रोज राणाको यात्रा : कलाकर्मी देखि यातायातमन्त्री सम्म 

94
Shares

काठमाडौं ।

कलाकर्मीबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रभावशाली नेताको छवि बनाउन सफल प्रदेश सभाका सांसद सरोज थापा (रोज राणा) प्रदेशको उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका छन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री बनाएका थापाले प्रदेश प्रमुख अमिक शेरचनबाट आइतबार मन्त्रीको शपथ लिएका हुन्। फिल्म नायक र निर्माता हुँदै लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका थापा रोज राणाका नामले ख्याति कमाएका युवा हुन्।

उनी २०७९ मङ्सिर ४ मा भएको निर्वाचनमा प्युठान प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेपाली चलचित्रमा रोज राणाको नामले परिचित थापा आफ्नो निक नेम रोज राणा भएको बताउँछन्।

उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ’ जस्ता आधा दर्जा भन्दा बढी चलचित्र निर्माण गरेका छन्।

उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन गरेका छन् भने ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रमा नायकको भूमिका खेलेका छन्।

नेपाल चलचित्र निर्माता सङ्घमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष समेत बनेका राणा पछिल्लो समय राजनीतिमा पनि चर्चामा आउन सफल भएका छन्।

कलाकर्मीबाट नेपालको मन्त्री बन्ने राणा पहिलो व्यक्ति भएको बताइएको छ। उनी प्युठानको प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर निर्वाचित भएका थिए।

पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीका विश्वासप्राप्त हरि रिजाललाई १ हजार ७ सय १२ मतान्तरले पराजित गरेसँगै उनको राजनीतिक चर्चा थप चुलिएको हो।

प्युठान जिल्लाकाको दुई पटक प्रदेश क्षेत्रीय सभापति भएपछि उनले जिल्लामा छुट्टै राजनीतिक प्रभाव र पहिचान बनाएका थिए।

वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता बनेका सरोज थापा नेपाल विद्यार्थी सङ्घको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत हुन्।

प्युठान जिल्लामा ३१ वर्षपछि कांग्रेसकोतर्फबाट विजयी भएर राणाले पार्टीको साख फर्काउन सफल भएको प्युठानका कांग्रेसजनले बताएका छन्।

लुम्बिनी प्रदेशमा कांग्रेसभित्रै कसलाई मन्त्री बनाउने भन्ने विषय ९ महिनादेखि छलफल चले पनि अन्तमा राणाले बाजी मारेका हुन्।

मन्त्री बन्ने लाइनका एक दर्जन सांसदको नाम आउँदा पनि रोज राणाको नाम कतै गुन्जाइस थिएन, तर, शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनको नाम एकाएक प्रस्ताव गरेपछि सबैलाई ‘सरप्राइज’ भएको उनी निकट रहेका नेपाल प्रेस युनियनका केन्द्रीय लेखा समिति सदस्य गिरीराज पोखरेलले बताए।

४१ वर्षीय रोज राणा जिल्लाका युवाहरूमाझ लोकप्रिय भएकै कारण यो सफलता मिलेको पोखरेलको भनाई छ। आइतबार उनीसँगै नेकपा माओवादी केन्द्रबाट बाँकेकी प्रदेश सांसद कृष्ण के.सी. सहरी विकास मन्त्री बनेकी छन्।