्पूर्ण राजनीतिक दल, तिनका भातृ संगठन, नागरिक समाज र सबैबाट सहयोग पाएको छु । मेरो काम गराइबाट कहीं कसैले अब्जेक्सन गर्नुभएजस्तो लाग्दैन । सबैले अत्यन्त माया र समर्थन गर्नुभएको छ । त्यही माया र समर्थनले म यहाँ दोस्रोपटक प्रमुख प्रशासकीयको कुर्सीमा बसिरहेको छु । कर्मचारीले कानुनी परिधिभित्र रहेर शून्य सहनशीलताका साथ सेवा प्रवाह गरिरहेका छन् । भीरकोटमा कोही पनि सेवाग्राही लाइनमा बसेर सेवा लिनुपर्ने अवस्था छैन ।

भीरकोटमा बेरुजुको अवस्था के छ ? किन आउँछ बेरुजु ?

भीरकोटमा करिब ५ करोडको हाराहारीमा बेरुजु छ । काम गर्दा कहिलेकाहीं सानातिना अज्ञानताका कारण बेरुजु आउने गर्दछ । हामीले व्यक्तिबाट असुलउपर गर्नुपर्ने बेरुजु कडाइका साथ असुलउपर गरेका छौं । अन्य पालिकाको तुलनामा हाम्रोमा बेरुजु कम छ । बेरुजु भनेको कुनै पनि खाइमासी आएको र कुनै अनियमिता भएको रकम होइन । बेरुजु भनेको महालेखा परीक्षकको कार्यालयबाट यहाँ पालिकामा आएर हाम्रा सम्पूर्ण कागजातहरुको समपरीक्षण गर्दा चालू तथा पुँजीगत खर्चका केही कागजहरु नपुगेको रकमलाई बेरुजु देखाउँछ । दुईखाले बेरुजु हुन्छ । एउटा बेरुजु असुलउपर गर्नुपर्ने, जुन असुलउपर गरेर जम्मा गरेपछि फस्र्यौट हुन्छ । अर्को अपुग कागजात मिलाएर समपरीक्षण गर्दा हट्छ । हामीले सकेसम्म बेरुजु शून्यमा झार्नुपर्छ । विधिसम्मत गरेका कामहरु गुणस्तरीय र मापदण्डअनुसार भए पनि केही कागजात अपुग हुँदा बेरुजु देखिन्छ । महालेखाले दिएको निर्देशन अनुसार कागजपत्र पु¥याएपछि क्रमशः बेरुजु घट्दै जान्छ । अन्यत्रको तुलनामा बेरुजु कम भए पनि यसलाई शून्यमा झार्नुपर्छ । हामी त्यसतर्फ सचेत छौं ।

नगरलाई पूर्णरूपमा बालमैत्री बनाउने काम कसरी अघि बढिरहेको छ ?

बालमैत्री नगर घोषणापश्चात् हामीसँग भएकास्रोत र साधनको आधारमा प्रभावकारी कार्य गर्न हामी अगाडि बढिरहेका छौं । बालमैत्रीका सूचकहरु कार्यान्वयनमा हाम्रो पूर्णरूपमा ध्यान गएको छ । भीरकोटलाई ३ वर्षअघि बालमैत्री नगर घोषणा गरिएको थियो । नगरप्रमुखले यसलाई विशेष प्राथमिकताका रूपमा लिनुभएको छ । बालमैत्रीका सूचक कार्यान्वयन गर्ने काम भइरहेको छ ।

अन्त्यमा,आम नागरिकलाई के भन्न चाहनुहुन्छ ?

भीरकोटबासी सम्पूर्णलाई गाउँ/टोलका आयोजना कार्यान्वयन गर्ने क्रममा इमानदारिता अपनाउन अनुरोध गर्न चाहन्छु। म दुई पटकसम्म भीरकोटमा रहिरहँदा धेरै विकासका काम भएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा काम भएका छन्। नगरले ठूलो उपलिब्ध हासिल गरेको छ । मैले पनि त्यो अनुभव गरेको छु । अबका दिनमा फरक ढंगले विकासलाई अघि लानुपर्ने देखिन्छ। अहिलेको आर्थिक मन्दी, वित्तीय अभावलाई हेर्दा आगामी दिनमा उत्पादन, उत्पादकत्व र रोजगारीलाई जोडेर विकासलाई प्राथमिकता दिनुपर्छ । मानव विकासलाई विशेष प्राथमिकता दिनुपर्छ । हाम्रो मुलुक कृषि अर्थतन्त्र भएको मुलुक हो भन्ने कुरा हामीले बालबालिका हुँदादेखि नै पढ्दै, सुन्दै आएका छौं । त्यसैले भीरकोट नगरपालिकाले आगामी दिनमा योजना छनोट गर्दा कृषि, स्वास्थ्य, शिक्षालाई सँगै जोडेर लानुपर्छ। आत्मनिर्भर मात्र नभएर निर्यातमुखी कृषि गर्नुपर्छ । अयात प्रतिस्थापनमा भीरकोटको कृषिले भूमिका खेल्ने बनाउन यहाँ कृषकलाई लागत साझेदारीमा विभिन्न प्रकारका अनुदान दिनुका साथै व्यावसायिक बनाउने योजना ल्याएका छौं । यसमा सबैले साथ दिनुहोला भन्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्