देवचुलीमा पर्यटकको घुइँचो

14
Shares

नवलपरासी

साहसी पर्यटकका लागि पर्यटकीय गन्तव्य देवचुलीमा  आन्तरिक  पर्टयटकाे घुइँचो लाग्न थालेको छ । महाभारत पर्वत श्रृङखलाकै सबै भन्दा उच्च देवचुली डाँडा चढ्न साेमबार बिहान ४ बजे देखिनै पर्यटकहरूले उकालाे लागेकाे बताए ।
विशेष गरी  बिदाका दिन र चाडबाडमा ऐतिहासिक धार्मिक एवं पर्यटकीय महत्त्वको  देवचुली डाँडा चढ्न र पहाडी दृश्य अवलोकन गर्न पर्यटकहरूकाे घुइँचो लाग्ने गरेको छ ।

पर्यटकहरू बढ्न थालेपछि यहाँका घ्यासी बिसौनी  तथा बराल बस्तीका हाेटल, रेष्टुरेन्टमा काेठा अभाव देखिकाे छ । समुद्री सतहबाट करिब १ हजार ९ सय ३८ मिटर उचाइमा रहेको देवचुली डाँडा चढ्न दिउँसो घाममा भन्दा बिहान सजिलो हुने यात्रुहरूको कथन छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्गबाट करिब २७ किलो मिटर सडक यात्रामा पुगिने बोझा पोखरी गाउँ पुगेपछि सुरु हुन्छ देवचुलीकाे चुचुरो टेक्ने साहसिक पदयात्रा ।
बोझा पाेखरीबाट फटाफट हिड्नेहरू १ घण्टामै बराल गाउँ पुगे पनि सुस्ताएर हिँड्नेलाई यहाँ आइपुग्न थप समय लाग्ने स्थानीयहरू बताउँछन् ।

बराल गाउँ स्थानीय मगर समुदायकाे ऐतिहासिक बस्ती तथा देवचुली डाडाकाे माथिल्लो फेदी हो  । यहीबाट सुरु हुन्छ देवचुलीकाे चुचुरोमा पुग्ने कठिन यात्राको शुभारम्भ ।स्थानीयका अनुसार बराल गाउँबाट देवचुलीकाे चुचुरो नजिकै देखिए पनि ठाडै उकालाेका कारण कतिपय यात्रुले आफ्नो यात्रा यही आएर  टुङ्गाउने गरेका छन्
देवचुली डाँडा पुग्ने उकालाेमा पर्यटकको सुविधा र सुरक्षाका लागि प्रदेश सरकारकाे बित्तीय सहयाेगमा ठाउँ ठाउँमा सिँडी तथा रेलिङ्ग हालिएकाे छ ।
यात्रुहरू त्यही सिडी हुँदै र बीचमाग रहेका विश्राम स्थलमा सुस्ताउँदै बाटाेमा पर्ने तिन कन्या माईको दर्शन र महाभारत कालिन पौराणिक गुफा अवलोकन गर्ने गर्दछन् ।

गुफादेखि माथि भने कुनै व्यवस्थित बाटो नभएकाले बाबियो घारी भित्रकाे प्राचीन गाेरेटाे पछ्याउदै र अप्ठ्यारोमा त्यही बाबियो समाउदै चुचुरोमा पुगेकाे चितवन रामपुरका एक यात्रुले बताए ।डाडाकाे चुचुरोमा भेटिनु भएका नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीका अनुसार देवचुली पहाड चढ्न तलबाट हेर्दा कहाली लाग्दो भए पनि टुप्पाेबाट देखिने  हिमाली दृश्यले सबै थकान छिन भरमा हराउने गर्दछ ।

देवचुली डाडाकाे माथिल्लो भागमा पाईने लालिगुँरास बनको सुन्दरता, चुचुराेबाट चारै तर्फ देखिने वनजंगल, नदी,पहाड हिमालका श्रृंखला तथा तराईका समथर फाटहरू मनमोहक देखिन्छन्  । राम्रा हाेटल लज तथा पर्याप्त पूर्वाधार बिना पनि देवचुली डाडाले पर्यटकको मन खिचि रहदा स्थानीय देवचुली नगर भने यसकाे विकासमा बामे सर्दैछ ।
नगरपालिका प्रमुख हरि प्रसाद न्याैपाने भन्नू हुन्छ देवचुली पर्यटकीय क्षेत्रकाे बिकासका निमित्त यसकाे फेदी किर्तीपुर गाउँ जाेड्ने गरी पदमार्ग निर्माण भई रहेको छ । मेयर न्याैपानेका अनुसार पर्यटन विकास वाेर्डले दिएकाे २० लाख र देवचुली नगरपालिकाले विनियोजन गरेको २२ लाख रुपैयाँमा पदमार्ग बनाउने काम थालिएको हो ।

देवचुलीकाे विकासमा प्रहरीको हातेमालो

नवलपुर क्षेत्रकाे पर्यटकीय गन्तव्य देवचुली डाडाकाे विकासमा स्थानीय प्रहरीले हातेमालो गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरहरी रेग्मीले डाडाकाे चुचुरा स्थित पर्वी भाग  ज्यादै  साघुराे तथा भिरालाे रहेकाले यात्रुहरूकाे सुरक्षाका लागि मेष जाली लगाइएको बताए । उपरीक्षक रेग्मीका अनुसार आफू पहिलो पटक देवचुली डाँडा पुग्दा दाहिने भाग असुरक्षित देखेपछि पर्यटक सुरक्षाका लागि जिल्ला  प्रहरी परिवार छेकबार लगाउने कार्यमा खटिएको हो ।
जस्का लागि प्रहरी उपरीक्षक, अधिकृत तथा जवानहरूकाे टाेली पाेल गाड्ने,जाली कस्ने कामका लागि बराल गाउँमा अस्थायी क्याम्प राखेर खटिएका छन् ।

आगन्तुक पुस्तिकाको शुभारम्भ

देवचुली डाडामा चढ्ने पर्यटकहरूकाे संख्या बढ्दै जान थालेपछि यहाँ आगन्तुक पुस्तिकाको शुभारम्भ गरिएकाे छ । देवचुली डाँडा स्थित स्थानीय वडा नम्वर ६ का वडाध्यक्ष मीन बहादुर साेती मगरकाे अध्यक्षता एवं पूर्व मन्त्री तथा गण्डकी प्रदेश सांसद माननीय रोशन बहादुर गाहाकाे प्रमुख आतिथ्यतामा पर्यटक अभिलेख पुस्तिकाको शुभारम्भ गरिएकाे हो ।

साे अवसरमा  आगन्तुक पुस्तिका हस्तान्तरण गर्दै सांसद गाहाले पर्यटकहरूकाे आगमन अभिलेख पुस्तिकामा लिपिबद्ध हुदा यसकाे वास्तविक तथ्यांक  यकिन गर्न सहज हुने बताए । साथै गाहाले पर्यटकीय दृष्टिले महत्वपूर्ण देवचुली डाडाकाे समग्र विकासमा गुरूयाेजना बन्नु अत्यावश्यक रहेको बताउदै  माथिल्लो आधार शिविर सम्म  सडक,बिद्युत तथा पिउने पानी व्यवस्थाका लागि आफू लागि रहेको बिचार व्यक्त गरे।

अभिलेख शुभारम्भ कार्यक्रममा जिल्ला हाेटल व्यवसायिक संघका पदाधिकारी,जनप्रतिनिधि,  पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयहरूकाे उपस्थिति रहेको थियाे ।

देवचुली डाँडा प्रकृतिको उपहार

पर्यटकीय गन्तव्य देवचुली डाँडा पुगेका नवलपुर जिल्ला हाेटल व्यवसायी संघका अध्यक्ष सन्ताेष राना देवचुली डाँडा प्रकृतिको उपहार भएकाे बत्ताउँछन् ।
देवचुली लगायत जिल्लाका अथाह पर्यटकीय क्षेत्रकाे विकास गर्न सके जिल्लाबासी काेही पनि रोजगारीका लागि बिदेसिन  नपर्ने रानाकाे भनाई छ ।