चार वेदका अनुवादक लुइँटेलको निधन

0
Shares

काठमाडौँ।

संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ ।मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको मंगलबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो।

लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवतमहापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरेका छन् । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उनले हिन्दीबाट नेपालीमा अनुवाद गरेका जनाइएको छ । लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाएका छन् ।

परिश्रमी र स्वाभिमानी स्वभावका उनी अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्थे । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।