कर्णालीका ७ जिल्लामा टाइफाइड विरुद्धको खोप लगाइँदै



सुर्खेत ।

कर्णालीका ७ जिल्लामा टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । पाँच जिल्लामा टाइफाइड विरुद्धको खोप दिइने छ भने भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा भने टाइफाइडसहित दादुरा रुबेला विरुद्धको खोप दिइने भएको हो ।

१६ वर्षदेखि ४५ वर्ष उमेर समूहका व्यक्तिलाई टाइफाइडविरुद्धको र ६ महिनादेखि १५ वर्ष उमेर समूहलाई दादुरा र रुबेला विरुद्धको खोप दिइने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, सल्यान, कालिकोट र जुम्ला जिल्लामा टाइफाइड विरुद्धको खोप दिइने छ भने हुम्ला, मुगु र डोल्पामा भने केही समयपछि मात्रै खोप दिइने स्वास्थ्य महाशाखा प्रमुख वृश बहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुम्ला, डोल्पा र मुगुमा अहिले अत्यधिक चिसोका कारण खोप अभियान हिउँद सकिएपछि मात्रै सञ्चालन गरिने छ । यस्तै, सुर्खेतमा मात्रै करिब २ लाख बढीलाई टाइफाइड विरुद्ध खोप दिइने भएको छ । दुई चरणमा गरी १६ देखि ४५ वर्ष उमेर समूहका २ लाख एक हजार ९ सय ६३ जनालाई दादुराविरुद्धको खोप दिइने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

पहिलो चरण यही पुस १२ गतेदेखि १५ गतेसम्म सुर्खेतका चिङ्गाड, चौकुने र वराह ताल गाउँपालिका, लेकवेसी र पञ्चपुरी पञ्चरपुरी नगरपालिकाका ६६ हजार १ सय ३५ जनालाई टाइफाइड विरुद्धको खोप दिइने छ । त्यसै गरी, दोस्रो चरणमा वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकाका १ लाख ३५ हजार ८ सय २८ जनालाई टाइफाइड विरुद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।

बाहिरी जिल्लाबाट विभिन्न सिलशीलमा प्रदेश राजधानी वीरेन्द्रनगरमा नागरिकहरू रहने भएकाले संख्या केही बढ्न सक्ने उहाँले बताउनुभयो । गर्भवती महिला, एचआइभी संक्रमित, जटिल खालका बिरामीहरूलाई पनि खोप नदिइने उहाँले बताउनुभयो । सुर्खेतभर ५ सय ४८ खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिने छ भने ९ सय ६० जना स्वास्थ्यकर्मी र ९६० जना नै स्वयंसेवक परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

यस सम्बन्धी जानकारी दिन जन स्वास्थ्य सेवा कार्यालयले आज वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहित सहभागी भएका थिए ।   यसअघि १५ वर्षमुनिका बालबालिकाहरूलाई टाइफाइडविरुद्धको खोप दिइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्