ललितपुरले जित्दा डिफेन्डिङ च्याम्पियन बाहिरियो



काठमाडौं ।

ललितपुर सिटी एफसीले शानदार जित निकाल्दा गत संस्करणको विजेता काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ।

मंगलबार भएको प्लेअफ इलिमिनेटर खेलमा ललितपुरले काठमाडौंलाई ३–० ले हराएको हो। यो जितले ललितपुर दोस्रो क्वालिफायर खेल्न छनोट भयो भने काठमाडौंको यात्रा भने समाप्त भएको छ । साथै ललितपुरले लिगमा काठमाडौंसँग भएको हारको पनि बदला लिएको छ।

दशरथ रंगशालामा भएको यो खेलमा पहिलो हाफमै ललितपुरले २–० को अग्रता लिएको थियो। ललितपुरका लागि इमोह इजिकिएल र पापा केबेले समान एक–एक गोल गरेका थिए । दोस्रो हाफमा इमोहले अर्को गोल गरेपछि ललितपुरको जित पक्का भएको थियो।

खेलको ३६औं मिनेटमा रिबाउन्ड बललाई इमोहले गोल गरेका थिए। सनीश श्रेष्ठको क्रस अन्जन राईले क्लियर गरेपछि राजीव लोप्चनको खुट्टामा लागेर पापा केबेतिर बल गएको थियो।

केबेले प्रहार गरेको बललाई काठमाडौंका गोलरक्षक एन्जल श्रेष्ठले बचाए। तर, बल रिबाउन्ड भयो तर, गोललाइन नजिक बसिरहेका इमोहले बललाई गोलपोस्टतिर प्रहार गरेका थिए।

३९औं मिनेटमा काठमाडौँलाई खेलमा बराबरी गर्ने राम्रो फ्रिकिक अवसर आएको थियो तर शोखरुखले सो फ्रिकिक सिधै ललितपुर गोलरक्षक जेफ्री बाल्टुसको हातमा प्रहार गरे । ४४औं मिनेटमा ललितपुरले दोस्रो गोल गरेको थियो।

निखिलको कर्नरमा अनन्त तामाङको हेडर कुलदीप कार्कीले क्लियर गरेका थिए । तर बल क्रसबारमा लागेको थियो यसैमा पापाले सहजै गोल गर्न सफल भए।

दोस्रो हाफमा पनि ललितपुरले गोल गर्न सफल भयो। इमोहले ५३औं मिनेटमा फ्रिकिकमा उत्कृष्ट हेड गोल गरेका थिए। यो गोलले काठमाडौंका लागि खेलमा फर्कने सम्भावनालाई न्यून बनाइदिएको थियो । यस खेलमा काठमाडौंले खासै राम्रो प्रदर्शन पनि गर्न सकेन।

पोखरासँग खेल्दै

ललितपुरले बिहीबार फाइनल पुग्न पोखरा थन्डर्स एफसीविरुद्ध खेल्नेछ। यो खेलमा विजयी हुने टोलीले फाइनलमा धनगढी एफसीसँग खेल्नेछ।

धनगढीले सोमबार पहिलो क्वालिफायर खेलमा पोखरालाई पेनाल्टी शूटआउटमा हराएर फाइनलको यात्रा तय गरेको थियो। जुन खेललाई जारी एनएसएलकै उत्कृष्ट खेलमा गणना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्